काठमाडौं । एकात्मक र केन्द्रिकृत सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाका नाइके पृथ्वीनारायण साहलाई एकताको प्रतीक मान्दै पृथ्वी जयन्ती मनाउने र सार्वजनिक विदा दिने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको घोर प्रतिगामी निर्णयको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)ले आज १२ बजे माइतीघर शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिसावी जनजाति आन्दोलन, महिला, दलित लगायत विगतका विभिन्न कालखण्डमा भएका युद्ध र आन्दोलनमार्फत अभिव्यक्त जनादेशमाथि घोर अपमान, घात गर्दै पृथ्वीजयन्ती मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेपछि त्यो निर्णयलाई प्रतिगामी कदम भन्दै नेकपा (क्रान्तिकारी माओवादी)सहित तीन कम्युनिस्ट पार्टीले कडा विरोध गर्दै वतव्य जारी गरिसकेका छन् ।
२०६३ साल जेठ ४ गते पुनस्र्थापित संसद्द्वारा राजतन्त्रको अन्त्य गर्ने प्रक्रियामा ‘श्री ५ को सरकार’ नलेख्न र तत्कालीन राष्ट्रिय गान ‘श्रीमान्गम्भीर’ हटाउन गरिएको निर्णय र २०६५ साल जेठ १५ गते ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को पहिलो संसद्ले राजतन्त्रको अन्त्य गरी पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका प्रतीक मान्दै पृथ्वीजयन्ती मनाउने निर्णय खारेज गरेको थियो ।
तर प्रचण्ड नेतृत्वको वर्तमान सरकारले उक्त निर्णय उल्ट्याउँदै पुनः पृथ्वीजयन्ती मनाउने निर्णय गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले प्रचण्डको यो कदमलाई ‘वास्तवमा राजतन्त्रलाई पुनस्र्थापना गर्ने प्रतिगामी कदम हो’ भनेका छन् ।
तीन पार्टीले जारी गरेको कडा संघर्षको तयारीका निम्ति जनतालाई आव्हान गर्दै वक्तव्यमा भनिएको छ, “यो नेपाली जनताले विभिन्न ऐतिहासिक जनआन्दोलनहरूमा गरेको बलिदान र रगत–पसिनामाथि खेलबाडबाहेक अरू केही होइन । त्यसकारण हामी यो प्रतिगामी कदमको घोर भत्र्सना गर्दै नेपाली शोषित–उत्पीडित जनतालाई ऐतिहासिक जनसङ्घर्षहरूका उपलब्धिको रक्षा गर्न र त्यसका लागि कडा सङ्घर्षको तयारी गर्न आह्वान गर्दछौँ ।”