
काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका अग्रज नेता कृष्णदास श्रेष्ठको चौथो स्मृति दिवसमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक प्रेस वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यमा कमरेड कृष्णदास श्रेष्ठको विशेष संस्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष समेत रहनु भएका पार्टीका सम्मानित वरिष्ठ नेता कमरेड कृष्णदास श्रेष्ठको २०७५ फागुन ११ गते दु:खद निधन भएको थियो । आजको दिन क. कृष्णदास श्रेष्ठको विशेष संस्मरण गर्दै हाम्रो पार्टी उहाँको सम्मानमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, स्थायी समितिद्वारा नेपाली कम्युनिस्ट आन्दोलन तथा जनवादी आन्दोलनका एक अग्रज नेता एवम् क्रान्तिकारी कम्युनिस्ट योद्धा क. कृष्णदास श्रेष्ठका वैचारिक, राजनीतिक तथा सांगठनिक योगदानहरुको समुचित कदर गर्दै आगामी वर्ष फागुन ११ गते उहाँको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने, केन्द्रको पहलमा कमरेड कृष्णदास स्मृति ग्रन्थ तयार पार्ने र सोही विशेष कार्यक्रममा उक्त स्मृति ग्रन्थ विमोचन गर्ने निर्णय लिइएको बेहोरा पनि हामी आदरणीय जनसमुदाय तथा सम्पूर्ण पार्टी कमरेडहरु समक्ष यसै प्रेस वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।”



