काठमाडौं/चैत, ७
वरिष्ठ प्रगतिवादी साहित्यकार भवानी पाण्डे ‘भाष्कर’का चारवटा पुस्तक ‘उर्मिल यात्रा’ उपन्यास, ‘जीवन धारा’ निबन्ध, र ‘अरुणिमा’ तथा ‘अन्तरकथा’ नामका दुई कथासङ्ग्रह एकसाथ सार्वजनिक भएका छन् । माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको सार्वजनिकीकरण समारोहमा आठजना समीक्षहरू (प्रा. डा. जगदीशचन्द्र भण्डारी, डा. अमर गिरी, प्रमोद प्रधान, प्रा. डा. रमेश भट्टराई, अनन्त वाग्ले, डा. विन्दु शर्मा, गौरी देवकोटा र ठाकुर बेलबासे)ले पुस्तकमाथि समीक्षा गर्नु भएको थियो । एउटा पुस्तकमाथि दुईजनाको समीक्षा रहेको यो कार्यक्रममा माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईँको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चैतन्यले भवानी पाण्डे भाष्करको विचारसम्बन्धी अभिमतमा रहेका केही सीमाहरूको उल्लेख गर्दै उहाँ मूलतः समाजवादी यथार्थवादी साहित्यकार नै रहेको बताउनु भयो ।
सबै समीक्षकहरूले आफ्ना समीक्षा प्रस्तुत गरिसक्नुभएपछि लेखक भाष्करले विचार, सोच र कल्पनाका सन्दर्भमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।
अखिल नेपाल लेखक सङ्घको आयोजनामा सञ्चालित यो कार्यक्रममा सङ्घका अध्यक्ष मित्रलाल पंज्ञानीको अध्यक्षता र महासचिव अनिल श्रेष्ठको उद्घोषण रहेको थियो । सचिव विजयराज आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।