काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा नेपाली समाजलाई डो¥याउने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारमा क्रियाशील दुई कम्युनिस्ट क्रान्तिकारी पार्टीहरुले पार्टी एकता गरेका छन् । वैशाख १६ गते पार्टी एकता महाधिवेशन गरेका यी दुवै पार्टीले १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर पार्टी एकता घोषणा सभा सम्पन्न गरिसकेका छन् । दुवै पार्टीले एकता गरेर पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राखेका छन् । नवगठित पार्टीको अध्यक्षमा नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गर्दै आउनु भएका अन्तरसंघर्ष र वर्गसंघर्षका विशद अनुभवले समृद्ध कम्युनिस्ट आन्दोलनका एकजना निष्ठावान, आदर्शवान शीखर व्यक्तित्व मोहन वैद्य किरणलाई चयन गरिएको छ । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष किरणले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एकपटक फेरि पनि क्रान्तिको भारी बोक्न तयार भएको र बलिदानीपूर्ण संघर्षको प्रक्रियाका बीचबाट क्रान्तिको कार्यभार पूरा गरेरै छाड्ने उद्घोष गर्नुभयो । र, छरिएर रहेका सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन् पनि आव्हान गुर्नभयो । उहाँले भन्नुभयो, “नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यभार पूरा गर्न र वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न नै यो एकता गरिएको हो, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनाइएको हो ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले पनि अब नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था स्थापना भएरै छाड्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने सबै नेताहरुले नयाँ जनवादी क्रान्तिको अपरिहार्यतामाथि जोड दिनुभएको थियो ।
सोही पार्टी एकता घोषणा सभामा प्रस्तुत गरिएको प्रेस वक्तव्यमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले विभिन्न संसदीय संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका स–साना समूहहरु र व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा ध्रुवीकृत र एकीकृत हुन आह्वान गर्नुभएको छ ।
पार्टी एकताको सैद्धान्तिक आधार
अध्यक्ष किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभइकन कुनै आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । नेपाली साम्यवादी आन्दोलनमा एकता–संघर्ष–रुपान्तरण कम भएको छ भने एकता–संघर्ष–फुटबाट यो बढी आक्रान्त भएको छ । हामी यो महान चाडको अवसरमा एकता–संघर्ष–रुपान्तरणको प्रक्रियालाई हावी बनाएर लैजाने प्रतिवद्धता जाहेर गर्दछौँ ।”
पार्टी एकताको सन्दर्भमा सर्वहारा वर्गका महान नेता लेनिनको भनाइ उद्घृत गर्दै वक्तव्यमा भनिएको छ, “हाम्रो यो एकता मालेमावादी सिद्धान्तमा आधारित रहेको छ । पार्टी एकता र पार्टी निर्माणका सन्दर्भमा हामीलाई लेनिनले निर्देशन गर्नुभएको छः “‘यदि तपाईहरु एकता गर्न चाहनुहुन्छ भने आन्दोलनका व्यावहारिक उद्देश्यहरु पूरा गर्न सहमति गर्नुहोस्, तर सिद्धान्तको प्रश्नमाथि कहिल्यै पनि कुनै मोलतोल हुन नदिनुहोस्, सिद्धान्तको प्रश्नमाथि कुनै ‘छुट’ नदिनुहोस् । माक्र्सको विचार यही थियो ।”
वक्तव्यमा पार्टीको सैद्धान्तिक आधारबारे प्रष्ट पार्दै अगाडि भनिएको छ, “हामीले लेनिनको यो संश्लेषणप्रति निष्ठावान रहँदै क्रान्ति पूरा गर्ने उद्देश्यमा पूर्ण रुपले सहमति गरेका छौं भने मार्गनिर्देशक सिद्धान्त मालेमावाद, क्रान्तिकारी कार्यदिशा — आम कार्यक्रम नयाँ जनवाद तथा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, विद्यमान बहुलवादी संसदीय व्यवस्थाको अन्त र संघीय जनगणतन्त्र नेपालको स्थापना, सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता सिद्धान्तहरुप्रति कुनै मोलतोल हुन नदिन र ‘छुट’ नदिन प्रतिबद्ध रहेका छौं । यी आधारभूत प्रश्नहरुमा रहेको एकताले नै यो पार्टी एकता सम्पन्न भएको घोषणा गर्दछौँ ।”
सिद्धान्तको आवश्यकता, महत्व र विकासको सन्दर्भमा वक्तव्यमा भनिएको छ, “हामीले मालेमावादको मौलिकतालाई दृढतापूर्वक रक्षा गर्दै देश, काल र परिस्थिति अनुरुप यसको विकास गर्नैपर्दछ । यस सन्दर्भमा लेनिनको यो संश्लेषणलाई पनि हामीले आत्मसात गर्नैपर्दछ ः “साच्चै भन्ने हो भने माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, न त परिपूर्ण, बनिबनाऊ र अनुलंघनीय सिद्धान्त नै, बरु यो एउटा कार्यमा जीवन्त पथप्रदर्शक हो जुन आश्चार्यजनक रुपमा सामाजिक जीवनका अवस्थाहरुमा आकस्मिक परिवर्तनको प्रतिबिम्बनसँग जोडिएको हुन्छ ।”
अन्तरविरोधको पहिचान र प्रधान अन्तरविरोधको किटान
वक्तव्यमा अन्तरविरोधहरुको पहिचान र प्रधान अन्तरविरोधको किटानको विषयमा भनिएको छ, “नेपालको परिस्थिति अनुरुप मालेमावादलाई लागू गर्न र यो विशिष्ट परिस्थितिबाट यसको विकास गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल यसको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ । अर्थ–सामाजिक हिसाबले अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती र मुख्यतः नव–औपनिवेशिक, वर्गविश्लेषणका हिसाबले बचेखुचेको सामान्तवाद, नोकरशाही पूजीवाद, दलाल पूँजीवाद मुख्यतः दलाल पूँजीवाद दुश्मन शक्ति र मजदूर, किसान, सिपाही, सुकुम्वासी, राष्ट्रिय पुँजीपति लगायतको मित्रशक्ति रहेको अवस्थामा दलाल तथा नोकशाही पुुँजीवादी राज्यसत्ता र समग्र नेपाली उत्पीडित जनताका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहेको छ । यसको समाधान नयाँ जनवादी क्रान्ति गर्दै पुगिने वैज्ञानिक समाजवादी व्यवस्था हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ ।”
वक्तव्यमा देश काल र परिस्थिति अनुसार मालेमावादको विकास गर्नुपर्ने विषयलाई स्पष्ट पार्दै भनिएको छ, “हामीले आजको परिस्थितिका अन्तर्विरोधहरुको समाधान गर्ने माक्र्सवादको पनि विकास गर्नैपर्दछ । आज विज्ञान र प्रविधिको विकासले गर्दा सामाजिक जीवनका अवस्थाहरुमा आकस्मिक परिवर्तनहरु आएका छन् । त्यसलाई प्रतिबिम्बित गरेर मात्र मालेमावादको विकास हुन सक्दछ । यस सन्दर्भमा सृजनशील माक्र्सवादका पक्षपोषक र मौलिक माक्र्सवादका रक्षक माओले संश्लेषण गर्नुभएको छ ः “हामीले कुनै नयाँ कुराको वकालत गर्न र कुनै भिन्न चीजलाई स्थापित गर्न साहस गर्नैपर्दछ । कुनै नयाँ कुराको वकालत गर्ने र कुनै भिन्न चीजलाई स्थापित गर्ने प्रश्न पनि दुई प्रकारको हुन्छ ः लाल झण्डा फहराउनु राम्रो कुरा हो भने श्वेत झण्डा फहराउनु नराम्रो कुरा हो ।”
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या र जनसंघर्षको प्रतिबद्धता
पार्टी एकता घोषणा वक्तव्यमा अध्यक्ष किरणले उल्लेख गुर्नभएको छ, “देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । एमसिसी र एसपिपि जस्ता सम्झौताहरुमा पुगेर राष्ट्रियताको समस्या भयानक बनेको छ । झुठा मुद्दामा राजनैतिक नेता तथा कार्यकर्ताहरुलाई फसाएर तथा बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पु¥याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र कथित सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेको छ । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको अन्तिम समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।”
क्रान्तिकारी पार्टी पंक्ति र जनपंक्तिमा उत्साह
दुई क्रान्तिकारी पार्टी बीच भएको पार्टी एकताले आम पार्टीपंक्ति र जनपंक्तिमा उत्साह पैदा गरेको छ । नेपाली राजनीतिमा क्रान्तिकारी तथा आमूल परिवर्तनकारी शक्ति कमजोर हुँदा जनसर्वसाधारणले समेत धेरै ठूलो सास्ती, हैरानी र कष्टकर जीवन बाँच्नु परिरहेको महसुस गरेका छन् । क्रान्तिकरी शक्ति बलियो हुँदा जनसर्वसाधारणले पनि आफूलाई शक्तिशाली भएको महसुस गर्ने गर्दछन् । तत्कालीन जनयुद्धताका जनताले आफूलाई शक्तिशाली र सुरक्षित महसुस गर्ने गर्दथे । समाजमा जनतालाई दुःख दिने सामन्त, जमिन्दार, सुदघोर, जाली फटाहाहरु गाउँ गाउँबाट लखेटिएका थिए । तत्कालीन राज्य र माओवादीका बीचमा दोहोरो भिडन्तबाहेक आम जनतामा हत्या, हिंसा, बलात्कार, उचनिच, भेदभाव, शोषण, उत्पीडन, चोरी, डकैतीका घटनाहरु निकै कम हुने गर्दथे । माओवादी शान्तिप्रक्रियामा आएपछि हिजोका सामन्त, जमिन्दारहरु, जाली, फटाहा, सुदखोर र मिटरब्याजीहरु गाउँ गाउँ प्रवेश गरे र आम जनसर्वसाधारणलाई लुट्न, ठग्न, दुःख दिन, हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराध गर्न थालेका छन् । हिजोका शोषकहरु आज लघुवित्त, सहकारी, बैक तथा वित्तीय संस्थाको मालिक बनेर गाउँ पसेका छन् । गाउँबाट जनताले लखेटेका तिनै जाली फटाहाहरु विभिन्न पार्टीको नेता बनेर जनतालाई दुःख दिइरहेका छन् । राज्यको स्रोतसाधनमाथि पनि ब्रम्हलुट मच्चाइरहेका छन् । क्रान्तिकारी शक्ति गाउँ गाउँमा कमजोर हुँदा तिनै जाली, फटाहा, विचौलियाहरुको अत्याचारले सिमा नाघेको छ । यस्तो अवस्थामा क्रान्तिको उद्देश्यलाई केन्द्रमा राखेर क्रान्तिकारीहरु एकताबद्ध हुँदा आम श्रमजीवि शोषित, उत्पीडित वर्ग र समुदायमा एक खालको उत्साह पैदा भएको छ र क्रान्तिको लागि समर्पित आम क्रान्तिकारी पार्टी पंक्तिमा पनि उत्साह पैदा भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आगामी दिनमा नाम जस्तै काम गरेर जनताको बीचमा जाने, जनतालाई संगठित गरेर जनताको भरपर्दो र विश्वासिलो वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुने चुनौतीको सामना सान्दार रुपमा गर्न जरुरी छ ।
































