३० चैत्र मिकुवाखोला – २, खोक्लिङ, ताप्लेजुङ ।
मस्तिष्कघातका कारण गत चैत्र ४ गते विराटनगरको नर्सिङ हस्पिटलमा निधन भएका क. तारा थापाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । उहाँकै जन्मभूमि खोक्लिङ, ताप्लेजुङमा स्थानीय थापा स्वयंसेवक समाजले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य दिनेश शर्मा सागरले क. तारा थापा आजको परिवर्तनको वाहक भएको स्पष्ट गर्नुभयो । “यहाँ शहिद परिवारहरु हुन्हुन्छ, दशवर्षे ऐतिहासिक जनयुद्धको प्रक्रियामा ति महान शहिदहरुले, क. तारा थापाहरुले परिवर्तनका निम्ति लड्ने संकल्प गरेकोले आज लोकतान्त्रिक गणतन्त्र आएको छ, जनताले बोल्न पाएका छन । उहाँ एक अथक क्रान्तिकारी योद्धा हुन्हुन्थ्यो ।“ “उहाँको मृत्युले कम्युनिस्ट आन्दोलन, पार्टी, पूर्व र सिङ्गै देशलाई विशेष क्षति पुगेको छ ।“ “किनकि क्रान्ति जारी छ, अझै संघर्ष आवश्यक छ, यो देशमा जनगणतन्त्र स्थापना नगरी क्रान्तिको त्यो कोर्स पुरा हुँदैन । हामी त्यसका निम्ति सँगै काम गरिरहेका थियौं । यस्तो बेलामा उहाँलाई गुमाउनु भनेको पार्टीको निम्ति, कम्युनिस्ट आन्दोलनका निम्ति, सम्पूर्ण शोषित उत्पीडित जनता र राष्ट्रको निम्ति गम्भीर क्षति हो ।“ त्यसैगरी शर्माले क. तारा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न परिवार र समाजलाई पार्टीको तर्फबाट समवेदना प्रकट गर्नुभयो ।

श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेम बुढा थापा, गाउँ पालिका उपाध्यक्ष डुण्डु लामा, मानबहादुर मादेन, कृष्णप्रसाद थापा लगायतले शोक व्यक्तव्य राख्नु भएको थियो ।
यसै श्रद्धाञ्जली सभाका बीच शहिद प्रेम थापा, डिकुरा थापा र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य तारा थापाको नाममा संयुक्त अक्षय कोषको स्थापना गरिएको छ ।
कृष्णप्रसाद थापाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाको सञ्चालन गणेश थापाले गर्नुभएको थियो ।






























