
२५ फागुन विराटनगर ।
मजदुरहरुको रोजगारी, तलब–वृद्धि, निशुल्क स्वास्थ्य, सुरक्षा र अधिकारको निम्ति संघर्षको आव्हान !
क्रान्तिकारी कार्यदिशाको विकास, जागरण र एकताको निम्ति पाँचौ राष्ट्रिय सम्मेलन !!
भन्ने मूल नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौं राष्ट्रिय सम्मेलन भोली फागुन २६, २७ र २८ गते विराटनगरमा गर्दैछ । उक्त अवसरमा महासंघले मजदुरहरुलाई आव्हन गर्दै निम्न अपिल प्रकाशित गरेको छ :
अपिल
आदरणीय मजदुर साथिहरु !
मानव समाजको जीवन र संघर्षको शिलशिला छ, दासमालिक सामज र सामन्ती समाजको पतनसँगै मजदुरहरुको जीवन र संघर्षको शिलशिला शुरु भएको थियो, जुन मानव इतिहास कै सर्वोच्च अग्लो र सुन्दर शिलशिला हो । यो शिलशिलामा मानवजाति कहिले घ्रसिएर, कहिले टेकेर, कहिले उठेर, कहिले हिडेर, कहिले दौडिएर यहाँ आइपुगेको छ । यो धर्ती त्यसै उज्यालो छैन, यसलाई मजदुरहरुको घर्षणले जगाइरहेको छ । मजदुरवर्ग त्यसरी यहाँ आइपुगेका छ । यो धर्तीलाई कोतरेर मजदुरहरुले आजको समाजलाई प्रज्ज्वलित गरिरहेका छन । त्यससँगै मजदुरहरु वर्गीय मुक्तिको निम्ति जुधिरहेका छन । बलिदानको जोखिम उठाइरहेका छन । मजदुरहरुले आजको समाजको सबैभन्दा महान काम गरिरहेका छन ।
आदरणीय मजदुर साथीहरू !
मजदुर र पुँजिपतिवर्ग आजको समाजका मुख्य वर्गहरु हुन । तर श्रम, शक्ति र संगठनको दृष्टिकोणले मजदुरवर्ग नै आजको समाजको अधिक श्रमशील, गतिशील, क्रान्तिकारी र अजेय वर्ग हो । तर विद्यमान राज्यसत्ता, व्यवस्था, संविधान र सरकार नोकरशाही तथा दलाल पुँजिपति र सामन्त चरित्रको भएकाले यहाँको उत्पादन सम्बन्ध र वितरण प्रणाली न्यायिक, वैज्ञानिक र मजदुरपक्षीय छैनन । त्यसकारण मजदुरहरु शोषण–उत्पीडनको सिक्रीले बाधिएको स्थितिमा छन । यहाँ रोजगारीको सुनिश्चितता छैन, बरु दैनिक हजारौं मजदुरहरुको रोजगारी खोसिएको छ । आकाश छुने महङ्गि छ, तर मजदुरहरुको पारिश्रमिक घटिरहेको छ । मजदुर र तिनका सन्ततिहरुको स्वास्थ्य, शिक्षाको अधिकार खोसिएको र सुरक्षाको चुनौती बढेको छ । मिटरब्याज, लघुवित्त र बैंकहरुको ऋणले मजदुरहरुको उठिबास छ, मजदुरका मुद्दाहरु कारखाना देखि सडकसम्म छरिएका छन, न्यायलय र त्यसका इजलासहरु भ्रष्टहरुको मुद्दाको सौदाबाजीमा पतन भएका छन । लाखौं मजदुरहरुलाई संगठित हुने प्रक्रियाबाट बन्चित गरिएको छ, तिनीहरुका आवाज, अधिकार र राजनीतिक सहभागीताको प्रश्न माथि सिक्री लगाएको स्थिति छ । अर्थात वर्तमान व्यवस्थाले मजदुरवर्ग माथि बर्बर अन्याय–अत्याचार, शोषण, दमन र उत्पीडन थोपरेको छ र यो विस्फोटको स्थितिमा पुगेको छ ।
आदरणीय मजदुर साथिहरु !
आजको परिस्थितिमा मजदुरवर्गको मुक्तिको प्रश्न, मजदुर आन्दोलन र सर्वहारा क्रान्तिको केन्द्रीय प्रश्न बन्न पुगेको छ । त्यसकारण यो मजदुर आन्दोलनको आगामी कार्यदिशा, कार्यक्रम, संगठन र नेतृत्वसँग सम्बन्धित छ । संघर्ष, त्यसको कला र विज्ञानसँग सम्बन्धित छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौं राष्ट्रिय सम्मेलन यसप्रकारको चुनौतीको बीचबाट २६, २७ र २८ फागुन–२०७९, विराटनगरमा हुँदैछ । हामी यसप्रकारको चुनौतीसँग जुध्न र नेपाली मजदुर आन्दोलनलाई नयाँ उचाइसँग जोड्न संकल्पबद्व छौं । यस प्रक्रियामा आवश्यक भूमिका र योगदानका निम्ति सम्पूर्ण मजदुर साथिहरुलाई हार्दिक आव्हान र अपिल गर्दछौं ।
धन्यवाद !
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ