टी-२० महिला विश्वकपस् लगातार चौथो जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा

टी-२० महिला विश्वकपस् लगातार चौथो जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा

आईसीसी महिला टी-२० विश्वकपमा अस्ट्रेलियाले लगातार चौथो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार राति भएको खेलमा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकामाथि ६ विकेटको सहज जित निकाल्दै सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो।
समूह १ अन्तर्गत भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो। उसका लागि ओपनर तजमिन बृटिसले सर्वाधिक ४५ रन बनाएकी थिइन्। त्यस्तै, कप्तान सुने लुसले २० रन बनाउँदा लउरा वलभार्डले १९ रन बनाइन्।
१२५ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले २४ बल अगाडि नै ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। अस्ट्रेलियाको जितमा टलिया म्याकग्राथले ५७ रनको विष्फोटक अर्धशतकीय इनिङ खेलिन्। उनले ३३ बलमा १० चौकाको सहयोगमा सानदार स्कोर बनाइन्। त्यस्तै एस्लेइ गार्दनरले २८ रन बनाएकी थिइन्। थप दोहोरो स्कोरका रूपमा बेथ मोनी २० रन तथा एलिस पेरी ११ रन बनाइन्।

अस्ट्रेलियाले समूहचरणमा ४ जितसहित ८ अङ्क बनाएको छ। समूह १ मा दोस्रो स्थानमा रहेको श्रीलंकाको ३ खेलबाट ४ अङ्क रहेको छ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डले समान १-१ जित निकाल्दा समूहमा बंगलादेश जितविहीन रहेको छ। दुबै समूहबाट शीर्ष दुई-दुई टिमले अन्तिम चारमा स्थान बनाउने छन्।