संस्मरण
(जमानत बसिदिने कोही भएन)
दश हजार ब्याङ्क जमानतको अड्कोले मलाई सुरुकै अवस्थामा पु¥यायो । ब्याङ्कले ऋण माग गर्ने ब्यक्तिसँग कर्जा सुरक्षणवापत धितो वा जमानतको माग गर्नु प्रचलित नियम नै हो । त्यो कुरोको हेक्का राखेको थिइन मैले । खास भन्नेहो भने म ऋण, धन र सरसापटीको मामिलामा कच्चा खेलाडी थिएँ । सबै कुरो सित्तैमा प्राप्त भएको कारणले जीवनका कठिनाइहरूको बारेमा त्यति जानकार थिइन । ब्याङ्कले पनि मेरो मागनुरुप नै सहज पैसा दिन्छ भन्ने परम विश्वास थियो । तर सरकारले त्यति कच्चा खेल खेल्ने कुरो भएन । ब्याङ्कको रकम बोकेर नेपाल सुइकुच्चा ठोकेका अनेक घटनासँग ती एङ्लो ब्याङ्क म्यानेजर भुक्तभोगी थिए सायद । अथवा जे गर्न भनेर ऋण लिएको हो, त्यो काम सफल हुन नसकेर ऋणीको बिल्लिबाठ भएका घटना पनि थिए होलान् ।
कतै पाइएला जमानत बसिदिने मान्छे ? म तत्कालिन नङ्पोस्थित भारतीय स्टेट ब्याङ्कमा दश हजारभन्दा बढी रकम जम्मा भएको सहृदयी नेपालीको खोजिमा लागेँ । पहिलो नाम आयो दाजु गोपाल क्षेत्रीको । उहाँ भेटेनरी डिपार्टमेण्टमा मेघालय सरकारको कर्मचारी हुनुहुन्थ्यो । दाजुहरू रणबहादुर क्षेत्री र मोति पाण्डे मार्फत उहाँसँग जानपहिचान भएको थियो । टुकुने दाइको जग्गामा बनेको हाम्रो आरन तथा बसोवासको पारीपाखामा उहाँको अफिस तथा बसोबास थियो । उहाँसँग जमानत बसिदिनको लागि आग्रह गर्ने निर्णय ग¥यौं हामीबुढाबुढीले । कुरो गरियो पनि । तर उहाँको ब्याङ्क त्यत्रोठूलो रकम खातामा नरहेको भन्ने कुरो भयो । सो समय दश हजार भारु भनेको चानचुने कुरो थिएन । सरकारी कर्मचारीले नै दुईढाई सय रुपैयाँ तलब पाउने जमाना थियो त्यो । एकै बचनमा आफ्नो विवसता दर्शाएपछि उहाँलाई कतै खोजखाज गरिदिने अनुरोध गरिएन ।
तर, बादलको घेरामा चाँदीको चमक हराइसकेको थिएन । उपाए केही अवश्य लाग्ला, म उपायको खोजीमा भुइपत्ताल गरेर लागेको थिएँ । त्यही भुइँपत्ताल छानमार्नेक्रममा नाम आयो उम्लिङमा घरजम गरेर काठको काम गर्ने गुल्मेली महाजन आदरणीय हरि पाण्डेको ।
चारपाँच महिनाको नङ्पो बसाइको दौरानमा मैले दाजु हरि पाण्डेको नाम खुब सुनेको थिएँ । बनिहाटको चेकपोष्ट पारगरिसके पछि आउने सानो बजारको नाम हो उम्लिङ् । उद्योगको स्टिमेट गर्ने दोरानमा गुवाहाटी गएर नङ्पो फर्किदा मलाई बनिहाट चेकपोष्टमा विदेशीको नाममा समाएको थियो एकपटक । बडो अनुनयविनय गर्दै मेरो साथमा रहेको चाइनिज कलम पुलिसलाई घुस खुवाएर फुत्केको थिएँ । सो समय आसाम आन्दोलन चलेको र आसामबाट विदेशी भगाउ अभियान चलेकोहुँदा मेघालयमा बसोवास गरेका नेपालीहरूलाई पनि मेघालय पुलिसले चोकपोष्टहरूमा खुब दुःख दिन्थ्यो । खरिदमुल्य मामुली सात रुपैयाँ पर्ने पेन फिर्ता लिनैपर्ने नाउमा अखिल भारतीय नेपाली प्रवासी संगठनका तत्कालीन अध्यक्ष तील कार्की, आफुनो कानुनको अधुरो पढाइ पुरा गराउन सिलोङ पुग्नुभएका दिल साहनीलगायत साथीहरूको जम्बो टोली मेरो फिराद सुनेपछि बर्निहाट पुगेको थियो । यसबारे आदरणीय दिल साहनीले लामो लेख लेखिसक्नु भएको छ । यहाँ प्रसंगबस उम्लिङ्को कुरो आएकोले बर्निहाट ट्रेजेडीबारे सानो तुक्का घुसाइएको मात्र हो ।
“हेर ठूला हरि पाँडेले खुब पैसा कमाचन् । बेलाबेलाँ आफ्नै गाडी लेर गाउँ जान्चन् । याँ खसिनी ब्या गरेया छन् । छोराछोरी पाचन् । उता पहाड तिर नि नाम्रो गरेयाचन रे । घराँ जाँदा बोराँ पैसा बोकेर जान्चन् ।” बाको मुखबाट हरि पाण्डेको बखान सुन्दा म चकित पर्थेँ । नङ्पोका साथीहरूले पनि उहाँलाई चिन्दा रहेछन् । साथीहरूको मुखबाट पनि उहाँबारे बखान बाले गरेजस्तै जस्तै नै सुनियो । नङ्पोमा रहँदाबस्दा मात्र होइन, पहिलोपटक पोखराबाट बाको खोजीमा भारतको राजधानी दिल्ली पुग्दा बहिनीहरूले पनि तिनै विष्णु पाण्डेको नाम लिएका थिए । यसहिसाबले पनि दाजु हरि पाण्डेलाई मैले कालो बादलको घेरामा चाँदीको चमकको रुपमा लिएँ । मेघालयको चलनचल्ती अनुसरा धनवान नेपालीहरूलाई महाजनको नामले सम्बोधन गरिदो रहेछ । मेरा इच्छा, अभिलाषा र मुक्तिका अन्तिम किनारा यिनै पाण्डे महाजन भएको मैले महसुस गरेँ ।
“जान्छु एकपटक उम्लिङ्” पाण्डे महाजनसँग, जानपहिचान पनि हुने । हातमा लाग्यो चौका भयोभने जमानतको कुरो गर्न पनि पाइने । घर सल्लाह गरिवोरी म उम्लिङ् तिर लागेँ । नङ्पोबाट उम्लिङ् भनेको बस यात्राको मात्र एक स्टेसन हो । नङ्पोबाट पुननपुग तीसचालिस मिनेटमा सजिलै पुग्न सकिन्छ त्यहाँ । खाना खाइवोरी लागेको थिएँ ओरालो । मनमा कौतुहल बोकेर उम्लिङ् नदी कट्नुभन्दा पहिले नै बसबाट ओर्लिएँ र सोधखोज गर्दै दुईतीन मिनेटको बाटो पार गरी महाजनको आगनमा पुँगे ।
संयोग राम्रै जुरेको रहेछ । त्यो बिहान महाजन जंगल नगएर घरमै बस्नु भएको रहेछ । भेटघाट भयो । मैले मेरो परिचय दिँए । उमेरले कान्छो भएपनि उहाँको पछि लागेर मेरा बा मेघालय पुगेको हुनाले एकहिसाबले बाको अविभावकको हैसियत राख्नुहुन्थ्यो महाजनले । म बाको जेठोछोरा भएको र उनलाई घर फर्काउन मेघालय आएको कुरो खुलस्त बताएँ । तर बासँग कमाइको फुटीकौडी नभएको र रित्तै नेपाल फर्किने अवस्था पनि नभएकाले यहिँ केही कमाइ हुने काम गर्नुपर्ने कुरो पनि जाहेर गरे ।
पाण्डे महाजनले मेरा सबै कुरा सुन्नु भयो । मेरो सपनाको कृषि औजार कारखानाको बेलिविस्तार लगाएँ । उद्योगको स्टिमेट अनुसार चाहिने रकमको लागि स्टेट ब्याङ्कसँग ऋण माग गरेको कुरो पनि सुनाए । अन्तिममा जे भन्नुपर्ने थियो, त्यो पनि सुनाएँ र भारतीय रुपैयाँ दश हजारको लागि ब्याङ्क म्यानेजरको सर्तअनुरुप जमानत बसिदिन आग्रह गरेँ ।
समयको यो लामो फेरोमा आज आएर पाण्डे महाजनको मनोविश्लोषण गर्नु मुर्खता हुन्छ । उहाँले कस्तो मनस्थिति बनाउनु भो, मेरो योजनाप्रति उहाँको धारणा के थियो भन्ने बारेमा अनुमान गर्नु झन् मुर्खता हुन्छ । तर मलाई यत्तिभने खुब संझना छ, “ठिकै सोचिछस् । एक्लोज्यानले काम गरेर पैसो कमाउन सक्थेनन् माइल्दाइले । तँ जा, म जमानत बसिदिन आउँछु ।” आदि आश्वासन हरि महाजनबाट प्राप्त गरँ मैले ।
“काम हुनेभयो बा । हरि पाँडेले याँ लम्फु आएर ब्याङ्कलाई भनिदिन्छु भन्नु भएको छ ।” सो स्थानको खास नाम नङ्पो भएता पनि बोलिचालीको रुपमा लम्फु भनिन्थ्यो । लिखत लेख्दा, ब्याङ्कसँग कारोबार गर्दा भने नङ्पो शब्दको नै उच्चारण गरिन्थ्यो । पाण्डे महाजनले ब्याङ्क कर्जा वापत जमानत बसिदिने कुरो एककान दुईकान मैदान भयो । दाजु रणबहादुर, मोति पाण्डेलगायत नेपाली साथीहरूको बीचमा कुरो फैलियो । मलाई दिइएको आश्वासन अनुरुप पाण्डे महाजन नङ्पो आउने र मलाई पछाडि लगाएर खसीया म्यानेजरको अफिसमा पदापर्ण गर्ने परिकल्पनामै म आल्हादित् हुन गएको थिए । रुपैयाँ दश हजार भारु प्राप्त गरिन्छ । ग्रेन्डर मेसिन, वेल्डिङ् मेसिन, हातेपंखा लगायत औजार किनिन्छ र दुइचार जना कामदार खोजेर उद्योग चलाइन्छ । मेरो मनको खाँटी घ्युमा बेसनको औधी मिठो लड्डु पाक्न थालिसकेको थियो । पाण्डे महाजनलाई भेटेर फर्किएको रातको सकुनलाई यतिका वर्ष बितिसक्दा पनि मैले बिर्सन सकिरहेको छैन । हामी बुढाबुढीले त्यो रात महान् सपना बुन्यो । बुटवलमा सिमेण्टको पिलर सहितको कोठैकोठा भएको घर ठडाउने सपना त मैले मकैबारी स्थित सिल्चर राजमार्गका किनारमा बनेको बासको झोपडीमा रात बिताउँदा पनि अनिताजीलाई सुनाएर मख्ख पार्थेँ । अब त झन् मेरो सपनाको महलको जग खन्न साइत जुरिसकेको थियो । उम्लिङ्बाट पाण्डे महाजन मेरो खातिर जमानत बसिदिन जो आउँदै थिए केहि दिन भित्र ।
देखेका सबै सपना कहाँ विपनामा रुपान्तरण हुँदा रहेछन् र ! कसैले ला भन्नु र दिउँला भन्नुमा आकाश जमीनको फेर हुन्छ । ला प्राप्ति हो भने पाउलास् भन्नु आश्वासन मात्र हो । जसको परिपालना हुन्छ नै भन्ने कुनै ज्ञारेण्टी हुन्छ । भगवानको अगाडि हात थापेर गरिएको भाकल त मान्छेले बिर्सिन्छ भने पाण्डे महाजनले मलाई दिएको आश्वासन सम्झिरहनु पर्ने कुनै बाध्यता थिएन । दिन बित्दै गए । बित्दै गएका दिनहरूका साथमा मेरा सपनाहरूले पनि विश्राम दिँदै गए । अन्ततः लामो समय बित्दा पनि पाण्डे महाजन मेरो जमानत बसिदिन आएनन् । जमानत बसिदिन आउन पनि कसरी ? औजार उत्पादन गरेर बंगाली तथा खसीया कारीगरसँग कम्पिटिसन गरेर केटाले बिक्री गर्न सक्छ भन्ने आधार के ? देख्दै सुकिलो मुकिलो देखिने ठिटाले आरनमा फलाम पिटेर बसिरहला भन्ने विश्वासको आधार के ? धेरै कुरो सोँचे हुनन् पेँगाली पाण्डे महाजनले ।
र अन्ततः उनी नङ्पो आउँदा पनि आएनन् । मेरा सपनाका सिमेण्टका पिलरहरूको पनि ईतिश्री भयो ।
२०७९ माघ २०
बुटवल ।