काठमाडौं । बढ्दो महंगी, भ्रष्टाचार र मिटरब्याजी शोषणका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । ‘बढ्दो महंगी, भ्रष्टाचार, लघुवित्त तथा मिटरब्याजी शोषणको विरुद्ध विरोध र्याली तथा सभा’ लेखिएको ब्यानर र झण्डासहित प्रदर्शनमा उत्रिएका जबस मोर्चाका नेताहरुले थाल ठटाएर विरोध प्रदर्शन गर्देै वर्तमान सत्ता र व्यवस्थाका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
‘बढ्दो महंगी नियन्त्रण गर, मिटरब्याजीहरुलाई कारबाही गर, विना विकल्प सुकुम्बासी बस्ती उठाउन पाइँदैन, भूमि अभियन्ताहरुलाई रिहाइ गर’ जस्ता नाराहरु लगाएका थिए ।
विरोधसभालाई जवस मोर्चा संयोजन समिति प्रदेश ३ की संयोजक शिलु न्यौपाने, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की प्रदेश संयोजक अनु निरौला, अखिल (क्रान्तिकारी)का प्रदेश अध्यक्ष प्रभात भट्टराई, तामाङ मुक्ति मोर्चाको काठमाडौं अध्यक्ष रवि तामाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष कुमार घताने, नेवा राष्ट्रिय मुक्ति मोर्चाका नेता रत्न महर्जन, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका प्रदेश अध्यक्ष मिनकुमार राना मगरलगायतका नेताहरुले सम्बोधन गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा महत्वपूर्ण भनाइहरु राखेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय संयोजक तथा जबस मोर्चा संयोजक समितिका सेक्रेटरी ढोगप्रसाद अधिकारीले गर्नुभएको थियो ।