
फाल्गुन ७, २०७९
काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिमले जवाहरलाल नेहरू रंगशाला चेन्नईमा शनिबार भएको भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंग्याएको छ ।
फिफा वरीयतामा ४२ स्थान माथि रहेको घरेलु टिमले खेलमा पकड कायम राख्यो र शृंखलाबद्ध आक्रमण पनि गर्यो । तर, उसले सहज अवसर पनि गोलमा परिणत गर्न सकेन । यस्तोमा नेपाली डिफेन्स र गोलकिपर एन्जिला तुम्बापोले केही राम्रो प्रदर्शन गरिन् । गत बुधबार यही रंगशामा भएको खेलमा सावित्रा भण्डारीले अन्त्यतिर दुई गोल गरेपछि नेपालले खेल नाटकीय रूपमा २–२ मा टुंग्याएको थियो ।
सावित्राले शनिबार पनि दुई अवसर पाएकी थिइन् । तर, पहिलो हाफमो उनको फ्री–हेडरमा बल पोस्टबाहिर गयो । दोस्रो हाफमा पोस्ट नजिक पाएको अर्को अवसरमा उनको प्रहार सटिक भएन । उनले ६४ औं मिनेटमा दिएको आकर्षक बललाई अमिशा काकीले ‘सिक्स यार्ड’ भित्र उपयोग गर्न नसक्दा नेपाल गोकलो खाता खोल्न असफल रह्यो । भारतले भने शृंखलाबद्ध आक्रामण गर्यो । केही अनावश्यक फाउल खेलेकी डिफेन्डर हीराकुमारी भुजेलले दोस्रो हाफमा गोललाइनबाट बल क्लियर गरेकी थिइन् ।
डालिमा चिब्बरको फ्रिकिकमा करिश्माले ९० औं मिनेटमा प्रहार गरेको बलमा एन्जिलाले उत्कृष्ट बचाउ गर्दै नेपाली टिमको संकट टारिदिइन् । थप केही बचाउ गरे पनि उनी पूरा खेलमै बल नियन्त्रण गर्न संघर्षरत् थिइन् र ‘पोजिसन’मा नरहदा बेलाबेला टिमलाई संकट उत्पन्न भएको थियो । नेपाली महिला टिम भारतविरुद्ध लगातार तीन खेलमा अपराजित रह्यो । गत असोजमा दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई १–० ले पराजित गरेको थियो । दुवै टिमले ओलम्पिक छनोटको तयारीमा मैत्रीपूर्ण खेल खेलेको हो ।