संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ करोड १९ लाख रुपैयाँले घाटामा

संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ करोड १९ लाख रुपैयाँले घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९÷८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ ।

चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ करोड १९ लाख रुपैयाँले घाटामा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजस्व असुलीमा सुधार नभएकाले वैशाख महिना लागेपछि यस्तो घाटा झन् बढेको अनुमान छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश सरकारहरु र स्थानीय तहको सञ्चित कोष बचतमा हुँदा समग्र सरकारी वित्त बचतमा देखिए पनि संघीय सरकारलाई भने नियमित खर्च व्यवस्थापन गर्नै चुनौती बनेको देखिन्छ ।

गत आर्थिक वर्षको यस्तै अवधिमा १ खर्ब २१ अर्ब ६६ करोडले बचतमा रहेको संघीय सकारको सञ्चित कोष चालु आर्थिक वर्षमा झण्डै एक अर्बले घाटामा पुग्न लागेको देखिएको छ ।

चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत मसान्तसम्म राजस्व तथा अनुदानबाट ७ खर्ब १९ अर्ब ६७ करोड राजस्व संकलन गरेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै आन्तरिक ऋण १ खर्ब १२ अर्ब २० करोड र बाह्य ऋण ५४ अर्ब ३ करोड परिचालन भएको केन्द्रिय बैंकको तथ्यांकमा उल्लेख छ ।

संघीय सरकारको सञ्चित कोष घाटामा भएपनि प्रदेश सरकार र स्थानीय तहको सञ्चित कोषमा भने रकम थुप्रिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश सरकारहरुको सञ्चित कोषमा ९२ अर्ब १३ करोड मौज्दात रहँदा स्थानीय तहको सञ्चित कोषमा १ खर्ब ९० अर्ब रुपैयाँ मौज्दात रहेको केन्द्रिक बैंकको तथ्यांकले देखाउँछ ।

स्थानीय र प्रदेश सकारले खर्च गर्न नसकेर सञ्चित कोष बढ्दै जाँदा संघिय सरकार भने चालु खर्च धान्ने समेत धौ–धौ पर्ने अवस्थामा छ । सरकारको सञ्चित कोषमा दवाब बढ्दै गएपछि केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्ले प्रदेश र स्थानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताको ५० प्रतिशत रकम मात्रै पठाउने निर्णय गरेको थियो ।

‘२०७९ चैत्र मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ९१ अर्ब ३७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो’ नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा भनिएको छ ।