विषय प्रवेश
नेपाल कम्युनिस्ट पार्टी (एमाले) आज दक्षिणपन्थी संशोधनको बाटो हुँदै प्रतिक्रियावादमा पतन भइसकेको पार्टी हो । आज एमाले संसदीय पार्टीहरु मध्ये सबैभन्दा ठूलो पार्टी हो । यद्यपि आज ऊ सरकारको प्रमुख प्रतिपक्षमा रहेको छ ।
यस लेखमा नेकपा (एमाले) को जन्म कसरी भयो ? नेकपा (एमाले) कसरी दक्षिणपन्थी संशोधनको बाटो हुँदै प्रतिक्रियावादमा पतन हुन पुग्यो ? यस पार्टीको भविष्य कस्तो हुनेछ ? एमाले कसरी नव प्रतिक्रियावादमा पतन हुन पुग्यो ? एमाले यस अवस्थामा आउनुमा यसका पछाडि के कस्ता दार्शनिक, सैध्दान्तिक, वैचारिक, राजनीतिक कारण छन् ? आदि विषयमा माक्र्सवादी द्वन्द्ववादका आधारमा दार्शनिक, वैचारिक, सैध्दान्तिक तथा राजनीतिक एवम् व्यवहारिक रुपमा चिरफार गर्ने प्रयत्न गरिनेछ ।
(१) नेकपा (एमाले) का जन्मका आधारहरु
२०२८ सालको झापा विद्रोहको जगमा उभिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) जन्म भएको हो । २०२८ साल जेठ २ गते सशस्त्र झापा विद्रोह विष्फोट भयो । त्यसले दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्षको झण्डा उठायो र सशस्त्र संघर्षको प्रक्रियामा अगाडि बढ्यो । त्यसको नीति एक एरिया , एक युनिट , एक स्क्वाड र एक एक्सनमा आधारित “ वर्गशत्रु खतम लाइन ” आधारित थियो ।
झापा विद्रोहले एकातिर नेपाली कम्युनिस्ट आन्दोलन भित्र मौलाएको दक्षिणपन्थी संशोधनवादलाई नराम्ररी झकझक्यायो भने अर्कोतिर निरंकुश राजतन्त्रको निर्दलीय तथा तानाशाही पञ्चायती व्यवस्थालाई पनि ठूलै धक्का दिन पुग्यो ।
(२) झापा विद्रोहको पृष्ठभूमि
२०१९ सालमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले “राष्ट्रिय प्रजातन्त्र” नामक संशोधनवादी संसदीय कार्यक्रम पारित गर्यो । दरवारपरस्त आरोप लागेका दोस्रो महाधिवेशनबाट निर्वाचित महामन्त्री डा. केशरजंग रायमाझीलाई कार्वाही गरेर निस्कासन गर्यो र तुलसीलाल अमात्यलाई महामन्त्री चुन्यो ।
तेस्रो महाधिवेशपछि पार्टी केन्द्रीय समिति भित्र तीव्र विवाद चर्कदै गए । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी र चीनी कम्युनिस्ट पार्टीभित्र चर्कदै गएका विवादको असर नेपालमा पनि पर्यो ।यसै प्रक्रियामा तुलसीलालको “ कुन बाटो ” र पुष्पलालको “ मूल बाटो ” जस्ता दस्तावेजहरु खुला रुपमा बाहिर आए । पार्टी अस्तव्यस्त र विभाजनको स्थितिमा मात्रै पुगेन । तेस्रो महाधिवेशनबाट निर्वाचित महामन्त्री तुलसीलाल अमात्यले नेतृत्व दिन नसकेपछि २०२२ सालमा नेपाल कम्युनिस्ट पार्टी विभाजन भएर छिन्नभिन्न हुन पुग्यो ।
यसै प्रक्रियामा २०२५ सालमा कमरेड पुष्पलालले भारतको गोरखपुरमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नु भयो । तेस्रो राष्ट्रिय सम्मेलनद्वारा पुष्पलाल समूह अस्तित्वमा आयो । त्यसले नयाँ जनवादी कार्यक्रम अंगीकार गर्यो । साथै त्यसले काँग्रेस कम्युनिस्टहरुबीच एकता कायम गरी निरंकुश पञ्चायती शासनका विरुद्ध संयुक्त संघर्ष गर्ने कार्यनीति पारित गर्यो । त्यस राष्ट्रिय सम्मेलनले कमरेड पुष्पलाललाई महामन्त्री निर्वाचित गर्यो ।
कमरेड पुष्पलालले तेस्रो महाधिवेशन गरेर विभाजित नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्ने प्रयत्न गर्नु भयो । तर त्यो सम्भव भएन । र , कम्युनिस्ट आन्दोलन छरपस्ट अवस्थामै रह्यो । देशव्यापी रुपमा सानातिना कम्युनिस्ट पार्टी समूहहरु निर्माण हुन पुगे ।
यसैबीच तत्कालीन पूर्वकोसी प्रान्तीय कमिटीका मातहत कार्यरत झापा जिल्लाका कम्युनिस्ट क्रान्तिकारीहरुले २०२७ सालको अन्ततिर प्रान्तीय कमिटिबाट अलग हुँदै झापा संघर्षको सृजना गरे । त्यो संघर्ष देशको जनवादी आन्दोलनमा एउटा नौलो घटना थियो र त्यसले देशमा एउटा नयाँ हलचल पनि ल्यायो ।
त्यसपछि तानाशाही तथा फासिस्ट पञ्चायती सत्ताले झापा विद्रोहमा संलग्न झापाली क्रान्तिकारीहरुमाथि भीषण दमनचक्र सञ्चालन गर्यो । उनीहरूका देशव्यापी रुपमा धरपकड र गिरफ्तार गर्ने र जेल चलान गरेर भीषण श्वयत आतंक मच्चाउने काम गर्यो ।
त्यसै प्रक्रियामा २०२९ साल फाल्गुन २१ झापाबाट इलाम जेल सरुवा गर्ने निहुँमा झापा विद्रोहका क्रान्तिकारी योध्दाहरु रामनाथ दाहाल , नारायण श्रेष्ठ , वीरेन राजवंशी , कृष्ण कुइँकेल गरी ५ जनालाई इलामको सुखानीको जंगलमा पुर्याएर पुलिसले गोली ठोकेर निर्मम्तापूर्बक हत्या गर्यो । झापा संघर्षका कमान्डर मोहन चन्द्र अधिकारी, सीपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओली लगायत दर्जनौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर नेपालका विभिन्न जेलहरुमा कोचियो । निरंकुश पञ्चायती सत्ताले झापालीहरुलाई तितरबितर गर्न भीषण दमन चलायो ।
त्यस दमनले देशभर छरिएर रहेका क्रान्तिकारीहरुलाई एकजुट हुने वातावरण बन्दै गयो । पञ्चायती दमन र हत्याले क्रान्तिकारीहरुको अघि बढ्ने गतिलाई रोक्न सकेन । उनीहरू संगठित हुनेदिशामा अगाडि बढे ।देशका विभिन्न भागमा कार्यरत अन्य क्रान्तिकारी कम्युनिस्ट समूहहरु ठिक त्यसै दिशातर्फ अघिबढ्दै गए ।यसैबीच २०३१ मा तत्कालीन “ झापा जिल्ला कमिटी ने. क. पा. ” र “ क्रान्तिकारी कम्युनिस्ट संगठन मोरङ ” ले देशका सबै कम्युनिस्ट क्रान्तिकारीहरुका नाममा राष्ट्रिय स्तरको कोअर्डिनेशन कमिटी बनाएर अघि बढ्न अपिल गरे । त्यो अपिल देशका विभिन्न भागमा फैलिदै गयो र नयाँ स्तरमा एकताको निम्ति आधार तयार हुँदै गयो । त्यही सिलसिलामा २०३२ साल जेठमा पुगेर “ अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (मा. ले.)” को गठन भयो ।
उता २०२८ सालमा मनमोहन अधिकारी सचिव र मोहन विक्रम सिंहसमेत रहेको न्युक्लस नेपाल हुँदै २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनकोबीचबाट ने. क. पा. संयुक्त ( चौम) अगाडि बढ्यो । चौमले देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकारको कार्यनीति पारित गर्यो । कमरेड मोहन विक्रम सिंहलाई महामन्त्री बनायो ।
यसरी नेपाल कम्युनिस्ट पार्टी ( पुष्पलाल ) , नेपाल कम्युनिस्ट पार्टी ( चौम) र अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डनेशन कमिटी ( मा. ल. ) को उदय भयो ।
यी तीन ओटै समूहलाई चीनमा कमरेड माओ त्सेतुङको नेतृत्वमा सञ्चालित महान् सर्वहारा साँस्कृतिक क्रान्तिले वैचारिक उर्जा प्रदान गरेको थियो । सैध्दान्तिक तथा राजनीतिक रुपमा हेर्दा यी तीओटै समूह माक्र्सवाद – लेनिनवाद र माओ विचारधारा , नयाँ जनवादी कार्यक्रम तथा सशस्त्र संघर्ष मान्ने समूह थिए ।
यसै सिलसिलामा २०३४ भदौमा तत्कालीन मुक्तिमोर्चा समूह अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोर्डिनेशन कमिटी ( माले ) भित्र एकताबध्द भयो । त्यसपछि पूर्वको रातो झण्डा र पश्चिमको सन्देश समूहसित पनि एकता कायम भयो ।
यसै सिलसिलामा २०३५ साल पुस ११ गते अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी ( माले ) राष्ट्रिय सम्मेलनको आयोजना गर्यो । उक्त राष्ट्रिय सम्मेलनबाट नेपाल कम्युनिस्ट पार्टी ( माले) को गठन गर्यो र सीपी मैनालीलाई महामन्त्रीमा निर्वाचित गर्यो ।
पुनर्गठित मालेले पनि माक्र्सवाद – लेनिनवाद र माओ विचारधारालाई मार्गदर्शक सिध्दान्त स्वीकार गर्यो । त्यसले पनि सशस्त्र संघर्ष र नयाँ जनवादी कार्यक्रमलाई आफ्नो कार्यक्रम बनायो ।
यस अतिरिक्त पुष्पलाल समूहबाट विभाजित भई मुक्तिमोर्चा समूह , नेमकिपा , सर्वहारावादी श्रमिक संगठन जस्ता उपसमूहहरु बनेका थिए भने रायमाझी समूह , तुलसीलाल अमात्य समूह पनि देखा परेका थिए र २०३५ सालमा कमरेड पुष्पलालको देहान्त पछि नेपाल कम्युनिस्ट पार्टी ( माक्र्सवादी ) समूह पनि अस्तित्वमा आएको थियो ।
(३) नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को सैध्दान्तिक विचलनको शुरुवात
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को एकाएक नव प्रतिक्रियावादमा पतन भएको होइन । कुनै पनि वस्तुको जन्म , विकास र पनतका निश्चित वैज्ञानिक आधार र समयावधि हुन्छ । एमालेको नवप्रतिक्रियावादमा पतन हुनुका पछाडि निश्चित सैध्दान्तिक, वैचारिक र दार्शनिक आधारहरु रहेका छन् ।
माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिध्दान्त हो । माक्र्सवादका तीन संघटक अंग छन् । ती हुन् – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो ।
माक्र्सवादको अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैध्दान्तिक विजयका कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरु माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन् , त्यो बेला संशोधनवादको जन्म हुन्छ ।
माक्र्सवादलाई पुरानो भइसकेको “ जडसूत्रवादी ” सिध्दान्त बताउँदै त्यसको संशोधन र पुनर्विचारको प्रस्थापना पेश गर्ने पहिलो व्यक्ति बर्निस्टािन हो । उसको यो विचारलाई संसारका सबै संशोधनवादीहरुले स्वीकार गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी , उग्रपन्थी एवम् मध्यपन्थी रुपहर देखा पर्दै आएका छन् र तिनीहरू मध्ये दक्षिणपन्थी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतर्नाक रहीआएको छ ।
संशोधनवादको शास्त्रीय संशोधनवाद – आधुनिक संशोधनवाद – प्रतिक्रियावादमा पतन हुन पुगेको छ ।
संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो र यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा भएको हो । हरेक देशमा क्रान्तिका विशेषतासंगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरुलाई जाहेर गर्ने गर्दछ ।
लेनिनले ती तमामखाले संशोधनवादका विरुद्ध दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा भीषण वैचारिक संघर्ष चलाउँदै रुसमा माक्र्सवादको सफल प्रयोग गर्नुका साथै त्यस सिध्दान्तलाई लेनिनवादको नयाँ उँचाई प्रदान गर्नुभएको थियो ।
अब जाऊँ , आधुनिक संशोधनवादको जन्म कसरी भएको होला भनेर । आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः सन १९५६ मा लियोनिद खु्रश्चोभबाट भएको हो । उसले सम्पूर्ण जनताको पार्टी , सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिध्दान्त अबलम्बन गर्दै तथा वर्गसंघर्ष ,सर्वहारा अधिनायकत्व र सशस्त्र संघर्षको विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको पुनःस्थापना गर्यो ।
त्यो बेलासम्म आइपुग्दा कमरेड माओ त्सेतुङले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयं चीन मै जटिल बन्दै गइरहेको पुँजीवादको पुनःस्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्ति जारी राख्ने सिध्दान्त प्रतिपादन गरी महान् सर्वहारा साँस्कृतिक क्रान्तिलाई सञ्चालन गर्नु भएको थियोे ।
चीनको नयाँ जनवादी क्रान्तिकालदेखि महान् सर्वहारा साँस्कृतिक क्रान्तिसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यी तीनओटै क्षेत्रमा माक्र्सवाद लेनिनवादको तेस्रो गुणात्मक र नयाँ शिखरका रुपमा माओवादको विकास भएको थियो ।
रुस , चीनमा भएको प्रतिक्रान्ति पश्चात् विश्वका सबै समाजवादी मुलुकहरुमा प्रतिक्रान्ति भयो । सन १९८४ मा विश्व भरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम ) गठन गरेर अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माण गरेका थिए र संसारका सबै माओवादी कम्युनिस्ट पार्टीहरु रिममा आबद्ध भएका थिए । परन्तु आज रिमको पनि विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को पहलमा विश्व भरका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीचमा नयाँ स्तरमै क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्र निर्माण गर्ने पहल भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद–लेनिनवाद – माओवाद र संशोधनवादको भीषण द्वन्द्व (वैचारिक संघर्ष) को बीचबाट गुज्रदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका , जीत र हारका अनेकौं घटनाहरु घटिसकेका छन् ।
यसै सिलसिलामा संशोधनवादीहरु बर्नस्टिन , काउतस्की र ख्रुश्चोभभन्दा पनि अझै तल गिरेर ( नेपालका एमाले, माके, एस समाजवादी जस्ता नामधारी कम्युनिस्ट पार्टी ) ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई प्रजातन्त्र, पुँजीवादी संसद आदर्श मान्दै यूरो कम्युनिज्मको पतीत सिध्दान्तसम्म अंगाल्न पुगेका छैनन् कि आजको नेपालमा प्रयोगमा ल्याइएको र संसारमै सढेगलेको संसदीय व्यवस्थालाई संसारकै उत्कृष्ट व्यवस्था भन्दै आएका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवाद बीचको यो भीषण लडाइँ आज आएर एकातिर माक्र्सवाद – लेनिनवाद – माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद – आधुनिक संशोधनवाद – प्रतिक्रियावाद बीचको लडाइँमा अभिव्यक्त हुन पुगेको छ । आज आएर यो लडाइँ माक्र्सवाद र संशोधनवाद बीचको मात्र लडाइँ नभएर।माक्र्सवाद र नवप्रतिक्रियावाद बीचको लडाइँमा बदलिन पुगेको छ ।
एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको माक्र्सवाद र संशोधनवाद बीचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवं शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावाद बीचको लडाइँमा रुपान्तरणको द्योतक पनि हो भनेर बुझ्न सकिन्छ ।
आजको साम्राज्यवाद र सर्वहारा क्रान्ति बीचको भीषण संघर्षको युगको नयाँ तरिकाका रुपमा पनि बुझ्न सक्दछौं र आज यसलाई संशोधनवादको प्रतिक्रियावादमा रुपान्तरण भएर क्रान्तिकारीहरुमाथि भीषण फासीवाद चलाउँदै आएको अवस्थाको रुपमा बुझ्न सक्दछौं ।
यसरी आज संशोधनवादीहरु (नेपालको हकमा एमाले , माके , एस समाजवादीहरु) पुरै प्रतिगामी बनेर खु्रश्चोभका चेला बनेर नक्कली कम्युनिस्ट भएको नाटक मञ्चन गरिरहेका छन् ।
यस कुरालाई ठिक नेपाली सन्दर्भमा भन्नु पर्दा एकातिर माक्र्सवाद – लेनिनवाद – माओवादको प्रतिनिधित्व गर्ने क्रान्तिकारी धारा जसको प्रतिनिधित्वि नेकपा (क्रान्तिकारी माओवादी) ले गरिरहेको छ र अर्कोतिर संशोधनवादको खु्रश्चोभपन्थी मिलेराँवादमा गिरेको प्रतिग – प्रतिक्रियावादी धाराको रुपमा अभिव्यक्त हुन पुगेको छ, जसको प्रतिनिधित्व एमाले, माके आदिले गर्दै आएका छन् ।
आज नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी परम्परा र त्यसको शिक्षाको सारलाई आत्मसात गर्दै माक्र्सवाद – लेनिनवा – माओवादलाई पथप्रदर्शक सिध्दान्त मान्दै तथा तमाम प्रकारका संशोधनवाद , सुधारवाद – प्रतिक्रियावादका विरुद्ध भीषण संघर्ष गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि सशस्त्र जनविद्रोहको महान् ऐतिहासिक प्रक्रियामा अगाडि बढिरहेको छ भने मूलतः एमाले प्रतिगामी डफ्फा लासालवाददेखि शास्त्रीय संशोधनवाद र आधुनिक संशोधनवादसम्मका सारा विकृतिहरुलाई अंगाल्दै तथा नवप्रतिक्रियावादमा गिर्दै महान् नेपाली नयाँ जनवादी क्रान्तिका विरुद्ध नीचतापूर्वक फासीवादी दमनमा उत्रदै आएको छ ।
माक्र्सवाद र संशोधनवाद बीचको लामो जीवन मरणको ऐतिहासिक वैचारिक लडाइँको सारतत्व संक्षेपमा यही नै हो र यसलाई ठिकसित बुझेर मात्रै हामी माओवादी क्रान्तिकारीहरुले तमाम प्रकारका नयाँ चुनौतीहरुको सामना गर्दै महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने नयाँ जिम्मेवारीलाई नयाँ ढंगले पुरा गर्न सक्ने छौं । महान् वैज्ञानिक समाजवादमा प्रवेश गर्ने बाटो तय गर्न सफल हुनेछौं ।
एमालेको नवप्रतिक्रियावादमा पतन
२०४६ साल भदौ ९ – १४ मा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी ( मा.ले.) को चौथो राष्ट्रिय महाधिवेशनमा “प्रथम सम्मेलनको कार्यदिशा” शीर्षकमा अगाडि भनिएको छ, “माक्र्सवाद – लेनिनवादबाट निर्देशित हुँदै पार्टीले त्यसबेलासम्मको विचारधारात्मक संघर्षका अनुभवहरुलाई संगठित गर्यो र नेपाली समाज अझै पनि अर्धसामन्ति र अर्धउपनिवशी अवस्थामा रहेको पुनर्पुष्टि गर्यो । त्यस स्थितिलाई फेर्न नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि नै अघि सार्दै आएको नयाँ जनवादको लक्ष्यलाई नै आफ्नो न्यूनतम लक्ष्य घोषित गर्यो । वर्तमान नेपाली समाज सामन्तवाद , दलाल – नोकरशाही पुँजीवाद , साम्राज्यवाद र विस्तारवादसंग जनता र राष्ट्रका आधारभूत अन्तर्विरोधहरु रहेको , तिनीहरूमध्ये सामन्तवाद र दलाल – नोकरशाही पुँजीवादसंग व्यापक जनसमुदायको अन्तर्विरोध नै प्रधान अन्तविरोधका रुपमा रहेको र निरंकुश राजतन्त्र तथा उसको निर्दलीय पञ्चायती तानाशाही नै क्रान्तिको वर्तमान अवस्थामा आम जनता र सिंगो राष्ट्रको प्रधान शत्रुको रुपमा रहेको कुरालाई स्पष्टरुपमा अघि सार्यो । सम्मेलनले नेपाली समाजमा रहेका विभिन्न वर्गहरु – मध्ये क्रान्तिको नेतृत्वदायी वर्ग , मुख्य शक्ति र सहायक शक्तिकाबारेमा पनि सही नीति अघि सार्यो । ” – राजनीतिक प्रतिवेदन , चौथो राष्ट्रिय महाधिवेशन , केन्द्रीय कमिटी , नेपाल कम्युनिस्ट पार्टी ( मा. ले.) २०४६ , १९८९ , पेज ५७ ।
एमालेको सैध्दान्तिक पतनको सिलसिलाको सुरुवात :
नेकपा ( एमाले ) को उदय ऐतिहासिक झापा संघर्ष , कोअर्डिनेशन कमिटी को. के . ( माले ) र नेकपा ( माले ) को जगमा टेकेर भएको हो । तत्कालीन नेकपा ( माले) ले स्थापना गर्दा नेपाली समाजमाको वर्तमान वर्ग विश्लेषण , प्रधान तथा आधारभूत अन्तर्विरोध , शत्रु तथा मित्र शक्तिहरुको किटान र नेपाली क्रान्तिको कार्यक्रम “नयाँ जनवाद” ठोस गरेर ठिकै गरेको थियो ।
(१) सशस्त्र वर्गसंघर्षको लाइन परित्याग
ऐतिहासिक झापा विद्रोहको जगमा टेकेर निर्माण गरिएको तत्कालीन नेकपा ( माले ) ३०३७ सालमा पुगेर सशस्त्र वर्गसंघर्षको नीतिलाई हटायो । नेपाल कम्युनिस्ट पार्टी ( माले ) को २०४६ साल भदौ ९ – १४ मा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनद्वारा राजनीतिक दस्तावेजमा लेखिएको छ ,
“ २०३७ को केन्द्रीय कमिटीको सातौं बैठक आयोजित भयो । त्यसले तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा आएका परिवर्तनको विश्लेषण गर्नुका साथै त्यस बेलासम्म पार्टीले आफ्नो व्यवहारमा प्राप्त अनुभवहरुलाई पनि संगठित गर्यो ।
त्यस बेलामा जबर्जस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ भन्ने आफ्नो विश्लेषण र शुरुदेखि नै लिएको सशस्त्र संघर्षको कार्यनीतिलाई हटायो र मुलुकमा वस्तुगत रुपले क्रान्तिकारी परिस्थितिलाई परिपक्व रहेको भए पनि त्यसका निम्ति आत्मगत शक्ति कम्जोर रहेकोले त्यसको निर्माण र विकासलाई नै केन्द्रविन्दु बनाउनुपर्छ भन्ने विश्लेषण अगाडि सार्यो ।” – राजनीतिक प्रतिवेदन , चौथो राष्ट्रिय महाधिवेशन , नेपाल कम्युनिस्ट पार्टी ( मा. ले.) २०४६ , १९८९ , पेज ५९ ।
(२) हतियार नष्ट गर्ने निर्णय
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मा. ले.) ले २०३७ सालमा “ झापा विद्रोहमा प्रयोग गरिएका हातहतियारहरु कोसी नदीमा बगाई दिने ” निर्णय गर्यो र देशभरि रहेका झापा विद्रोहमा प्रयोग गरेका हातहतियारहरु नष्ट गर्न देशव्यापी रुपमा अभियान चलायो ।
(३) ऐतिहासिक झापा विद्रोहलाई “उग्रवामपन्थी गलती” भएको ठहर
तर नेपाल कम्युनिस्ट पार्टी (माले) ऐतिहासिक झापा विद्रोहको समिक्षा गर्ने क्रममा उसले झापा विद्रोहलाई “उग्रवामपन्थी भड्काउ” भएको भनेर संश्लेषण गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी
(माले) को २०४६ भदौ ९ – १४ मा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदनमा अगाडि भनिएको छ , “सातौ केन्द्रीय कमिटीको बैठकले उग्रवामपन्थी गलतीहरुलाई सुधार गरेको थियो र सिंगो पार्टीलाई नयाँ ढंगले व्यवस्थित पार्नु जरुरी थियो ।” – राजनीतिक प्रतिवेदन , चौथो राष्ट्रिय महाधिवेशन , केन्द्रीय कमिटी नेपाल कम्युनिस्ट पार्टी (मा.ले.) २०४६ , १९८९ , पेज ६२ ।
(४) चिनी प्रतिक्रान्तिको समर्थन
सन २०७६ सेप्टेम्बर ९ दिन कमरेड माओको निधन भयो । त्यसको ठिक एक महिना पश्चात तेङ गुटले चीनमा प्रतिक्रान्ति गरेको थियो । त्यसको समिक्षा गर्ने क्रममा २०३८ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौम) चीनमा भएको प्रतिक्रान्तिको विरोध गर्यो तर मालेले भने त्यसको समर्थन गरेको थियो ।
(५) महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको विरोध
तत्कालीन मालेले त पहिले माओ त्सेतुङ विचारधारा त मान्दै आएको थियो तर उसले महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिलाई छोडेर । यसको अर्थ थियो , सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्ति जारी राख्ने सिध्दान्तको विरोध गर्नु रहेको थियो, त्यो मालेको गंभीर सैध्दान्तक भड्काउको परिणाम थियो । पछि त्यो व्यवहारमै पुष्टि भयो ।
(६) आधुनिक संशोधनवादको समर्थन
सन १९७६ सेप्टेम्बर ९ मा कमरेड माओको मृत्युपश्चात चीनमा प्रतिक्रान्ति भयो । २०३८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौम) ले चीन, रुस लगायत पूर्वी युरोपका देशहरूमा प्रतिक्रान्ति भई ती देशहरूमा पुँजीवादको पुनःस्थापना भएको निष्कर्ष निकाल्यो । तर तत्कालीन नेकपा (माले) ले भने चीनमा प्रतिक्रान्ति नभएको र त्यहाँ समाजवाद नै भएको निष्कर्ष निकाल्यो । त्यसपछि विश्व कम्युनिस्ट आन्दोलनको मूल्यांकन गर्ने क्रममा वैचारिक विभेद उत्पन्न भयो ।
यस विषयमा नेकपा (माले) को २०४६ भदौ ९ – १४ मा सम्पन्न चौथो महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजमा भनिएको छ , “केन्द्रीय कमिटीको सातौं बैठकदेखि नै पार्टीले चीन र अन्य विभिन्न समाजवादी मुलुकहरुलाई हेर्ने सवालमा जडसूत्रवादी धारणाका विरुद्ध संघर्ष गर्दै आएको थियो तर सोभियत संघ र पूर्वी युरोपेली समाजवादी मुलुकहरुका बारेमा पहिलेका उग्र वाम धारणाहरु रहिरहेकै थिए । तिनीहरूका बारेमा पनि पार्टी भित्र करी२०३८ सालदेखि विवादहरु चल्न थाल्यो र त्यो विवाद गहिरिँदै गयो । आखिर केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठक (२०४५ फागुन) मा आएपछि पार्टी सोभियत संघ र पूर्वी युरोपेली मुलुकहरु सहित १५ वटा मुलुकहरु आधारभूत रुपमा समाजवादी नै हुन् भन्ने नयाँ निष्कर्षमा पुग्यो ।” – राजनीतिक प्रतिवेदन ,चौथो राष्ट्रिय महाधिवेशन , नेपाल कम्युनिस्ट पार्टी (मा. ले.) २०४६ , १९८९ , पेज ६४ ।
यसबाट प्रष्ट भएको थियोे कि मालेले आधुनिक संशोधनवादको खुलेआम समर्थन गरेको थियो ।
(७) माओ त्सेतुङ विचारधाराको परित्याग
स्थापना कालदेखि अंगीकार गर्दै आएको पार्टीको मार्गदर्शक सिध्दान्त माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ विचारधारा भएकोमा २०४४ सालमा तत्कालीन नेकपा ( माले ) ले मार्गदर्शक सिध्दान्तबाट “ माओ त्सेतुङ विचारधारा ” हटायो र माक्र्सवाद – लेनिनवाद मात्र राख्ने र माओ त्सेतुङ विचारधारालाई शिक्षाको रुपमा लिने निर्णय गर्यो ।
(८) निसर्त पञ्चायती निर्वाचन स्वीकार
तत्कालीन नेकपा (माले) ३०४३ सालका राष्ट्रिय पञ्चायतको निर्वाचनमा निसर्त रुपमा भाग लिने निर्णय ग¥यो र देशव्यापी रुपमा जनपक्षीय उमेदवार उठायो । पद्मरत्न तुलाधर , सोमनाथ प्यासी, जागृत भेटवाल, द्रोर्णाचार्यले राष्ट्रिय पञ्चायतको उक्त निर्वाचनमा विजय हासिल गरेका थिए ।
त्यसतै मालेले २०४४ सालमा निसर्तरुपमा जिल्ला, नगर, गाउँ र वडातहसम्म र पञ्चायती वर्गीय संगठनहरुको निर्वाचनमा भाग लियो ।
(९) बहुदलवादलाई अंगीकार
२०४६ भदौ ९ – १४ मा सम्पन्न नेकपा ( माले ) को चौथो राष्ट्रिय महाधिवेशनकाट उसले पार्टीको स्थापना कालदेखि राख्दै आएको नेपाली क्रान्तिको कार्यक्रम “ नौलो जनवाद ” , “ बहुदलीयता ” नामक शब्दावली थपेर उसले दार्शनिक रुपमा नेपाली कम्युनिस्ट आन्दोलन भित्र “ बहुलवाद ” लाई भित्र्याएर पार्टीलाई संसदीय बाटोमा धकेल्ने नीति पारित गर्यो । किनकि संसदीय बहुदलिय व्यवस्थाको दार्शनिक आधार “ बहुलवाद ” हो ।
(१०) प्रतिक्रियावादीसंग साँठगाँठ ( २०४६ सालको जनआन्दोलनमा नेकाको पुच्छर बनेको )
३०४६ सालको पञ्चायती विरोधी संयुक्त जनआन्दोलनमा तत्कालीन नेकपा (मशाल) , (मसाल), सर्वहारावादी श्रमिक संगठन लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहलाई पन्छ्याएर अन्य वामपन्थी पार्टीहरुसित संयुक्त मोर्चा बनाएर नेपाली काँग्रेसको पुच्छर बनेर नेपाली काँग्रेससंग संयुक्त जनआन्दोलनमा सहभागी भएको र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई विश्वास गरेको थिएन ।
(११) प्रतिक्रियावादी सरकारमा सामेल
२०४६ सालको जनआन्दोलन पश्चात् नेपाली काँग्रेसको प्रतिक्रियावादी सरकारमा सामेल भएर २०४७ सालको पश्चगामी र प्रतिक्रियावादी संविधान बनाउन मतियारको कार्य गरेको थियो ।
(१२) प्रतिक्रियावादी संविधानको निर्माण
मालेले जुन राजतन्त्रातणमक संसदीय बहुदलिय व्यवस्थाका रुपमा स्वीकार गरी प्रतिक्रियावादी संविधान बनाउने काममा जुन निकृष्ट भूमिका खेलेको थियो , त्यो अत्यन्तै प्रतिगामी कदम थियो । त्यस कदमले एमालेलाई प्रतिक्रियावादी वर्ग र त्यसको राजनीतिक व्यवस्थाको एक बफादार चाकरको रुपमा परिणत गरिदियो ।
(१३) पश्चगामी – प्रतिक्रियावादी संविधान स्वीकार
२०४६ सालको राजनीतिक परविर्तन पछि २०४७ सालमा पश्चगामी “ नेपालको संविधान २०४७” जारी गर्ने क्रममा तत्कालीन नेकपा ( माले ) ले २७ बुँदे फरक मत दर्ज गरेको नौटंकी नाटक मञ्चन गरेर उक्त पश्चगामी संविधानलाई समर्थन गरेको थियोे ।
(१४) मालेको एमालेमा रुपान्तरण – कथित पार्टी एकता
२०४७ सम्म आइपुग्दा संशोधनवाद र सुधारवादको चरम स्थितिमा पुगे पछि र प्रतिगामी सिध्दान्त अंगालेपछि मालेका लागि “ठूलो पार्टी” बनाई संसदमा बहुमत ल्याउन र प्रतिगामी सरकार बनाउन नै सबथोक हुन गएपछि त्यसले धेरै पहिलेदेखि नै अनेकौं विजातीय ग्रुपहरुलाई समेट्दै तथा क्रान्तिकारीहरुलाई पाखा लगाउँदै आएको थियो विशेषतः बहुदलीय व्यवस्थाको पुनःस्थापनाको क्रमसंगै विगतका भ्रष्ट पञ्चहरु , गलत तत्वहरु , र विकृत अवसरवादीहरुलाई बटुल्ने कामलाई तीव्रता पार्दै लगेको थियोे । यसैक्रममा मालेले पाएसम्म अवसरवादी – सुधारवादी गुटलाई पार्टी भित्र हुल्न जरुरी ठान्यो र त्यसै अनुरुप कथित पार्टी एकता गरियो । यसै सिलसिलामा भएको त्यसको पाँचौं महाधिवेशनले उक्त गठजोडलाई “एमाले” को लेवुल लगाइदियो र त्यसले जनताको बहुदलीय जनवाद संशोधनवादी तकार्यदिशा, कार्यक्रम र सिध्दान्तमाथि छाप लगाउने काम गरेको थियो ।
२०४७ साल पुस २२ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) का बीचमा पार्टी एकता सम्पन्न भयो र एकीकृत पार्टीको नाम “नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी – लेनिनवादी) राखियो । पार्टीको मार्गदर्शक सिध्दान्त माक्र्सवाद – लेनिनवाद नै राखियो भने नेपाली क्रान्तिको कार्यक्रम “जनवाद” राखियो ।
तत्कालीन माक्र्सवादीका अध्यक्ष मनमोहन अधिकारीलाई पार्टीको अध्यक्ष बनाइयो भने तत्कालीन मालेका महासचिव मदनकुमार भण्डारीलाई महासचिवमा राखियो । यस पार्टी एकताले कुनै नयाँ क्रान्तिकारी नीति , कार्यक्रम अगाडि सारेन । पहिलेकैलाई निरन्तरता दिइयो ।
(१५) बुर्जुवा संसदवादी “ जनताको बहुदलिय जनवाद ” पारित
२०४६ साल भदौ ९ – १४ मा सम्पन्न मालेको चौथो राष्ट्रिय महाधिवेशनमा “बहुदलीयता” को अवधारणा ल्याइयो र २०४९ साल माघ १४ – २० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा त्यसलाई “ जनताको बहुदलीय जनवाद ” का रुपमा पारित गरियो ।
एमालेले आफ्नो छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्दैै आएको छ ।
एमालेद्वारा यसप्रकारको अवधारणा किन ल्याइयो ? यसका विशेषताहरु के के हुन् र यसको असली सारतत्व के हो ? यी कुराहरुलाई सही ढंगले बुझ्न आवश्यक छ ।
“जनताको बहुदलिय जनवाद” अवधारणा किन ल्याइयो ? भन्ने बारेमा तत्कालीन एमालेका महासचिव मदन भण्डारीले भनेका छन् , “ विभिन्न मुलुकहरुमा गरिएका माक्र्सवादी सिध्दान्तको प्रयोगको अनुभवले माक्र्सवादको पुनर्व्याख्यार पुनर्परिभाषा गर्न जरुरी भएको छ । ” – राजनीतिक प्रतिवेदन , पाँचौं राष्ट्रिय महाधिवेशन , २०४९ माघ १४ – २० , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत माक्र्सवादी – लेनिनवादी ) पृष्ठ १२ ।
मदन भण्डारीले अगाडि भनेका छन् , “ सोभियत संघ तथा पूर्वी युरोपमा सोभियत ढाँचाका त्रुटिहरुलाई सच्याउन पूर्वसचेतनता अप्नाउने काम पनि गरिएन र समाजवादी मुलुकलाई पनि लाभदायक हुने पुँजीवादी व्यवस्थाका केही तत्वहरुलाई प्रयोग गर्ने प्रयास पनि गरिएन ।” यसरी सोभियत ढाँचाको मुख्य त्रुटि के थियो र समाजवादी मुलुकलाई लाभदायक हुने त्यस्तो पुँजीवादी व्यवस्थाको मूल तत्व के थियो भन्ने बारेमा मदन भण्डारीले भनेका छन् , “ सोभियत ढाँचाको ” एकदलीय अधिनायकवादी “ त्रुटिलाई सच्याउन र समाजवादी मुलुकका लागि लाभदायक हुने पुँजीवादी व्यवस्थाको तत्व ” बहुदलीय प्रतिष्पद्धा “ थप्न जरुरी देखियो ।” – मदन भण्डारी – संकलित रचनाहरु भाग १ , पृष्ठ १७७ ।
मदन भण्डारी र एमालेका नेताहरु भन्ने गरेका यी भनाइहरुबाट बहुदलीय जनवाद पुँजीवादी संसदीय प्रणाली भएको , त्यसलाई माक्र्स , एंगेल्स , लेनिन , स्टालिन एवं माओबाट इन्कार गरिँदै आएको र त्यसैलाई एमालेले माक्र्सवाद – लेनिनवादसम्मत भनी भ्रष्टीकरण गरेको कुरा प्रष्टै बुझ्न सकिन्छ ।
एमालेहरुले बहुदलीय जनवादलाई पार्टीको कार्यक्रम , कार्यदिशा र सिध्दान्त दुबै भएको बताउँदै आएका छन् । र , यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको प्रजातान्त्रिकीकरणको सिध्दान्त र बहुलवादी नयाँ सिध्दान्त मान्दै आएका छन् ।
एमालेको पाँचौं महाधिवेशनको दस्तावेजमा उल्लेख भएअनुसार जनताको बहुदलीय जनवाद अन्तर्गत “संविधानको सर्वोच्चता, बहुदलीय खुला समाज, शक्तिपृथकीकरणको सिध्दान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पुँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति” – नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद , के का. नेकपा ( एमाले) पृष्ठ २६ ÷ २२ । जस्ता थप विशेषताहरु सम्मिलित रहेका छन् । सारमा यिनै थप विशेषताहरु अर्थात् पुँजीवादी संसदीय प्रजातान्त्रिक व्यवस्थाका विशेषतहरु नै एमालेको जनताको बहुदलीय जनवादका भित्री गुदी बन्न गएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को पाँचौं राष्ट्रिय महाधिवेशन २०४९ माघ १४ – १८ मा आयोजना गरियो । त्यस महाधिवेशनले तत्कालीन महासचिव मदनकुमार भण्डारीद्वारा प्रस्तुत गरिएको दार्शनिक रुपमा बहुलवादमा आधारित बुर्जुवा संसदवादी “जनताको बहुदलीय जनवाद” नामक राजनीतिक प्रस्ताव बहुमतले पारित भयो ।
(१६) विकृति र विसंगति भित्र्यायो
नेकपा ( एमाले ) ले २०४८ सालको संसदीय निर्वाचन र २०४९ स्थानीय निकायको निर्वाचन भाग लियो । त्यसपछि उसले संसदीय सुकसुबिधा कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा थाह पायो ।
२०५१ सालको संसदको मध्याबधि निर्वाचनबाट सबैभन्दा ठूलो दलको नाताले नौ महिने सरकार चलायो र त्यसपछि कहिले राप्रपा र कहिले नेपाली काँग्रेससंग मिसिएर सरकारमा गयो । त्यसपछि उसले देशभित्र व्यापक रुपमा विकृति र विसंगति फैलाउने कामलाई तीव्रता दियो ।
(क) नेपाली कम्युनिस्ट आन्दोलनभित्र पजेरो–प्राडो संस्कृति भित्र्यायो
२०५२ साल भदौमा सरकारबाट बाहिर निकालेर देशीविदेशी शक्तिहरुलाई खुसी तुल्याएर उनीहरू कै नियन्त्रणमा राख्नका लागि एमालेलाई विविध प्रकारका आर्थिक तथा अन्य लोभ– प्रलोभन देखाउने क्रममा भारी भन्सार छुटमा एमालेका नेता – सांसदहरुलाई पजेरो र प्राडो गाडी खरिदबिक्री गर्ने अधिकार दियो । एमालेहरुले नेपाली काँग्रेस र पूर्व पञ्चहरुलाई उछिन्दै महंगा महंगा पजेरो प्राडो गाडी खरिद गर्ने र महंगोमा विक्री गर्ने छुट दियो र उनीहरूले आफू मात्र चढ्ने नभएर व्यापार समेत गरेर नेपालमा पहिलोपटक एमालेले पजेरो प्राडो संस्कृति भित्र्याएर नेपाली कम्युनिस्ट आन्दोलनमा पहिलो पटक पजेरो–प्राडो संस्कृति भित्र्यायो ।
(ख) महल संस्कृति भित्र्यायो
२०४८ सालदेखि एमाले संसदीय व्यवस्थामा पूर्णरूपमा प्रवेश गरेर २०४८ सालको संसदीय निर्वाचन र २०५९ को स्थानीय निकायको निर्वाचनमा भाग लिएर पुरै संसदीय व्यवस्थामा चुर्लुम्ब डुबेपछि शहरीकरणमा रमाउने क्रममा काठमाडौं उपत्यकामा एमालेका नेताहरुले काँग्रेस र पुर्व पञ्चहरुलाई माथमार्दै आलिसान महल बनाउने प्रतिष्पर्धा चलायो । एमालेका नेताहरु , सांसदहरूले काठमाडौं उपत्यकामा सैयौंको संख्यामा आलिशान महल ठड्याएर महल संस्कृति भित्र्यायो ।
(१७) निजी स्कुल – कलेज र निजी स्वास्थ्यमा लगानी र माफियाकरण
एमालेले देशव्यापी रुपमा आफ्ना नेता – कार्यकर्ताहरुलाई निजी स्कुल – कलेज र निजी स्वास्थ्यमा लगानी गर्न सञ्चालन गर्न लगायो । निजी स्कुल – कलेजमा लगानी नगरेको व्यक्ति पार्टी सदस्य बन्न योग्य नबन्ने सम्म बनाउँदै ल्याएको छ । आज एमालेका कार्यकर्ताहरुले देशव्यापी रुपमा निजी स्कुलहरु सञ्चालन गर्दै आएका छन् र त्यसका हरेक नेताहरुले त्यसमा ठूलो आर्थिक लगानी गरिरहेका छन् । त्यति मात्र होइन , शिक्षामा व्यापारिककरण र माफियाकरण गर्ने काममा एमाले नै अग्रपंक्तिमा रहेको छ ।
त्यस्तै एमालेले पुष्पलाल , मनमोहन अधिकारी आदि नेताहरुका नाममा निजी अस्पताल ( मनमोहन अस्पताल ) र फार्मेसी रहरुमा नेता , कार्यकर्ताहरुले ठूलो धनराशि लगानी गरेर स्वास्थ्य क्षेत्रमा विकृति र विसंगति फैफाउँदै आएका छन् ।
एमालेका नेता – कार्यकर्ताहरुले काठमाडौं उपत्यका लगायत देशैभरी , निजी वाणिज्य बैंकहरु र सहकारी बैंकहरु चलाउँदै आएका छन् र जनताबाट चर्को व्याज असुलेर नवधनाढ्य बनिरहेका छन् ।
(१८) नेताहरुलाई कमाई खाने भाँडो बनाइयो
एमालेले पार्टी संस्थापक महासचिव कमरेड पुष्पलाल र आफ्ना दिवंगत नेताहरु मनमोहन अधिकारी, मदनकुमार भण्डारी, तुलसी लाल अमात्य लगायतका नाममा स्मृति प्रतिष्ठान तथा फाउन्डेसन सञ्चालन गरेर ती मार्फत स्कुल (मदन भण्डारी फाउन्डेसन) र अस्पताल (मनमोहन अस्पताल) आदि खोल्ने, त्यसमा नेता कार्यकर्ताहरुले ठूलो लगानी गर्ने र मुनाफा बाँडफाँड गरेर खाने गर्दै आएका छन् र आफ्ना नेताहरुलाई कमाई खाने भाँडो बनाउँदै आएका छन् । एमालेको यस कार्यले नेपाली कम्युनिस्ट आन्दोलनलाई ज्यादै बदनाम बनाउँदै ल्याइएको छ ।
(१९) निजी वाणिज्य बैंक र सहकारी बैंकहरु सञ्चालन
एमालेले आफ्ना नेता कार्यकर्ताहरुलाई निजी वाणिज्य बैंकहरु र सहकारी बैंकहरु खोल्न लगाउने र ती बैकहरुमा शेयर लगानी गर्ने र बोनस बाँढेर खाने गर्दै आएको छ ।
(२०) महाकाली सन्धिको योजनाकार र पारित
महाकाली सन्धि पारित गर्न मुख्य योजनाकार बन्यो । नेपाली काँग्रेस टनकपुर सन्धिमा फसेको थियो , एमालेले यस सन्धिमा नेपाली काँग्रेसलाई चोख्याउने मात्र होइन स्वयं त्यसभन्दा अझै अगाडि बढेर भारतीय विस्तारवादभक्त बन्नका लागि त्यसले राष्ट्रघाति सन्धिको योजना बनायो र त्यसलाई संसदबाट पास गराई छाड्यो । यो एमालेको राष्ट्रघाति तथा राष्ट्रिय गध्दारीको अत्यन्तै नीचतापूर्ण प्रतिगामी कदम थियो र त्यसले एमालेको निधारमा राष्ट्रघातको कलंकको कहिल्यै नमेटिने मालो टिका लगाई दियो ।
(२१) माओवादी जनयुद्ध प्रति प्रतिकार र आम दमन
२०५२ साल फागुन १ गतेदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सशस्त्र जनयुद्धको थालनी गर्यो । माओवादीको कदमलाई एमालेले डाह गर्न थाल्यो र त्यसपछि उसले माओवादी जनयुद्धको प्रति विविध प्रकारको लान्छना लगाउने , गिंज्याउने , होच्याउने जस्ता घृणित कार्य गर्न थाल्यो ।
एमाले माओवादी जनयुद्धलाई काँग्रेसको सरकारले प्रशासनिक दमनद्वारा सिध्याएको देख्न चाहन्थ्यो । तर उसले सोचे जस्तो काँग्रेसले गर्न सकेन ।
२०५४ सालमा एमाले राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा चमाले सरकारमा सामेल भयो । त्यही मौकामा पारेर एमालेले माओवादीहरुलाई सरकाररी दमनद्वारा समाप्त पार्ने उद्श्येले “ कथित आतंकवादी विरोधी विधेयक” पारि गराउन निकृष्ट भूमिका खेलेर अति निर्लज्ज एवं निन्दनीय काम समेत गरेको थियो । एमालेले तत्कालीन जनयुद्धका विरुद्ध दमनका अनेकौं गतिविधि सञ्चालन गर्न काँग्रेस सरकारको मतियारको भूमिका खेलेको थियोे ।
२०५८ साल मंसिर ११ गतेदेखि तत्कालीन नेपाली काँग्रेसक देउवा सरकारले माओवादी जनयुद्धका विरुद्ध देशव्यापी रुपमा शाही नेपाली सेना परिचालन गरेर भीषण दमन ( श्वयत आतंक ) चलायो । त्यसको एमाले खुलेर समर्थन गर्यो । उक्ति सैनिक दमनले करीब १० हजार नेपाली नागरिकहरुको हत्या गरियो भने हजारौंको संख्यामा राज्यद्वारा ज्यान विपत्ता पारियो र हजारौंको संख्यामा घाइते अपांग बनाइयो ।
(२२) २०७० को पश्चगामी तथा प्रतिक्रियावादी संविधान निर्माणमा प्रमुख भूमिका
एमालेले २०७० को पश्चगामी , प्रतिक्रियावादी कालो संविधान निर्माण गर्न ठूलो भूमिका निर्वाह गरेको थियो ।
२०७२ साल असोज ३ गते उक्त कालो संविधान जारी भए पछि “ संसार कै उत्मृष्ट ” संविधान भनेको थियो । त्यही प्रतिक्रियावादी संविधानलाई टेकेर पटकपटक सरकारमा गएर एमालेलेको सरकारले घोर तानाशाही तथा फासीवादी शासन मात्र गरेन , संविधानमाथि नै अतिक्रमण गर्ने काम गर्दै आएको छ ।
(२३) भ्रष्टाचारको प्रमुख वाहक
एमालेको अर्को नाम – “भ्रष्टाचारी” हो । किन यसो भन्ने गरिन्छ भने एमालेले सरकारमा गएको बेला सबैभन्दा बढी भ्रष्टाचार गर्यो। २०५१ सालमा प्रतिक्रियावादी सरकारमा गयो त्यसबेला देखि पटकपटक काँग्रेस , राप्रपा , माओवादीसित सरकारमा टाँसिएको बेला होस् वा माधवकुमार नेपाल , झलनाथ खनाल र।केपी ओली प्रधानमन्त्री भएको मौका नेपालमा राजा , पञ्च र काँग्रेसहरुलाई पनि उछिनेर खरबौंको भ्रष्टाचार गर्यो ।
चाइना साउथ एयर काण्ड , चाइना चेज एयर काण्ड , वाइडबढी एयर काण्डमा खरबौंको भ्रष्टाचार गर्यो । त्यस्तै ललिता निवास भ्रष्टाचार काण्ड , ३८ किलो सुन तस्करी काण्ड , यति काण्ड, ओम्नी काण्ड , प्रिन्टिङप्रेस काण्ड लगायतका हजारौं काण्ड मच्चाएर खरबौंको भ्रष्टाचार काण्ड गरेको छ ।
यसका अतिरिक्त कर्मचारीतन्त्र भित्र , शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सैयौं भ्रष्टाचारका श्रृङखला रच्ने कार्यमा एमालेले कति खाली ठाउँ राखेको छैन ।
कम्युनिस्टहरूको नाममा रुमानीयनको राष्ट्रपति चाउचेस्कू पछि एमाले कै नेताहरुको नाम आउँछ । यसका नेता , कार्यकर्ता , मन्त्री सभाषद , स्थानीय निकायका जनप्रतिनिधिहरु सब भ्रष्ट र बदनाम छन् ।
ठेक्का पट्टा , हाइड्रोपावर हरेक ठाउँमा एमाले कै भ्रष्टहरुको बोलबाला छ ।
भ्रष्टाचारको माध्यमबाट राष्ट्रको खरबौं सम्पत्ति लुटेर नीजि सम्पत्ति कुम्ल्याउनेमा नेपालमा एमाले पहिलो पंक्तिमा पर्छ र एमालेका नेताहरु दक्षिण एशियामा भ्रष्टाचारीहरुको पहिलो नम्बरमा पर्दछन् ।
(२४) राष्ट्रघाति एमसीसी संझौताको प्रमुख योजनाकार र मतियार :
एमाले राष्ट्रघाति एमसीसी संझौताका प्रमुख योजनाकार र मतियार समेत हो । तत्कालीन काँग्रेस – माकेको संयुक्त सरकारको पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की २०७४ साल भदौ २९ गते अमेरिकाको राजधानी वासिङ्टन डिसी पुगेर राष्ट्रघाति एमसीसी संझौतामा हस्ताक्षर गरेका थिए । तर उसले पारित गराउन सकेको थिएन । एमालेको केपी ओलीको सरकारले २०७४ साल असोजमा अर्थमन्त्री डा. युवराज खतिवडा मार्फत् संसदमा दर्ता गरिएको थियो । पछि काँग्रेस , माके , एस समाजवादी , मधेसवादी दलहरुलाई २०७८ …… मा संसदबाट पारित गराउन सजिलो बनाइदिएको थियो र पारित भएकोमा खुसीयाली मनाउँदै समर्थन गरेको थियो ।
महाकाली सन्धिको मुख्य योजनाकार र मतियार बनेको एमाले एमसीसी संझौताको पनि मुख्य मतियार र योजनाकार हो ।
(२५) हत्यारा, बलत्कारी, भ्रष्ट, माफिया, कालाबजारियाको , तस्करको संरक्षक
नेपालमा पछिल्लोपटक जुन अबधिमा सबैभन्दा बढी समय एमाले सरकारमा रह्यो । त्यसै बखत निर्मला पन्तको बलत्कार पछि हत्या काण्ड , अन्य जघन्य टाइपका बलत्कार तथा हत्याका काण्डहरु घटेका छन् , ती सबै काण्डहरुको संरक्षण एमालेको सरकारले गरेको छ ।
यस अतिरिक्त एमालेले भ्रष्ट , माफिया , कालाबजारिया , तस्कर , मुनाफाखोर सबै प्रकारका अपराधीहरुलाई संरक्षण गर्ने कार्य गरेर जनघाति तथा राष्ट्रघातिको पर्यावाची बनेको छ ।
(२६) एसपीपीको योजनाकार र मतियार
अमेरिकी सैनिक पार्टनरसिप एस पीपी सैन्य गठबन्धनको योजनाकार र मतियार पनि एमाले नै हो । एमाले सरकारका प्रधानमन्त्री भएको बेला तत्कालीन प्रधान सेनापति राजेन्द्र खत्रीलाई अमेरिकालाई चिट्ठी लेखन समेत लगाइएको थियो । जसले गर्दा अहिले अमेरिकी दलाल गठबन्धनको सरकारलाई यो संझौता अगाडि बढाउन सजिलो भएको छ ।
(२७) दासढुङ्गा हत्याकाण्डप्रति उपेक्षाभाव
२०५० जेठ ३ तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा हत्या भएको थियो । दासढुङ्गा हत्याकाण्डको वास्तविक सूत्रधार को थियो ? उक्त हत्याकाका असली हत्याराहरु को थिए ? त्यो अझैसम्म पनि रहस्यको विषय बनिरहेको छ । यस २९ वर्षको बीचमा केहीले आफ्नै नेतृत्वमा र कहिले राप्रपा , नेपाली काँग्रेस , माओवादी केन्द्रसंग संयुक्त सरकार गयो एमाले । पछिल्लो अबधिमा एमाले झण्डै दुई तिहाइको सरकार चलाउन पुग्यो । मदनकुमार भण्डारीकी जीवनसंगिनी विद्या देवी भण्डारी दुई दुईपटक सम्म राष्ट्रपति भइन् र अहिले पनि राष्ट्रपतिकै हैसियतमा छिन् । तर एमालेले आफ्ना नेताहरुको रहस्यमय हत्याकाण्डको आजसम्म एक शब्द पनि बोलेको छैन । विद्या देवी भण्डारी पनि एक शब बोलेकि छैनिन् ।
उनीहरूको रहस्यमय हत्याकाण्डको छानबिनका लागि भनेर एमालेले ओली आयोग र तुलाधर आयोग बनाएको थियो । दुइओटै आयोगहरुले हत्या नै भएको रिपोर्ट पेश गरेका थिए । एमाले स्वयंले नेपाली काँग्रेसलाई आशंका गरेको थियो भने भारतीय गुप्तचर संस्था “र” ले उनीहरूको हत्या गरेको शंका पनि गरिदै आएको छ ।
यसबाट हत्याकाण्डको विषय निकै गंभीर मात्र बन्न गएको छैन एमालेको कायरता , पदलोलुप्ता र दुश्मनप्रतिको घुँडा टेकाई , भारतीय विस्तारवादी शासकहरु सामु आत्मसमर्पण पनि पुरै पर्दाफास हुन गएको स्पष्टै देखिन्छ ।
(२८) एमालेको नवप्रतिक्रियावादमा पतन
एमालेको यसप्रकारको नवप्रतिक्रियावादमा पतन एक्कासी भएको होइन । माथि पनि धेरै ठाउँमा उल्लेख गरिएको छ कि एमालेले आफूलाई यसरी नवप्रतिक्रपयावादमा पतन गराउनलाई शृङ्खला र घुम्तीहरु पार गर्दै आएको छ ।
एमाले घोर दक्षिणपन्थी संशोधनवादको बाटो हुँदै साम्राज्यवादी, विस्तारवादी तथा सबैखाले प्रतिक्रियावादीहरुका सामु आत्मसमर्पण गरेर नवप्रतिक्रियावादमा परिवर्तन भइसकेको पार्टी हो । यसले सरकारमा गएको बेला निरंकुश तथा फासीवादी सत्ता चलाउने गरेको छ ।
तीन वर्षपहिले केपी ओली नेतृत्वको झण्डै दुई तिहाई बहुत प्राप्त गरेको एमालेको सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर फासीवादी तरिकाले उनीहरूमाथि दमन गरेको थियो र नेकपा (क्रान्तिकारी माओवाद) लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले सञ्चालन गरेका शान्तिपूर्ण संघर्षका कार्यक्रमहरुमा समेत फासीवादी ढंगले दमन गरेको थियो । नेकपा ( एमाले ) को राजनीतिक चरित्र नै घोर कम्युनिस्ट विरोधी र फासीवादी रहेको छ ।
(२९) एमालेको सम्झौता परास्त नीति
सिद्धान्त र विचारबाट च्यूत भइसकेपछि एमाले जसरी पनि सरकारमा पुग्ने र टिकीरहने उद्देश्यले साम्राज्य वादीहरु, विस्तारवादीहरु जस्ता वैदेशिक प्रतिक्रियावादी शक्तिहरु र घरेलु प्रतिक्रियावादीहरुका रुपमा रहेका सामन्त तथा दलाल नोकरशाही पुँजीपतीवर्ग सामु झुकेर गंभीर प्रकारका राष्ट्रविरोधी जनविरोधी नीति अख्तियार ग¥यो ।
२०५३ सालमा एमालेले जसरी राष्ट्रघाती महाकाली सम्झौताका हस्ताक्षर गर्न पुग्यो यो नै उसको सम्झौता परास्त नीतिको अमिट प्रमाण हो । भारतीय विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गरेर नै उसले राष्ट्रघाती महाकाली सन्धिमा हस्ताक्षर गर्न तयार भएको थियो ।
पछिल्लो अवधिमा २०७४ सालको संसदीय निर्वाचनबाट झण्डै दुई तिहाइको सरकार चलाइरहेको अवस्थामा एमाले नेतृत्वले राष्ट्रघाती अमेरिकी एमसीसी संझौतालाई संसदबाट पारित गराउन लागि संसदमा टेवुल गरेर उक्त राष्ट्रघाती एमसीसी संम्झौतालाई नेपालको संसदबाट पारित गराउन इमान्दार मतियारको भूमिका निर्वाह गरेको थियो ।
त्यस्तै अमेरिकी सैनिक प्रोजेक्ट एसपीपीमा नेपाली सेनालाई अमेरिकी सेनाको मातहतमा राख्ने अमेरिकी नीति र योजनामा पनि एमालेले मतियारको भूमिका निभाएको थियो ।
अर्को विषय एमाले राष्ट्रघाती नागरिकता विधेयक ल्याएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण गराउन सफल भएको थियो । यसरी एमालेले नेपाललाई फिजीकरण गर्ने दिशातिर अग्रसर गराउने सम्मको राष्ट्रघातको कदम चाल्न पुगेको थियो । पछि सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन गर्न रोक लगाएपछि थन्किएको थियो । पछि प्रतिक्रियावादी वर्तमान गठवन्धन सरकारले बहुमतबाट संसदबाट पारित पनि गराइसकेको छ ।
यही संम्झौता परास्त नीतिकै कारण एमाले कहिले पूर्वपञ्चहरुसँग मिलेर कहिले नेपाली कांग्रेस त कहिले माओवादीहरुसीत मिलेर सरकारमा जाने र देश र जनताको हित नभएर आफ्नो पार्टीगत स्वार्थ र नितान्त व्यक्तिगत स्वार्थ पूर्ति गर्ने काम गर्दै आयो । त्यतिले पनि नपुगेर एमाले २०७५ जेठ ३ गते सिद्धान्तहिन तरिकाले नेपाल कम्युनिष्ट पार्टी (माके) सित समेत पार्टी एकता गर्न पुग्यो । विचारविनाको त्यो एकता सिससा फुटे भने फुट्यो । त्यो एकता र तासको महिला झै ढल्यो ।
यही संम्झौता परस्त नीति अन्गरगत एमाले ठूलो दल बनेर चुनाव जितेर सरकार बनाउने उद्देश्यले पूर्व पञ्चहरु, दरबारियाहहरु, नेपाली कांग्रेस मधेसी सामन्तहरु, माओवादी तथा अन्य पार्टीहरुबाट सैद्धान्तिक रुपमा विचलित भएका व्यक्ति र शक्तिलाई पार्टी भित्र डुलेर विजातीय तत्वहरुको घुसपैठलाई प्राथमिकता दिएर ठुलो भिड जम्मा ग¥यो । सरकारमा जानको निम्ति जे पनि गर्ने जुन नीति लियो त्यसैले नै एमालेलाई स्वार्थी, घोर अवसरवादी, देशघाति र जनघातिहरुको ठूलो भिडको रुपमा परिणत गराई दियो ।
सत्तामा पुग्न र टाँसी रहने उद्देश्यले उसले सवैसँग सम्झौता गर्ने सम्झौता परास्त नीति लिएको कारण उसले नेपाली कम्युनिष्ट आन्दोलन भित्र र बाहिर विविध प्रकारका विकृति र विसंगति फैलायो ।
(३०) निष्कर्ष
मालेको एमालेमा र एमालेको नवप्रतिक्रियावादमा गिर्नुको ऐतिहासिक प्रक्रियाका बारेमा धेरै कारण उदाहरणहरुका छन्, तर संक्षेपमा यत्ति नै राखिएको छ ।
एमालेको नवप्रतिक्रियावादमा पतन हुनुका पछाडि मुख्य तः सैध्दान्तिक, वैचारिक एवं दार्शनिक पक्ष हो । एमाले नवप्रतिक्रियावादमा गिर्नुका पछाडिका मुख्यतः दुईवटा कारण रहेका छन् – सामाजिक र सैध्दान्तिक – राजनीतिक । एमालेको पार्टी संगठन भित्र निम्नपुँजीपति वर्ग तथा दलाल एवम् माफिया – भ्रष्टहरुको हैकम चल्दै आउनु, बोलबाला उनीहरू कै चल्नु, नेतृत्वको देवत्वकरण गरिदै जानु , अनेकौं भ्रष्ट तथा विजाजतीय तत्वहरुको घुसपैठ एवम् भर्ति हुँदै जानु, अभिजात वर्गीय तप्काको बोलबाला बढ्दै जानु , पार्टीलाई पुरै ल्न्इ ÷ क्ष्ल्न्इ करण गर्दै सम्पूर्ण कार्यकर्ताहरुलाई ल्न्इ÷ क्ष्ल्न्इ को जागिरे बनाउँदै जानु , सामन्तवादी , साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको सम्बन्ध गाढा हुँदै जानु , कार्यकर्ताहरुलाई भ्रष्ट बनाउँदै जानु एमालेको पतनका सामाजिक वर्गीय आधार एवम् कारण हुन् ।
माक्र्सवाद–लेनिनवाद–माओविचारधारा परित्याग गर्नु र बहुदलीय जनवाद अर्थात् पुँजीवादलाई पथप्रदर्शक सिध्दान्त मान्ने स्तरसम्म गिर्नु , क्रान्तिकारी राजनीतिक कार्यदिशाका विरुद्ध सुधारवादी , मन्त्रीमण्डलवादी कार्यदिशा अप्नाउँदै जानु एमालेको पतनको सैध्दान्तिक ,राजनीतिक एवं दार्शनिक कारण हुन् ।
सारतः वर्गसंघर्ष र सर्वहारा अधिनायकत्वको सिध्दान्तमाथि मुख्यतः माक्र्सवाद – लेनिनवादको विकसित रुप माओवादमाथि लात हान्दै वर्गसमन्वयवाद र नाङ्गो संशोधनवाद अंगालेर ख्रुश्चोभका नयाँ चेला बन्नु नै एमालेको नवप्रतिक्रियावादमा पतन हुनुको मूल कारण हो ।
यतिसम्म गिरेर पनि देशदुनियाँका बीचमा भ्रम छर्नलाई एमालेले अझैसम्म पनि आफूलाई कम्युनिस्ट भनाउँदैछ आएको छ ।
“माओवादी”बाट