
माघ १६ , काठमाडौँ
दुई दिने भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् ।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन् ।
उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन् ।
न्युलान्डले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर अपराधलाई रोक्न नयाँ प्रविधिमामा सहयोगलाई आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाइन् ।
उनले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।
न्युल्यान्डले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउने बचन दिइन् ।
उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको विश्वास व्यक्त गरिन् ।
त्यसअवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको पनि अवलोकन गरिन् ।
सोमबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग भेटवार्ता गरेकी थिइन् ।
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।