‘विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य’ भएको डब्लुएचओको घोषणा

‘विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य’ भएको डब्लुएचओको घोषणा

२३ बैशाख काठमाडौं
डब्लुएचओले सचेत गराउँदै भनेको छ– संकटकालीन चरण सकिएको हो, कोभिड आफैँ सकिएको भने होइन ।
विश्वभर : ७६ करोड ५२ लाख संक्रमित, ६९ लाख २१ हजार ६१४ को मृत्यु
नेपालमा : १० लाख ३ हजार ४ संक्रमित, १२ हजार ३० को मृत्यु
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड– १९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको छ । बिहीबार बसेको डब्लुएचओको आपत्कालीन समितिको बैठकले तीन वर्षअघि कोभिड– १९ लाई गरिएको ‘अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य संकटकाल (पिएचइआइसी)’ को वर्गीकरण अन्त्य गर्ने निर्णय गरेको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा निर्णयको जानकारी गराए । ‘ठूलो आशाका साथ म कोभिड– १९ विश्वव्यापी स्वास्थ्य आपत्काल नरहेको घोषणा गर्दछु,’ घेब्रेयेससले भने । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोभिड– १९ का लागि जारी संकटकाल अन्त्यको घोषणालाई महामारीकै समाप्तिका रूपमा नलिन चेतावनी दिएको छ ।
डब्लुएचओले पहिलोपटक ३० जनवरी २०२० मा कोभिड– १९ लाई ‘कोभिड संकटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा बैठक बसेर सावधानीको चेतावनी जारी गर्दै आएको छ ।
संगठन कुनै पनि मुलुकले यसलाई कोभिडविरुद्ध सतर्कता हटाउने कारण बनाउन नहुने सुझाव दिएको छ । ‘संकटकालीन चरण सकिएको हो, कोभिड आफैँ सकिएको होइन,’ विश्व स्वास्थ्य संगठनकी कोभिड विषयक प्राविधिक प्रमुख डा. मारिया भान केरखोभले भनिन् । विज्ञहरूले व्यावहारिक रूपमा विश्व स्वास्थ्य संगठनको यस घोषणाले त्यति ठूलो परिवर्तन ननिम्त्याउने बताएका छन् । अधिकांश मुलुकले तिनको सीमाभित्र कोभिड– १९ विरुद्ध लागू संकटकाल अन्त्य गरेर भाइरस नियन्त्रणका लागि पहिले लागू भएका प्राय: सबैजसो नियन्त्रण हटाइसकेका छन ।

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिरहेको समय २०२० मार्चमा डब्लुएचओले कोभिड– १९ लाई महामारीको रूपमा घोषणा गरेको थियो । डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोभिड– १९ का ७६ करोड ५२ लाखभन्दा बढी संक्रमितको पहिचान भयो भने ६९ लाख २१ हजार ६ सय १४ सोही रोगका कारण बिते । सोही तथ्यांकअनुसार नेपालमा हालसम्म कोभिड– १९ का १० लाख तीन हजार चार संक्रिमित भेटिए भने १२ हजार ३० को मृत्यु भएको पुष्टि भएको छ ।