मजदुर आन्दोलन ः विगत, वर्तमान र भविष्य विषयक अन्तरक्रिया सम्पन्न

मजदुर आन्दोलन ः विगत, वर्तमान र भविष्य विषयक अन्तरक्रिया सम्पन्न

१३ बैशाख काठमान्डौ ।
संयुक्त ट्रेड युनियन संघर्ष समितिले १३४ औं मजदुर आन्दोलन दिवसको सन्दर्भमा इच्छुक प्रतिष्ठान काठमाडौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा, प्रा.डा. श्रीधर गौतम, क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिना, अखिल नेपाल प्रगतिशील स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्बाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद थापा, वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डिबि सर्वश्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका कोषाध्यक्ष पुरुषोत्तम कार्कीले अन्तरक्रियाको विषय माथि चर्चा गर्नुभएको थियो । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका उपाध्यक्ष इश्वर तिमिल्सिनाले अन्तरक्रियाको विषय उन्मुख अवधारणा प्रस्तुत गर्नुभएको थियो ।


अन्तरक्रियाको विषयमाथि चर्चा गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्माले अन्तर्राष्ट्रिय र नेपालको मजदुर आन्दोलनको इतिहासमाथि संक्षिप्त चर्चा गर्दै नेपाली मजदुर आन्दोलनको आगामी बाटो नेपाली समाजको विद्यमान आर्थिक सामाजिक आधार र संरचनाको ठोस संश्लेषणले मात्रै तय गर्न सकिने बताउनुभयो ।

“ यहाँको उत्पादन सम्बन्ध हेरौं, राष्ट्रिय उत्पादन, उद्योग, कलकारखाना सबै टाट पल्टि सक्यो र त्यो स्थान नोकरशाही तथा दलाल पुँजीले लिएको छ । सुद्खोरहरुले गाउँ गाउँमा मिटरब्याजको आतंक फैलाएका छन ।

किसानको जमिन दृष्टि बन्धक वा छिनुवा पास गरिएको छ । विप्रेषणले मुलुक चलिरहेको छ । मुलुकले वार्षिक अरबौंको व्यापार घाटा व्यहोर्दै आएको छ । आयातमुखी बजार छ । यसप्रकारको समाजमा क्रान्ति कसरी अगाडि बढ्छ । यसलाई कुनै रहस्यको वा जटिल विषय बनाउनु हुँदैन । तथ्यहरुबाट सत्य खोजौं ।“ उहाँले बताउनुभयो कि “आजको नेपाली समाज दलाल तथा नोकरशाही पुँजीपति र सामन्तहरुको नियन्त्रणमा छ । यसप्रकारको देशमा सम्पन्न गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति हुन्छ । हामी यसबारेमा पर्याप्त छलफल बहस होस भन्ने चाहन्छौं ।“ उहाँले स्पष्ट गर्नुभयो ।


प्रा. डा. श्रीधर गौतमले बोल्सेभिक क्रान्तिको स्मरण गर्दै मजदुर आन्दोलनको नेतृत्व क्रान्तिकारी विचार सहितको संगठनले मात्रै गर्न सकिने भएकोले मजदुरहरु कम्युनिस्ट पार्टीमा आबद्ध हुनुपर्नेमा जोड गर्नुभयो ।

अन्तरक्रियामा बोल्ने मजदुर आन्दोलनका नेताहरुले एकताबद्ध आन्दोलनमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटीले गर्नुभएको थियो ।