काठमाडौं । गीतमा गरिएको महिलामाथिको अपमानजनक चित्रणलाई लिएर अहिले यस गीतको तीव्र विरोध भइरहेको छ । खासगरी कम्युनिस्ट क्रान्तिकारी धारका नेता कार्यकर्ताहरुले यस गीतको तीव्र विरोध गरिरहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) की पोलिटब्यूरो सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरीले सामाजिक सञ्जालमा यो गीतका विरुद्ध आक्रोश पोख्दै लेख्नुभएको छ, “आज पनि महिला असक्षम, पराश्रित, निरिह र पैसा धनसम्पत्ति कमाउन शरीर नै बेच्छन् भनेर गीत गाउने आँट र दरिद्र सोच देखेर यिनको मुखमा थुक्न मन लाग्छ ।”
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “महिला मनोरञ्जनको साधन होइन, संसार सिर्जना गर्ने आमा हो गिद्दहरु ! त्यसैले सम्पूर्ण महिलाहरुले हाम्रो प्रगतिमा प्रश्न गर्ने गलत भाष्यका विरुद्ध लड्न जरुरी छ । यो अपमानजनक गीत तत्काल बन्द गर ।”


त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष समेत रहनु भएका कथाकार तथा साहित्यकार हिरामणि दु:खीले पनि प्रकाश सपुतको गीत आम महिलाहरुमाथिको घोर अपमान भएको टिप्पणी गर्दै समाजिक सञ्जालमा लेख्नुभएको छ, “प्रकाश सपुतको फुलमाया सकम्बरी गीत सम्पुर्ण महिलामाथिको अपमान हो, यो पुँजीवादी व्यवस्थामा नाफा कमाउन गाइएको गीत भएकोले खेदजनक छ । के महिलाहरु सबैले शरीर बेचेरै धन कमाउँछन् ? एकाध पात्र त्यसता चरित्रहीन छन् भन्दैमा सम्पुर्ण स्वाभिमानी महिलाहरुलाई अपमान गर्न सुहाउँछ ? प्रकाश सपुतले यो गीतमार्फत् आफ्नी आमा, दिदीबहिनी र श्रीमतीलाई कसरी गहना र कपडा लगायौ भनेर सोध्न सक्छ ? यो गीतको भिजियोलमा अभिनय गरेजस्तै आफ्नी आमा, दिदीबहिनी र श्रीमतीलाई गर्न लगाउन सक्छ ? किन बोल्दैनन् डलरवादी अधिकारकर्मी र नारिवादीहरु ?”
महिलाको गलत चित्रण र स्त्रीद्वेषी शब्दचयनले फेरि प्रकाशको नयाँ गीत विवादित बनेको छ । गीतको भिडियोमा आफ्नो सपना पूरा गर्न महिलालाई पुरुषकै सहारा, आड लिनुपर्ने सुरुवातदेखि नै स्थापित गर्न खोजिएको छ । गीतमार्फत रातमा काम गर्ने, मोडलहरु अनि महँगा गहना लगाउनेहरुलाई चरित्रहीन महिलाका रुपमा फूलमाया चरित्रमार्फत् प्रस्तुत गरिएको छ । के रातमा काम गर्ने सबै महिला चरित्रहीन नै हुन्छन्, अथवा मोडल बन्न कुनै महिलाले आफ्नो शरीर नै बेच्नुपर्छ ? के महिलाले आफैं स्कूटर र टिभी किन्न सक्दिनन् ? सपुतको गीत र उनको सोचप्रति थुप्रै प्रश्न उब्जिएको छ।
रंगकर्मी विमल सुवेदी भन्छन्, ‘महिला पात्रलाई वेश्यावृत्ति र राजनीतिमा जोडेर विषयलाई विवादस्पद नै बनाउन खोजिएको देखिन्छ । कला भनेको समाजलाई सिकाउने शिक्षण सामग्री पनि हो । किताबजस्तो हो । मानिस त्यो पढेर हुर्कन्छ । समाजमा चलेको व्यक्ति किन यस्तो कुरामा संवेदनशील हुनुपर्छ भने उनीहरुले भनेका कुरा अरुले सिक्छन् नि त । समाजलाई यस्तो कन्टेन्टले मिस्लिड पनि गर्छ ।’






























