
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश कमिटीका सेक्रेटरी प्रवेशले एक वक्तव्य जारी गरी पार्टीको प्रदेश सदस्य समेत रहेका पारस नेपालीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गर्नुभएको छ ।
वक्तव्यमा पार्टी हितविपरित कार्य गरेको, लम्पट आर्थिक नीतिमा लागेर अर्थ संकलन गरेको, गैडाको खागतस्करीमा संलग्न भएको, पार्टीको सूचना बाहिर लगेको, सहकर्मीहरुलाई घेराबन्दी गरेकोले पार्टीबाट निस्कासित गरेको उल्लेख गरिएको छ ।
पार्टी सेक्रेटरी प्रवेशले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गैडा खाग तस्करीमा कमरेड पारस पनि जोडिनु भएको सूचनापछि ११ माघमा २४ घण्टे स्पष्टिकरण सोधिएकामा सम्पर्कविहीन हुनु भएकाले सबै जिम्मेवारीबाट मुक्त गरिएको छ ।”
पार्टीस्रोतका अनुसार गैँडा खाग तस्करी काण्डमा पारसका भाइ पुर्पक्षमा छन् र पारसको पनि यो घटनामा संलग्नता रहेको छ । यही काण्डमा जोगिन पारस माओवादी केन्द्रबाट बागमति प्रदेशको मुख्यमन्त्री रहेका शालिकराम जमरकट्टेलकोमा पुगेका पुगेका छन् ।