चौमकालमा मोहनविक्रम सिंहसित मेरो सम्बन्ध

चौमकालमा मोहनविक्रम सिंहसित मेरो सम्बन्ध

 

 

नेकपा(चौम) को आम नीति अन्तरसंघर्षलाई प्राथमिकता दिनु थियो । त्यस नीति अनुरुप पूर्वी तराईमा बाहेक देशका अन्य विभिन्न जिल्लाहरु खास गरिकन काठमाडों उपत्यका भित्र तथा पश्चिम पहाडी जिल्लाहरुमा जनसंघर्षहरु संचालन भए । त्यो जनसंघर्षको नीति चौथो महाधिवेशनको नयाँ जनवादी क्रान्तिको रणनीतिसँग मेल खाने कार्यनीति थियो । चौम बाहेक अन्य कम्युनिस्ट पार्टीहरु र नेपाली कांग्रेस पनि पंचायत विरोधी आन्दोलनमा क्रियाशील थिए । त्यही परिप्रेक्ष्यमा टंकप्रसाद आचार्यले सम्पूर्ण प्रति बन्धित राजनीतिक पार्टीहरुलाई छलफलको निम्ति अर्थात् वार्ताको निम्ति एकै ठाउँमा भेला हुन आह्वान गरे । टंक प्रसादको निम्तो सबै पार्टीलाई गयो । तर हाम्रो पार्टीलाई निम्तो आएन । सबै पार्टीका प्रतिनिधिहरु भेला हुने कार्यक्रममा पंचायतको विरोधमा के कसो गर्ने भन्नेबारेमा निश्चय पनि बहस छलफल हुन्छ । त्यसैले त्यस्तो ठाउँमा पार्टीको नीति प्रस्तुत गर्न हामी पनि जानुपर्छ भन्ने विचार मैले पार्टीमा राखें । तर क. मोहनविक्रम सिंहले भेलामा जानुहुन्न भनेर अड्डी लिनुभयो । पार्टी केन्द्रमा भएको छलफलमा अधिकांश साथीहरुले जानुपर्छ भन्ने मत तर्क राख्नु भयो । साथीहरुको तर्कलाई क. मोहनविक्रमले काट्न सक्नु भएन । उहाँले जानुुुहुन्न भन्ने आफ्नो मतको औचित्य पनि साथीहरु सामु देखाउन सक्नु भएन ।

अन्त्यमा उहाँले स्पष्टताका साथ के भन्नु भयो भने टंक प्रसाद आचार्यले दरबारबाट तलव खान्छ । त्यो दरबारको दलाल हो । त्यसकारण उसले बोलाएको ठाउँमा जानुहुन्न । टंकप्रसादलाई राजदरबारको दलाल हो भन्ने आरोप लगाएपछि पार्टी केन्द्रको बैठकमा एक किसिमको सन्नाटा छायो । टंकप्रसाद राणाहरुले फाँसीको सजाय तोकेको मान्छे थिए । तर उनी एक बाहुन भएको नाताले बँचेका व्यक्ति थिए। त्यसपछि पनि उनले लगातार नेपाल प्रजा परिषद्को अध्यक्ष भएर प्रजातन्त्रको लागि लडेका थिए । हो एकपटक उनी सरकारमा गए र प्रधानमन्त्री पनि बने । तर प्रधानमन्त्री पदबाट मुक्त भैसकेपछि पनि उनी गरिब नै थिए । त्यसैले गर्दा राजदरबारले उनलाई केही मद्दत गरेको थियो । मैले सुने अनुसार टंकप्रसादलाई दरबारले महिनाको १५ सय रुपियाँ दिन्थ्यो । त्यो रकम लुकाएर दिएको थिएन । त्यसैगरी गोप्य तरिकाले सिआइडी काम गर्नको लागि पनि दिइएको थिएन । त्यो रकम एक किसिमको सहयोगको रुपमा पेन्सन जस्तै थियो । त्यसकारण टंकप्रसाद आचार्यले बोलाएको ठाउँमा जानुहुन्न भन्ने कुरा थिएन । तर क. मोहनविक्रम सिंहको अड्डीले गर्दा हामी टंकप्रसादले बोलाएको ठाउँमा जान सकेनौं । यो जनमतसंग्रह भन्दा अगाडिको घटना हो । टंकप्रसाद आचार्यले बोलाएको ठाउँमा जानेकी नजाने भन्ने सवालको बहस त्यतिकै टुंगिएन । यो बहसले पार्टीभित्र संयुक्त मोर्चाको स्वरुप के हुनुपर्छ भन्ने बहसलाई जन्मायो । जेलमा छँदा क. मोहनविक्रमसँग धेरै लामो बहसपछि हामीले नेपाली कांग्रेस दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको कारणले गर्दा ऊसँग हाम्रो कुनै किसिमको संयुक्त मोर्चा हुँदैन भन्ने अवधारणा बनाएका थियो । तर पंचायती व्यवस्थाको विरुद्धमा लगातारको संघर्षले के चिज सावित गरिदियो भने पंचायती व्यवस्थालाई सिध्याउनको निम्ति र राजदरबारको हातबाट सत्ता खोस्नको नेपाली कांग्रेसँग संयुक्त मोर्चा नगरिकन सम्भव छैन । त्यसैले नेपाली कांग्रेससँग संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने टुंगोमा म पुगे यो कुरा मैले पार्टीमा राखे । तर क.मोहनविक्रम सिंहले मेरो त्यो विचारको घोर घमासान विरोध गर्नुभयो ।

यो कुरा त्यसबेलाको पार्टी दस्तावेज सर्कुलरहरु खोजेर हेरेमा प्रष्ट थाहा हुन्छ । म पार्टीको चौथो महाधिवेशनले पारित गरेको मूल दस्तावेजमा भएको जनसंघर्ष आजको अवस्थामा प्राथमिक संघर्षको रुप हो र व्यापक संयुक्त मोर्चा आजको आवश्यकता हो भन्ने कुरामा अडिए जुन क. मोहनविक्रम स्वयंले नै पेश गर्नुभएको थियो । उहाँलाई हिजोको आफ्नै मान्यतामा अडिन अप्ठ्यारो भयो । उहाँले विस्तारै त्यो अडान छाड्न थाल्नुभयो। मोहनविक्रम सिंहले भन्न थाल्नु भयो । नेपाली कांग्रेस अथवा अरु पार्टीहरुका कार्यकर्तासँग संयुक्त मोर्चा हुन सक्छ तर नेतृत्वहरुसँग होइन । नेतृत्व दलाल र गद्दारको कार्यकर्ता इमान्दर भन्ने जस्ता उट्पटङ कुरा ल्याउन थाल्नुभयो । यी सबै कुराको छिनोफानो गर्नको लागि पार्टीको विस्तारित बैठक बस्यो । त्यो विस्तारिक बैठक भारतको अयोध्या शहरमा बसेको थियो । त्यतिखेरसम्म संयुक्त मोर्चाको सवालमा यति व्यापक रुपमा बहस छलफल चलिसकेको थियो,त्यसबाट पार्टीमा नेपाली कांग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने कुरामा बहुमत बन्न पुग्यो । यस्तो अवस्था देखेपछि क. मोहनविक्रमसिंहले सम्मेलनको बीचमै समय मागेर एउटा प्रस्ताव पेस गर्नुभयो । उहाँले प्रस्ताव राख्दै भन्नुभयो पार्टीको टेक (गुप्त) कमिटीले एउटा योजना बनाएको छ । त्यो योजना अनुसार ४०–५० जना कमरेडहरुलाई व्यवहारिक गुरिल्ला तालिम दिइन्छ । त्यो तालिम चाँडै शुरु हुँदैछ । अर्को कुरा त्यस सम्मेलनमा क. मोहन विक्रम सिंह मलाई अपमान गर्ने ढंगले पेस हुनुभयो । म आफ्नो तर्क पेस गर्दैथिए । संयुक्त मोर्चाको सवालमा भावनामा बगेर कुराहरु राखिनु हुन्न, फलानासँग संयुक्त मोर्चा हुन्छ र फलानासँग हुन्न भनेर अहिले नै किटेर भन्न हुन्न । के को निम्ति संयुक्त मोर्चा बनाउने हो त्यस सवालमा प्रष्ट हुनुपर्छ ।त्यो हो पंचायत कसरी खतम पार्ने राजदरवादमा भएको राजनैतिक शक्ति खोसेर कसरी जनताको हातमा दिने यसको निम्ति व्यापक नीति लिइनु पर्छ । जोसँग पनि संयुक्त मोर्चा बनाउन सकिन्छ ।

क. मोहनविक्रम सिंहले बीचमा जुरुक्क उठेर मलाई प्रश्न गर्नुभयो के तपाई नेपाली कांग्रेससँग संयुक्त मोर्चा बनाउने कुरा गर्दै हुनुहुन्छ ? हो संयुक्त मोर्चा बनाउनुपर्छ । मैले जवाफ दिएँ । ल हेर । उहाँ नेपाली कांग्रेस जस्तो शक्तिसँग संयुक्त मोर्चा बनाउने कुरा गर्नुहुन्छ । मलाई गिज्जाउने पाराले उहाँले बोल्नुभयो । बहस टुंगो नलागेपछि मतदान भयो । तर उहाँले गुरिल्ला तालिम दिने कुरा गरेर हाउसलार्ई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै नेपाली कांग्रेससँग संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने भनेर मप्रति साथीहरुमा घृणा जगाउने जुन काम गर्नुभयो । त्यसको केही साथीहरुलाई प्रभाव पर्‍यो । मेरो मतले थोरै अन्र्तले हार खानुपर्‍यो । जसले गर्दा क. मोहन विक्रमसिंहकै विचार अनुसार पार्टीले संयुक्त मोर्चाको नीति बनाउने भयो। अर्थात् नेपाली कांग्रेसका कार्यकर्तासँग संयुक्त मोर्चा बनाउने तर नेतृत्वसँग बनाउन नहुने नीति बन्यो । यसैबीच पार्टीभित्रको संघर्षको क्रममा मैले पंचायत निर्वाचनको उपयोग गर्नुपर्छ भनेर जब प्रस्ताव राखें पार्टी केन्द्रीय कमिटीमा एउटा विस्फोट भयो । सबैजना स्तब्ध भए । करिब ४–५ मिनेटसम्म कोही बोलेनन् । त्यसपछि बहस शुरु भयो । मलार्ई कसैले पंचायती मन्त्री हुने भयो भने कसैले पञ्च हुने भयो भने कसैले संशोधनवादी भयो भने त कसैले गद्दारी गर्‍यो भने सबैले मलाई गाली गरे । यही क्रममा मोहनविक्रम सिंहले लामा सिआइडी हो भन्नुभयो । त्यो केन्द्रीय कमिटीको औपचारिक बैठक थियो ।

मोहन विक्रम पार्टीको महामन्त्री हुनुहुन्थ्यो । मैले सबै साथीहरुलाई शान्तिपूर्वक सोधे मलाई सीआइडी भनेको के हो ? हो साँच्चै हो ? हो, अल राइट । त्यसो हो भने तपाईहरु मलाई बाहिर पठाउनुहोस् । मोहनविक्रमसँग म सिआइडी भएको प्रमाण माग्नुहोस् । म भाग्दिन म यही बस्छु उहाँले प्रमाणित गर्न सक्नु भएछ भने तपाईहरुले मलाई मारिदिनुहोस् । सिआइडीलाई जिउँदो राख्नु हुन्न, मैले आफ्नो विचार राखें । सबैले भने जानु पर्दैन जानु पर्दैन । तपाई बस्नुपर्छ त्यसो भए म सिआइडी भएको प्रमाण पाउँ मैले भने । क. मोहनविक्रम सिंहले प्रमाण पेश गर्न थाल्नुभयो । उहाँले भन्नु भयो। मैले जति पनि क्रान्तिकारी नीतिहरु पेश गर्छु ती सबैको लामाले विरोध गर्छ । सिआइडी नभए किन विरोध गर्छ त ? ठीक छ । यो प्रमाण नम्बर १ भयो । ल अब अर्को प्रमाण पेश गर्नुस् मैले भने । छैन । त्यति नै हो, उहाँले भन्नुभयो । यत्तिकैमा क. जय गोविन्द साह र क. नरबहादुर कर्माचार्य दुई जना बुढाहरु जुरुक्क उठेर गई क. मोहनविक्रमलाई रिसले कुट्न जानुभयो । हामीहरु सबैले उहाँहरुलाई छेकेर क. मोहनविक्रमलाई कुट्नबाट रोक्यौं । यो घटना भारतको गोरखपुरको गोरखपुर मन्दिरको धर्मशालामा भएको थियो । धर्मशालामा हामीहरु अलि मिलेर बढी समयसम्म बस्ने गथ्र्यौं । महन्थहरु हामीहरुलाई मन पराउँदैनथे । जोगीहरु पनि हामीलार्ई मन पराउँदैनथे । हामीबीच चर्काचर्की भएपछि त्यहाँ निकै नै हल्लिखल्ली भएछ । त्यत्तिकैमा क. चित्रबहादुर केसी जोगी आयो भनेर कराउनुभयो । सबै शान्त भए । सबैलाई अब जोगीले हामीलाई त्यहाँबाट निकाली दिन्छ भन्ने लाग्यो । तर जोगी आएर एक फन्को घुमेर हामीलार्ई केही नभनी सुटुक्क फर्केर गयो । त्यसपछि क. मोहनविक्रम सिंह र मेरो बीच बोलचाल बन्द भयो । बैठक पनि चलेन । हामी एक अर्काबाट छुट्टिएर पनि गएनौं । उदेक लाग्दो वातावरण सिर्जना भयो । सायद यो घटना २०३७ सालतिरको हो । हामीबीच बोलचाल बन्द भएपछि पार्टीमा जहिले पनि तनावको स्थिति सिर्जना हुन पुग्यो । केन्द्रीय कमिटीमा म एक्लो हुन पुगे । मलाई कसैले साथ दिएनन् । मसँग अलग कुरा गर्दा अब पंचायतलाई सधै बहिष्कार गरेर मात्र हुँदैन भन्नेहरुले पनि बैठकमा बहिष्कारनै गर्नुपर्छ भने ।

पार्टीभित्र तलदेखि माथिसम्म पूरै मेरो विरुद्ध अभियान नै शुरु भयो । त्यही बेलामा पार्टीभित्र दुर्घटना भयो । क. मोहनविक्रम सिंह महामन्त्रीबाट हट्नु भयो । र महामन्त्रीको पद मलाई चिठ्ठा पर्‍यो । महामन्त्रीबाट हट्नु भएपछि क. मोहनविक्रम सिंह दक्षिण भारतको मद्रासतिर गएर बस्नुभयो । उहाँले त्यही बसेर जिल्ला जिल्लाबाट साथीहरुलाई त्यहाँ बोलाएर लामा कांग्रेसी हो, यो संशोधनवादी हो, यो पंचको मान्छे हो, यो राजदरबारको मान्छे हो, भनेर मेरो विरुद्ध अभियान नै थाल्नु भएछ । मद्रासमा क. मोहनविक्रम सिंहलाई (एमबी) बाट बोलाइएको थुप्रै साथीहरु मध्ये काजीलाल वाइबा, चित्रबहादुर आले आदि पनि थिए । उनीहरु सबै मेरो विरोधी र क. मोहनविक्रमका भक्त भए । एमबीको कार्वाहीको अवधि सिद्धिनु दुई महिना अगाडि केन्द्रीय कमिटीको बैठकमा मैले दुईवटा प्रस्तावहरु राखें । ती प्रस्तावहरु थिए । एउटा महामन्त्रीबाट राजीनामा अर्को क. मोहनविक्रम सिंहलाई पार्टीमा भित्राउने । मेरो प्रस्ताव थियो । उहाँलाई कार्वाहीको अवधिमा दुई महिना मिनाहा गरौं । बैठकमा क. मोहनविक्रम सिंहको कार्वाहीको अवधिलाई दुई महिना छोट्याउने प्रस्ताव पास भयो । तर म महामन्त्री पदबाट हट्ने सवालमा सहमति हुन सकेन । क. किरण र क. आजादले हामी तपाईका विरुद्ध विभिन्न आरोपहरु लगाउँदै छौं । तपाईले राजीनामा दिने होइन बरु तपाईलाई हामी कार्वाही गर्छौं भन्नुभयो । त्यसपछि मैले मेरो राजीनामाको प्रस्ताव फिर्ता लिएँ । अनि उनीहरुले मेरो विरुद्ध आरोपहरु ल्याउन थालें ।

बैठक भारतको गोरखपुरमा भएको थियो । क. आजाद र क. किरणले मविरुद्ध आठ दशवटा आरोपहरु पेश गरे । मैले ती आरोपहरु हेरिसकेपछि ती आरोपहरु आधारहीन भएको बताएँ । आरोपहरुमा गुटबन्दी गर्‍यो भन्ने थियो । मैले भने मैले कहाँ गुटबन्दी गरे ? प्रमाण देखाउनुस् तपाईले पार्टीमा आफूखुशी गर्नु भएको छ । उनीहरुले भने–मैले त्यसको पनि प्रमाण खोजें, मैले भने कुन चाहिं काममा कहिले मैले आफू खुशी गरें । उनीहरुले कुनै प्रमाण जुटाउन सकेनन् उनीहरुको म माथिको अर्को आरोप थियो । मैले पार्टीको टेक कमिटी चलाउन सकिन । मैले भने खोई त मलाई त्यो कमिटी सुम्पेको ? क. मोहनविक्रम सिंहले आफू महामन्त्रीबाट हटाइनु हुँदा र त्यस ठाउँमा म आउँदा खोई त त्यो टेक कमिटी मलार्ई हस्तान्तरण गरेको ? उहाँसँग सोध्दा उहाँले मलाई त्यस कमिटीमा पश्चिममा चित्रबहादुर केसी र पूर्वमा आजाद रहनु भएको बताउनु भएको थियो । तर त्यसबारेमा केसीलार्ई सोध्दा केही छैन भने । आजादलाई सोध्दा पनि केही छैन भने । अनि त्यस्तो अवस्थामा टेक कमिटी कसरी चल्छ । के तपाईहरुले मैले छुट्टै टेक कमिटी बनाएन भन्नु भएको हो । मैले बनाएको भएतपाईहरुलार्ई थाहा पनि त दिन्थे होला नि । वास्तवमा क. मोहनविक्रम सिंहले टेक कमिटी मलाई नसुम्पने षडयन्त्र नै रच्नु भएको थियो । मलाई अर्को आरोप लगाइयो मैले कांग्रेसीसँग चन्दा लिए रे ।

वास्तवमा घटना के थियो भने १०–१२ वर्ष पुराना २००७ सालतिर वा त्यस अगाडिदेखि परिचित साथीहरु गोरखपुर मैले उनीहरु सँग लजमा सँगै बसेर सँगै खाएको थिएँ । उनीहरुले मलाई चन्दा दिएर मद्दत गरेका थिएँ । मैले त्यो कुरा तुरुन्तै पार्टीमा रिपोर्ट पनि गरेको थिए । मैले रिपोर्ट नगरी लुकाएको भए । त्यो कुरा उनीहरुले थाहा पाउने कुरा नै थिएन । उनीहरुले मलाई यस्ता बाहियात आरोपहरु लगाए । मैले ती कुनै पनि आरोपहरु मान्दिन भने । मैले त्यसो भनेपछि मेरो कुरालाई लिएर कसैले पनि जवाफ फर्काएनन् । र त्यो मुद्दा त्यत्तिकै ढिसमिस भयो । मैले उनीहरुलाई भने तिमीहरुको नैतिकता भए तिमीहरुले राजीनामा दिनुपर्छ । तिमीहरुको सबै षडयन्त्र धुलोमा मिलेको छ । तर म तिमीहरु जस्तो नैतिकता नभएको मान्छे होइन । अब म महामन्त्रीबाट मात्रै होइन पोलिट्व्यूरो र केन्द्रीय समितिबाट पनि राजीनामा दिन्छु । उनीहरुले भने कहाँ त्यस्तो पनि हुन्छ र ? तिमीहरुले मान या नमान म त राजीनामा दिन्छु, मैले स्पष्टताका साथ भने । बैठकमा क. जयगोविन्द साहलगायत बहुमत साथीहरुले मैले राजीनामा दिनुहुँदैन भनेर जोड दिए । मैले राजीनामा दिने कुरामा अड्डी लिए । सबैको अनुहार साह्रै अँध्यारो भयो । उनीहरु सबैले भने अब पार्टी बिग्रिन्छ । मैले भने म यस्तो महामन्त्री भएर बस्दीन । हतियार, टेक, खास केन्द्रीय काम आदि सारा मबाट लुकाउनुकासाथै देशका जिल्ला जिल्लाबाट साथीहरु इण्डियामा बोलाई मेरो विरुद्ध अनर्गल प्रचार गरिंदा पनि पार्टी चुप छ ।

यस्तो पार्टीमा म कसरी बस्ने तर क. जयगोविन्द साह लगायत अन्य साथीहरु धेरै नै कराए पछि केन्द्रीय कमिटीसम्ममा बस्न राजी भएँ । म जिएस (जनरल सेक्रेटरी) बाट हटेपछि त्यस पदमा क. शेरसिंह अर्थात् क.भक्तबहादुर श्रेष्ठ रहनुभयो । (नरबहादुर कर्माचार्यको) अनुसार २०३९ सालमा (चौम) भित्र सात सालको मूल्यांकनको प्रश्न पुष्पलालको सवाल, संयुक्त मोर्चा, प्रमुख अन्तरविरोध लगायतका विषयमा तीब्र अन्तरसंघर्ष चलेको थियो । सोही क्रममा निर्मल लामालाई अनुशासनको कार्वाही गर्ने षडयन्त्र हुन थालेपछि निर्मल लामाले राजीनामा दिएका थिए । बैठक सकिएपछि अरु बेला जस्तै म आलेजीसँग बाहिर भट्टीमा रक्सी खान गएँ । गोरखपुरमा पसलमा रक्सी किन्न पाइँँदैनथ्यो । रक्सी पाउन भट्टी मै जानु पथ्र्यो । हामी त्यसरी जाने कुरो अरु केहीलाई थाहा थियो । सबैलाई थाहा थिएन । थाहा हुनेहरुले पनि त्यस कुरामा वास्ता गर्दैनथे । भट्टीमा पुगेपछि आलेजीले भन्नुभयो । अब त तपाई पार्टीमा काम गर्नु हुन्न क्या रे । कसले भन्यो यो मैले प्रश्न गरें । होइन तपाई अब सक्रिय हुनुहुने छैन भनेको हुँ, उहाँले कुरा थप्नुभयो । यो तपाई कसरी भन्नुहुन्छ । मैले अर्को प्रश्न गरें । जिएसबाट हटेपछि पनि काम गर्नु हुन्छ त ? उहाँले तर्क गर्नुभयो । जवाफमा मैले भने तपाई केन्द्रीय कमिटीको अर्को बैठकमा हेर्नुहोला । त्यहाँ मैले आफूले गरेको कामहरुको रिपोर्ट पेश गर्नेछु । अनि तपाईले म काम गर्छु कि गर्र्दैन भन्ने कुरा थाहा पाउनुहुनेछ । मेरो कुराबाट आलेजी अलि अचम्ममा पर्नुभयो । गोरखपुरको त्यो बैठकपछि म काठमाडौं उपत्यकाको इन्चार्ज भएर आएँ । मैले तुरुन्त उपत्यका कमिटी तथा जिल्ला कमिटीका बैठकहरु डाँकें । साथीहरुलाई क्रियाशील बनाएँ । त्यसबेला पार्टीको मुल समस्या अर्थ जुटाउनु थियो । चन्दा उठाउनु थियो । किनकि त्यसैबाट हेर्डक्वाटर थाम्नुपथ्र्यो । ६ महिना कमसेकम ५–६ हजार रुपियाँ हेडक्वाटरमा पठाउनु पथ्र्यो ।

मैले आफुलाई केही नभएको जस्तो गरी भूमिगत भइ सक्रियतापूर्वक काम गरे । उपत्यकामा साथीहरुले प्रश्नहरु गरें , जिएस किन छाडेको ? नछाडेको भए हुँदैन थियो र ? मैले भने अरु कुरा पछि गरौंला, अहिले काम नै गरौं । निनु (निरन्जन चापागाई) र काइलाबा (देवेन्द्रलाल श्रेष्ठ) पनि म सँगै उपत्यका कमिटीमा हुनुहुन्थ्यो । ६ महिना पछि मैले पार्टी कामको रिपोर्ट लेखे । र म क्षेत्रीय व्यूरोमा पेश गरे । त्यसपछि त्यस क्षेत्रीय व्यूरोको रिपोर्ट बन्यो । त्यस रिपोर्टमा कार्यकर्ता प्रशिक्षणका कार्यक्रमहरु सानातिना संघर्षका कामहरु र पार्टी क्रमश: विस्तार हुँदैगएको कुरा उल्लेख थियो । त्यसैगरी मैले रिपोर्टको साथमा ५–७ हजार चन्दा पनि संकलन गराए । रिपोर्ट र चन्दा दुवै केन्द्रीय कार्यालय अर्थात् हेर्डक्वाटरमा गएर नयाँ महामन्त्री क. भक्तबहादुर श्रेष्ठलार्ई बुझाएँ । क. मोहनविक्रम सिंह कारवाहीबाट फर्केर केन्द्रीय कमिटीमा आइसक्नु भएको थियो । म हेर्डक्वाटरमा पुगिसकेपछि केन्द्रीय कमिटीको बैठक शुरु गरियो बैठककमा सबैले आ–आप्mना कामको रिपोर्ट पेश गर्ने कार्यक्रम थियो । प्रत्येकले क्रमश: पेश गर्दे जाने क्रममा मेरो पालो आयो मैले त्यतिखेर आलेजीको अनुहार हेरें । उहाँ मुुसुक्क हाँस्नु भयो । र, जिल्ला पर्नुभयो । रिपोर्ट पेश गर्ने क्रममा मैले भने मेरो रिपोर्ट छैन । मसँग क्षेत्रीय व्यूरोको अन्तर्गत भएका विभिन्न कामहरु जस्तो कि विभिन्न कमिटी, क्षेत्रीय व्यूरोको रिपोर्ट छ । त्यसैले क्षेत्रीय व्यूरोको रिपोर्ट महामन्त्रीबाट पढी पाउँ । क्षेत्रीय व्यूरोको रिपोर्ट फुलस्केपमा पाँचपेज थियो । त्यसमा क्षेत्रीय व्यूरो अन्तर्गत भएका विभिन्न कामहरु जस्तैकी विभिन्न कामहरुको बैठक, ती बैठकहरुले पास गरेका कार्यक्रमहरु आदिको विस्तृत विवरणहरु थियो । महामन्त्रीले ती सबै पढी सुनाउनु भयो । सबैको रिपोर्ट पेश गर्ने काम सकिइसकेपछि आलेजीलाई अलग्गै बोलाई मैले भने लौं हेर्नुहोस् । हेर्डक्वाटरको जिएसको, एमबीको र अरुहरुको रिपोर्टमा मैले जति काम गरेको रिपोर्ट कसैमा छ त ? कसैको छैन आलेजीले भन्नुभयो ।

मैले त्यो रिपोर्ट त्यत्तिकै बनाएर ल्याएको होइन । त्यो रिपोर्ट त क्षेत्रीय व्यूरोले पास गरेको रिपोर्ट हो । क्षेत्रीय व्यूरोमा लाटागाँडाहरु त बसेका छैनन् नी मैले निर्धक्क भएर भने । आलेजीले मेरो कुरा पत्याउनुभयो । पार्टीभित्र म र एमबीजीको अन्तर्विरोध झनझन बढेर गयो र अन्त्यमा २०३९ सालमा पार्टी फुट्यो । पार्टी फुट्न लाग्दा नफुटौं भनेर मैले धेरैै नै कोशिश गरें । त्यसबेला पार्टीको सम्मेलन बोलाइएको थियो । सम्मेलन बोलाएको त्यो ठाउँ सायद गोरखपुर थियो । सम्मेलनमा मेरो साथमा सर्वोत्तम डंगोल पनि गएका थिए । हामी त्यहाँ पुग्दा सम्मेलन शुरु गर्न लागिएको थियो । मैले हात जोडेर अनुरोध गरे केही दिन पर्खिनुहोस् । साथीहरु चितवनमा भेला भैरहेका छन् । उनीहरुलार्ई आउन दिउँ । उनीहरुलाई म त्यहाँ गएर लिएर आउँछु । नफुटौं बहुमत अल्पमत भएर काम गरौं भने तर उनीहरुले मानेनन् । म र सर्वोत्तम साथै उपस्थित भएको त्यस सम्मेलनले पार्टी फुट्ने निर्णय गर्‍यो । सम्मेलनले म र जयगोविन्द साह लगायत पाँच जना केन्द्रीय ससदस्यहरुलाई कार्वाही गरेर निस्कासन गर्‍यो । कारवाहीको घोषणा गरी सक्दा पनि म सम्मेलन हलभित्र नै रहिरहँे । सर्वोत्तम पनि त्यतिकै बसिरहे । कारवाही भैसकेकोले हामीलाई बाहिर जा भन्लान् भनेर हामी चुप लागेर बसिरह्यौं । तर हामीलाइ कसैले पनि बाहिर जा भनेनन् । हामीलाई पार्टी सदस्यताबाट निस्कासन गरिएको थियो । त्यति मै सम्मेलन हलबाट हामीलाई बाहिर जा भनेर प्रत्यक्ष रुपमा कसैले भन्न सकेन । म उनीहरुको स्थानमा भएको भए मैले भन्थे । तपाईलाई पार्टीले निस्काशन गरिसकेको छ । कृपया बाहिर जानुस् । उनीहरुले भन्न सकेनन् । घोषणा भएको १०–१५ मिनेट भइसक्यो । हलभित्र गुनगुन हल्ला चल्यो । तर हामीहरुलाई कसैले पनि बाहिर जा भन्न सकेन । अनि म स्वाट्ट उठेर भने, तपाईहरुसँग नैतिकता छैन । नैतिक बलै छैन । आँटै छैन । किनभने तपाईहरुले सम्मेलन गलत र गलत निर्णय गर्नु भएको छ । निस्कासित भैसकेको मान्छेलाई सभाहलबाट बाहिर जा भन्न सक्नुहुन्न । भित्रभित्र तपाईहरुमा डर पैदा भैरहेको छ । किनकि तपाईहरुले आफ्नो स्वार्थको निम्ति पार्टी फुटाइरहनु भएको छ । भैगो म आफै जान्छु ।

मैले त्यसो भनेपछि हलभरीमा सर्वोत्तम एक्लैले ताली लगायो । मोहनविक्रमहरु सबै ट्वाल्ल परिरहे । सम्मेलनबाट फर्केर आइ हामी चितवनमा भेला भयौं । त्यसबेला पनि म अलग्गै पार्टी गठन गर्ने पक्षमा थिइन । तर यतापट्टीका मुख्य साथीहरु छुट्टै पार्टी गठन गर्ने मनस्थितिमा पुग्नुभयो । उहाँहरु श्याम श्रेष्ठ, जयगोविन्द साह, दिलबहादुर श्रेष्ठ, नरबहादुर कर्माचार्य, चित्रबहादुर आले आदि हुनुहुन्थ्यो । मैले पछिसम्म पनि भने, हामी त्यही बसौं । तल्ला कमिटीहरुमा बसौं । तल्ला कमिटीहरुमा बसी अनुशासनमा बसी काम गरौं । पार्टी फुटाएर काम छैन । साथीहरु मान्नु भएन । मैले फुटाउनु हुन्न भन्नुमा मेरो पार्टीप्रतिको एउटा धारणाले काम गरेको थियो । म के धारणा राख्थे भने सानातिना मतभेदमा यसरी पार्टी फुटाउनु हुँदैहुँदैन । मेरो दिमागमा यो एउटा धमिलो चेतनाको रुपमा रहिरह्यो । पार्टी फुटाउन हुन्न भन्ने मेरो भनाईको पछाडि अर्को पनि एउटा कुरा थियो । त्यो के भने पार्टीको महामन्त्रीत्व चलाउने मेरो स्वभाव हैन भन्ने मेरो बलियो धारणाा रहेको थियो । मेरो त पार्टीको नीतिलाई व्यवहारमा उतार्ने क्षमता छ । पार्टी नेतृत्वमा बसेर नीति निर्माण गर्नुपर्दछ । आफ्नो समर्थक विरोधी सबैसँग मिलेर काम गर्ने क्षमता हुनुपर्दछ । सबैसँग उत्तिकै मिलनसार हुनुपर्दछ । एकोकोरिनु हुँदैन यी सबै गुणहरु त ममा छैन । त्यसकारण म पहिला चौथो महाधिवेशन नफुट्दासम्म करिब करिब त्यही अनुसार हामीहरुले काम गर्‍यौं । त्यसमा मलाई निकै सन्तोष पनि थियो । एमबी महामन्त्रीमा सन्तुष्ट थिएँ । म जति थिएँ त्यतिमा सन्तुष्टि थिएँ । अरु साथीहरु पनि त्यो संरचनामा सन्तुष्ट नै थिएँ । तर साथीहरुले त्यही पार्टीमा बसिरहन नमानेपछि हामीहरुले नयाँ पार्टी गठन गर्‍यौं । हामीले नयाँ पार्टी गठन गरेपछि मोहनविक्रमले पार्टीको नाम नेकपा (मशाल) राखे हामीहरुले पुरानै नाम नेकपा (चौम) राख्यौं । पार्टी औपचारिक रुपमा २०४० सालमा फुटेको थियो । धेरै साथीहरुलाई पार्टीको पुरानै नाम राखिनुको कारण थाहा नहुन सक्छ । त्यसको खास कारण के थियो भने पार्टीको चौथो महाधिवेशनमा पारित भएको मोहनविक्रमको मूल दस्तावेजमा उल्लेखित मूल नीतिलार्ई नै हामीले समातेर अघि बढ्न खोजेका थियौं । अर्थात् एकातिर देशभक्त र जनतान्त्रिकहरुको तात्कालिक सरकार र अर्कोतिर नयाँ जनवाद । त्यसैगरी तत्काल आन्दोलनको स्वरुप के भन्ने सवालमा जनसंघर्ष र व्यापक संयुक्त मोर्चाको विकास भन्ने थियो । त्यस्तैगरी जनसेनाको गठन गर्नु जरुरी छ भन्ने कुरा पनि थियो । चौथो महाधिवेशनको स्तावेजमा उल्लेखित यी मूल नीतिलाई आधार बनाई अगाडि बढ्ने कुरा तय भएकोले नै हामीहरुले पार्टीको नाम नेकपा (चौम) नै राख्यौं ।

(नोट : प्रस्तुत लेख निर्मल लामाको “सर्वहारा राजनीति” पुस्तकबाट लिइएको । यस पुस्तकको सम्पादन भोगिराज चाम्लिङले गरेका हुन् । प्रस्तुत लेखको प्रस्तुतिकरण टेकहरी न्यौपानेको हो)