काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघले समसामयिक विषयमा पत्रकार सम्मेलनमार्फत् सम्बन्धित निकायलाई ११ बुँदे ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै महासंघले सम्बन्धित निकायलाई ११ बुँदे ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष जितेन्द्र दाहालले बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरी एक अंकमा कामय गर्न, स–साना व्यवसायीहरुलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गर्न, स्वदेशी कच्चा पदार्थहरुको प्रयोग गरी उत्पादन गर्ने उद्योगको विकास निम्ति विशेष पहल गर्न, उत्पादनमूलक उद्योगलाई न्यून व्याजदरमा बैंकहरुले लगानी गर्ने बतावरण बनाउन, व्यवसायमा लगाइँदै आएको दोहोरो कर प्रणाली खारेज गर्न लगायतका विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।
बैंकको चर्को ब्याजका कारण उद्योगी व्यवसायीहरु आफ्नो व्यवसाय अस्तव्यस्त भई आत्महत्या गर्न बाध्य हुनुपर्ने स्थिति पैदा भएको भन्दै पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यमा फ्रान्सेली राज्य क्रान्तिताका प्रचलित ‘पादरी प्रार्थना गर्छ, शासक शासन गर्छ, जनता कर तिर्छ’ भन्ने उखान नेपालको सन्दर्भमा हुबहु चरितार्थ हुन पुगेको उल्लेख गरिएको छ । महासंघका अध्यक्ष जितेन्द्र दाहालले जारी गरेको वक्तव्यमा आर्थिक अवस्था जर्जर भएको र नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रबल खतरा औल्याइएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जितेन्द्र दाहाल, अधिवक्ता फडिन्द्र दाहाल, नेकपा (क्रान्तिकारी माओवादी)का पूर्व केन्द्रीय सदस्य जितेन्द्र सिंह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।