भूमि अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्न सुकुम्बासीहरुको माग

भूमि अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्न सुकुम्बासीहरुको माग

काठमाडौँ । स्थायी विकल्पबिना उठिबास लगाउन पाइँदैन भन्दै सुकुम्बासीहरु पुनः आन्दोलित भएका छन् । मंसिर १२ को थापाथली प्रतिरोधमा चार जना भूमि अभियन्ताहरुलाई लगाइएको झुटा मुद्दा खारेज नगरेको र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफैले हस्ताक्षर गरेको सम्झौता कार्यान्वन नगरेको भन्दै उनीहरुले ‘न्यायका निम्ति सडक धर्ना कार्यक्रम’ गरेका हुन् ।

माइतीघर मण्डलाबाट निस्केको विरोध ¥याली नयाँ बानेश्वरमा पुगेर सडक प्रदर्शनमा परिणत भएको थियो । सडक प्रदर्शनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीले सहर गरिब सुकुम्बासीहरुको पनि भएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई आफैले गरेको सम्झौता कार्यान्वयन गर्न र भूमि अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्न ध्यानाकर्षण गराए । उनले आज गरेको धर्नालाई सांकेतिक आन्दोलनको संज्ञा दिंदै माग पूरा नभए देशैभरका सुकुम्बासीलाई काठमाडौंको सडकमा उतार्ने चेतावनी पनि दिए ।


भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले देशैभर प्रक्रिया अगाडि बढाइरहेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भदौं ९ मा आयोगसँग कार्य सहमति पत्रमा हस्ताक्षर गरेको भए पनि महानगरले प्रक्रियागत रुपमा समस्याका समाधान गर्ने भन्दा पनि डोजर लगाएर सुकुम्बासीहरुका घर टहराहरु भत्काउने र जबर्जस्त उठिबास लगाउने काम गरेको छ । थापाथलीमा जोडर लगाएर जबर्जस्त उठिबास लगाउन खोज्दा सुकुम्बासीहरुले कडा प्रतिरोध गरेका थिए । सो प्रतिरोधमा काठकाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहित तीन दर्जन घाइते हुन पुगेका थिए ।