दुई माओवादी क्रान्तिकारी पार्टीहरु बीचको एकता ऐतिहासिक बनोस

दुई माओवादी क्रान्तिकारी पार्टीहरु बीचको एकता ऐतिहासिक बनोस

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा छ । संशोधनवादी र अवसरवादी कम्युनिस्टहरूको दबदबा रहेको नेपालमा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू नेपाली राजनीतिको मूलधार बन्न सकिरहेका छैनन् । अग्रगामी तथा क्रान्तिकारी विचार र राजनीति, एजेण्डाका हिसाबले सबैभन्दा अगाडि देखिए पनि भौतिक (राजनीतिक) शक्तिका हिसाबले अहिले पनि कमजोर अवस्थामा रहेका छन् । सत्ता, व्यवस्था र संविधानमाथि सशक्त र निर्णायक चुनौतीको रूपमा अगाडि आउन सकिरहेका छैनन् । जनताको विश्वास जित्ने र साथ समर्थन लिने, जनतालाई संगठित गर्ने र एउटा वृहत् आन्दोलन तथा जनविद्रोहको सृष्टि गर्ने हैसियत बनाउन सकिरहेका छैनन्, जुन यो राष्ट्रको स्वाधीनता बचाउन र नेपाली समाजको क्रान्तिकारी रूपान्तरण गर्न अपरिहार्य छ, अनिवार्य छ ।
नेपाली जनता अहिले पनि एमाले, माओवादी केन्द्र, एसमाजवादी पार्टी लगायतका संसदवादी पार्टीलाई ‘कम्युनिस्ट’ पार्टी भनेर पछि लागिरहेका छन् । र, उनीहरूले जनतामा फिजाएको भ्रम र क्षणिक प्रलोभनलाई सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूले चिर्न सकेका छैनन् । यसको मतलव हो– आफूलाई सच्चा कम्युनिस्ट क्रान्तिकारी भएको दाबी गर्ने पार्टी र नेता–कार्यकर्ताहरू जनतामा जान सकिरहेका छैनन् । उनीहरूको जनसम्बन्ध कमजोर बनिरहेको छ । संशोधनवादी र अवसरवादीहरूको, पुराना र नयाँ प्रतिक्रियावादीहरूको, सामन्त तथा नोकरशाही पुँजीपति दलालहरू र तिनीहरूको वर्गसत्ताले जनतामाथि थुपारेको अन्यायपूर्ण सत्ता, व्यवस्था र संविधानको मसिनोगरी जनताले बुझ्ने भाषाशैलीमा भण्डाफोर गर्न जरुरी छ । र, जनताका दैनदिनका समस्याहरूसँगै जोडिएर जनजागरण अभियानहरू सञ्चालन गर्ने, जनतालाई संगठित र आन्दोलित बनाउने ठोस योजना कार्यक्रमहरूको निर्माण गर्नु आवश्यक देखिन्छ । अहिलेको संसदीय सत्ता, व्यवस्था, सरकार र संविधान साम्राज्यवादी शक्ति (अमेरिका) र विस्तारवादी शक्ति (भारत)को दलालीमा मात्र टिकिरहेको छ । यसले न त देशको रक्षा गर्न सकेको छ न त जनताको हितमा कुनै काम । शक्तिकेन्द्रको आडमा देश र जनतामाथि ब्रम्हलुट मच्चाउने र त्यसैमा प्रतिस्पर्धा गर्ने काम मात्रै भइरहेको छ । जनता व्यवस्थाको विकल्प खोजिरहेका छन् । यो व्यवस्थाको विकल्प भनेको अग्रगामी विकल्प नै हो । त्यो भनेको नयाँ जनवादी राज्यव्यवस्थामा आधारित जनगणतन्त्र नै हो । अग्रगामी विकल्पसहित वैकल्पिक राजनीतिक शक्तिको रूपमा सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरू अगाडि आउन जरुरी छ ।
क्रान्तिको उद्देश्यलाई केन्द्रमा राखेर छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताबद्ध तुल्याउनु क्रान्तिकारी माओवादीहरुको यतिबेलाको प्रमुख दायित्व र कार्यभार हो । क्रान्तिकारी शक्ति र व्यक्तिहरूलाई एक ठाउँमा ल्याएर र भएको शक्तिलाई संघर्षको भट्टिमा होमेर मात्रै आमूल परिवर्तनकारी राजनीतिक शक्तिको निर्माण गर्न सकिन्छ । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू, संशोधनवादी तथा अवसरवादीहरूले चौतर्फी रूपमा घेराबन्दी गर्ने, निस्तेज पार्ने, निष्प्रभावी बनाउने, विघटन र बिसर्जन गराउने षड्यन्त्रहरू भइरहेका छन् । ती सबै षड्यन्त्रहरूलाई चिर्दै नेपालको क्रान्तिकारी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई प्रभावशाली रूपमा अगाडि बढाउने ऐतिहासिक जिम्मा क्रान्तिकारी माओवादीहरूकै काँधमा आएको छ ।
यही गम्भिर दायित्वबोधका साथ चैत्र २४ गते दुई माओवादी कम्युनिस्ट क्रान्तिकारी पाटीहरु नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकतावारे जानकारी दिन पत्रकार सम्मेलनगरी ऐतिहासिक निर्णय गरिएको घोषणा गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय भएको छ । दुवै पार्टीको एकता संयोजन समितिको बैठकले आउदो ऐतिहासिक मे दिवसका दिन वैशाख १८ गते सोमबार पार्टी एकताको घेषणा गर्ने निर्णय भएको हो । अन्य क्रान्तिकारी मालेमावादीहरूसँग पनि पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणका लागि छलफल र बहस भइरहेको जनाइएको छ ।
संयुक्त पत्रकार सम्मेलनमा दुवै पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्दै नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध जारी सङ्घर्षलाई जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने प्रतिवद्धता गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हुन लागेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेकपा(मशाल) सँगको पार्टी एकता संयोजन समिति र वार्ता जारी रहेको छ । निकट भविष्यमा नै त्यससँगको पनि एकता हनेछ भनिएको छ ।
कार्यक्रममा पत्रकारका लागि वितरण गर्न तयार पारिएको संयुक्त प्रेस—वक्तव्य वाचन गरेर सुनाइएको थियो । प्रेस—वक्तव्यमा पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आमकार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी)का महाचिव किरणले सम्वोधनका क्रममा भन्नु भयो—“ आज धेरै खुशीको दिन हो । हाम्रो पार्टी एकताको प्रयत्नमा सफल भएको छ । यद्धपि समग्र पार्टी एकतावद्ध गर्ने प्रश्न एउटा महान ऐतिहासिक अभियान हो । संयुक्त प्रेस—वक्तव्य अनुसार जाने र अगाडि बढनेमा हाम्रो पार्टीका तर्फबाट दृढ प्रतिवद्धता व्यक्त गर्दछु ।”
उहाँले जनयुद्धमा अभिव्यक्त त्याग, वीरता र बलिदानको मूल्य त्यसै खेर नजाने बताउनुहुँदै जनयुद्धले खाएको धक्का र नेतृत्वले गरेको गद्दारीबाट पाठ सिक्दै क्रान्तिको अर्को नयाँ तयारीमा जुट्नुपर्ने बेला भएको बताउनु भयो ।
नेपालका उत्पीडित जाति, जनजाति, दलित, महिला, मुश्लिमआदिको मुक्तिका लागि दुई माओवादी कम्युनिस्ट क्रान्तिकारी पार्टीहरु बीचको एकता ऐतिहासिक बनोस ।