काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडितहरुले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रचण्ड–देउवा सरकारको प्रहरी प्रशासनले निर्मम दमन गरेको छ । प्रहरीको निर्मम दमनमा परी केही मिटरब्याज पीडितहरु घाइते भएका छन् भने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरी एक्कासी लाठी र पानीको फोहरासहित दमनमा उत्रिएको थियो । प्रहरीले मिटरब्याज पीडितलाई लखेटी लखेटी पानीको फोहोरा र लाठी हानेको छ ।
प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर दर्जन बढी मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको हो ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम समेत रहेका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले दिएको जानकारी अनुसार प्रहरी दमनमा परी अध्यक्ष तामाङ र नेकपाका अध्यक्ष तथा किसान नेता लोकनारायण सुवेदी लगायतका नेताहरु समेत घाइते भएका हुनुभएको छ । उहाँहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
अनेकिमहासंघ (क्रान्तिकारी) लगायत केही किसान संगठनका नेताहरु मिटरव्याज पीडितहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्न प्रदर्शन स्थलमा पुग्नुभएको थियो ।