पार्टी कामलाई सुदृढ र विकसित गर्नेबारे

पार्टी कामलाई सुदृढ र विकसित गर्नेबारे

 पार्टी निश्चित वर्गको स्वार्थको प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो । कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता, क्रान्तिको साधन एवम् सक्षमनेताहरूको सङ्गठन हो । यो एकदमै विचारणीय एवम् मनन् योग्य कुरा हो कि के हामीसँग पार्टी त्यस खालको स्थिति र अवस्थामा छ वा छैन, हो अलिकति त्यस्तो छ तर भनेजस्तो छैन । अर्थात् पूर्णता छैन, यसलाई सापेक्षतामा बुझ्दा ठिक हुन्छ होला । कम्युनिस्ट पार्टी सबैभन्दा उन्नत चेनता र सुसंस्कृत मानिसहरूको सङ्गठित राजनीतिक शक्ति हो र हुनुपर्दछ । हो, साँच्चै बुर्जुवावर्गको सत्ता र व्यवस्थाका विरुद्ध राम्रो टक्कर र चुनौती दिने खालको सर्वहारावर्गको अग्रदस्ता, क्रान्तिको साधन र सुपरिचित व्यक्तित्व उठेका सक्षम नेताहरूको भरपर्दाे सङ्गठनको रूपमा पार्टीले विकास गर्न अझै कठोर मेहनत गर्न आवश्यक छ । यस प्रकारको विकास गहन अध्ययन, छलफल र शृङ्खलावद्ध विभिन्न ज्वारका अन्तरसङ्घर्ष तथा वर्गसङ्घर्षको भट्टीमा खारिएका नेता–कार्यकर्ताहरूको अथक व्यवहारिक प्रयोगले मात्र सम्भव र सामथ्र्य राख्दछ । हामीसँग त्यो अनुभव र नेतृत्व उपलब्ध छ, तर पुगेको छैन ।

कम्युनिस्ट पार्टीमा प्रवेश गरेका सबै व्यक्तिहरू गल्ती–कमजोरीबाट मुक्त भएर निखारिएका मान्छेहरू मात्र रहन्छन् भनेर सोच्नु वस्तुनिष्ट होइन र त्यस्तो कदापि हुँदैन । किनकि पार्टी हुनुको नाताले समाजकै प्रतिबिम्बको रूपमा केही न केही खराब प्रवृत्तिहरू पनि आउन सक्दछन् भन्ने मान्यता राख्नु आवश्यक हुन्छ । त्यसैले त भन्ने गरिन्छ, कम्युनिस्ट पार्टी भनेकै विपरीतहरूको एकत्व हो । जीवन्त पार्टीमा निरन्तर सङ्घर्ष चल्दछ र पार्टीको विकास सङ्घर्षकै बिचबाट हुन्छ । हाल पार्टीभित्र विचारधारात्मक दृष्टिकोण मात्र नभई सङ्गठनात्मक हिसाबले मात्र पार्टीमा सामेल भएका मानिसहरू पनि रहेका छन् । यसको मतलब मालेमावादी विचार, मूल्य, मान्यता एवम् कार्यशैलीभन्दा उनीहरू अलिक फरक छन् र जसका विभिन्न प्रकारका खोटहरू पनि विद्यमान छन् । यस्ता मानिसहरू जसका आनिवानि र व्यवहार सच्चाउँदै छन् वा छैनन् भन्नेबारे राम्रो पर्यवेक्षण गर्ने मात्र नभै उनीहरूलाई सुधार्न मद्दत गर्नैपर्छ । अनि त्यसको समीक्षा पनि गर्दै जानु पर्दछ । मालेमावादीहरूले सकरात्मक प्रवृत्ति अङ्गाल्नु पर्दछ र पर्यवेक्षणका साथसाथै सुधार्न मद्दत पनिगर्दै जानु पर्दछ ।

हामीले अन्तरर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनबाट आफ्नै जीवनकालमा धेरै अनुभव र शिक्षाहरू प्राप्त गरेका छौं । हामीले अन्तरपार्टी सङ्घर्ष र वर्गसङ्घर्षमा पनि भाग लिँदै आएका छौं । अहिले पनि हामी यस प्रकारको सङ्घर्षलाई अरू सघन र भिन्न अवस्थाको सङ्घर्षलाई थप खिरिलो र चोटिलो बनाउन कार्यरत छौं । यसबारे हामीभित्रका गलत चिन्तन र प्रवृत्तिसँग जुझ्दै बाह्य रूपमा साम्राज्यवाद, विस्तारवाद र सामन्तवादको आडमा टिकेको दलाल, नोकरशाही, सामन्तवादी प्रतिक्रिवादी संसदीय व्यवस्था र सत्ताका विरुद्ध एकीकृत एवम् केन्द्रीकृत भई सङ्घीय जनगणतन्त्रका लागि योजनाबद्ध ढङ्गले घनिभूत रूपमा सङ्घर्षमा लाग्न अनिवार्य भएको छ । पार्टी क्याडर सम्बन्धीनीतिबारे क.माओ भन्नुहुन्छ– “कुनै क्याडर पार्टीको कार्यदिशालागु गर्नमा दृढ छ कि छैन, उसले पार्टीको अनुशासनपालना गर्छ कि गर्दैन, उसले जनसमुदायसँग घनिष्ठ सम्बन्ध राख्छ कि राख्दैन, उसमा स्वतन्त्र रूपले काम गर्ने क्षमता छ कि छैन र ऊ सक्रिय, परिश्रमिक र निस्वार्थी छ कि छैन भन्ने कुरा नै कम्युनिस्ट पार्टीले आफ्नाक्याडरहरू सम्बन्धीनीतिको हकमालागु गर्नुपर्ने मापदण्डहरूहुन् ।”

माओको यस उक्तिबाट के स्पष्ट हुन्छ भने हरेक तहका नेताहरूमाउक्त स्थिति छ कि छैन, पार्टीका हरेक तह र तप्काले यसलाई आत्मसमीक्षाको विषय बनाउन पर्दछ । सङ्घर्षको माध्यमबाट रूपान्तरणको धारणा बनाउनु पर्दछ । समग्र योग्यता र क्षमताका आधारमा मानिसहरूलाई नियुक्त गर्नु पर्दछ । कम्युनिस्ट पार्टीमा विद्यमान सङ्घर्ष र अन्तरविरोध पार्टी जीवनका अपरिहार्य तत्व हुन् । यसको समाधनबारे माओभन्नु हुन्छ– “कम्युनिस्ट पार्टीभित्रका अन्तरविरोधहरूलाई आलोचना र आत्मालोचनाको तरिकाद्वारा समाधान गरिन्छ ।”२ यसप्रकारको समाधानको तरिकालाई विपरीतहरूको एकता–सङ्घर्ष–रूपान्तरणको तरिका पनि भनिन्छ ।

हामी यतिबेला जटिल परिस्थितिबाट गुज्रिरहका छौं । वर्गसङ्घर्षको फाँटमा प्रतिक्रियावादी संसदीय व्यवस्था र सत्ताको अङ्गिकार गरेका र जनतामा थोपरेका राष्ट्रघाती, जनघाती र जनगणतन्त्र विरोधी कृयाकलापका विरुद्ध जुध्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) अग्रसर छ । पार्टीको विचार,नीति, कार्यदिशा र कार्यक्रम सहि छ । परन्तु त्यत्तिले मात्र पुग्दैन– त्यसलाई लागु गर्ने भौतिक शक्ति भनेको पार्टी हो, जो कार्यदिशा अनुरूपको संरचनात्मक ढाँचामा ढालिइसकेको छैन । क्रान्तिका लागि पार्टीमा आवद्ध सक्षम नेता र कार्यकर्ताहरूको विशाल पङ्क्तिको आवश्यकता पर्दछ । यसबारे लेनिन भन्नुहुन्छ– “क्रान्तिकारीहरूको सङ्गठन सबैभन्दा पहिले र मुख्यतया यस्ता मानिसहरूको सङ्गठन हुनुपर्दछ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका छन् ।”  यसको तात्पर्य हो क्रान्तिकारीलाई अघि बढाउनका लागि पूर्णकालीन नेता तथा कार्यकर्ताहरू हुन अत्यावश्यक हुन्छ । पार्टीले यसप्रकारको आवश्कता देखेर पनि आवश्यकताअनुसार त्यसको व्यवस्थापन गर्न सकिरहेको छैन । यस अतिरिक्त पार्टीमा कतिपय समस्याहरू छन् । जसका बारेमा वैचारिक, राजनीतिक र वर्गसङ्घर्षको व्यवहारिक अभ्यासबाट नयाँ ढङ्गको सवल पार्टी (वोल्सेभिक)मा रूपान्तरण गर्न आवश्यक छ । एकता–सङघर्ष–रूपान्तरणको विधिबाट नयाँ आधारमा नयाँ एकता कायम गर्दै नयाँ ढङ्गको पार्टी निर्माण बनाई अघि बढ्नु पर्दछ । पार्टीमा देखा परेका कमीकमजोरीलाई हटाएर पार्टीलाई क्रान्तिकारी रूपान्तरणमा लैजानु पर्दछ ।
पार्टी नीति र निर्णय लागु गर्ने समस्या–पार्टीमा जतिसुकै सही, वैज्ञानिक र क्रान्तिकारी निर्णय भएता पनि यदि त्यसलाई व्यवहारमा उतार्न सकिएन भने त्यो केवल कागजी मात्र बन्न पुग्दछ । त्यसको लागि सक्रियता, इमान्दार र जुझारु कार्यकर्ता निष्ठापूर्वक जिवन्त साझा प्रयत्नका साथ निर्णयलाई व्यवहारको कसिमा उतार्नु पर्छ । नीति र निर्णयको सहिपनाको मापन पनि व्यवहारिक प्रयोग नै हो । पार्टीभित्र मतभिन्नता देखापरे । त्यसको समाधान बैठकमा छलफल बहस गर्ने र बुहमतद्वारा टुङ्गो लगाउनु पर्छ । यो नै सही विधि हो । छलफल जनवादको प्रयोग हो भने निर्णय केन्द्रीकरण हो । कम्युनिस्ट पार्टी सङ्गठन सर्वहारा जनवादको जगमा केन्द्रीयता खडा हुन्छ । पार्टी निर्णयको स्प्रीट विपरीत आफ्नो अनुकूलतामा निर्णयलाई ग्रहण गर्नु, नभए लागु नगर्नु वा लागु गर्न आलटाल गर्नु सुविधावादी प्रवृत्तिले सुधारवादका अवसरवादी फेरो समात्नु हो– त्यो अराजकता हो, जनवाद होइन । यो सिधै अनुशासनको उल्लङ्घन पनि हो । हरेक कठिनाईबाट भाग्नु भनेको अवसरवादको दलदलमा फस्नु पनि हो । क्रान्तिकारी कम्युनिस्टले हरेक कठिनाईसँग पौठेजोरी खेल्दै आफुलाई अझै सुदृढ र सवल बनाउनुका साथै आफूलाई बोल्सेभीकरण गर्ने चेनतामा उठाउन आवश्यक छ । यस प्रकारका समस्याको समाधान वैचारिक सङ्घर्ष र अनुशासनलाई कडाई पूर्वक पालना गर्ने गराउनेमा हुनु पर्दछ ।

पार्टीभित्र निर्णयहरूको अवज्ञा गर्ने वा लागु नगर्ने, लुजटक गर्ने, ब्याक वायटिङ्ग गर्ने, आफ्ना अस्पष्टा र असंतुष्टीलाई यत्रतत्र जाहेर गर्ने, सामाजिक सञ्जालमामा राख्ने वा असान्दर्भिक स्थान र व्यक्तिसँग भाका मिलाउने, पार्टीमा अनुशासन लागू नगर्ने जस्ता प्रवृत्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीका निम्ति घातक कुराहरू हुन् । त्यसैगरी जिम्मेवारी अनुरूप भूमिका निर्वाह नगर्ने, पार्टीभित्र देखा पर्ने अन्तरविरोधको प्रकृति र प्रवृत्तिलाई खुट्याउने र त्यसको समाधान गर्नेतिर भन्दा त्यत्तिकै छोडिदिने वा त्यसैमा रमाउने कुराले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजाँदैन । यसले कम्युनिस्ट एकतालाई कमजोर पार्ने मात्र होइन कि अपेक्षित परिणाम आउँदैन र गुटबन्दीको वातावरण तयार पार्ने गरेको र पार्टी तथा क्रान्तिका विरोधीहरूलाई मद्दत पु¥याउने काम गर्छ । यसलाई रोक्ने र रूपान्तरण गर्न पार्टीले अनुगमन तथा निरीक्षण गरि आवश्यक निर्देशन र निर्णय लिन ढिलाई गर्नु हुँदैन । यस खालको प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न वा सच्याउन सकिएन भने यसले विकराल रूप लिन पनि सक्छ र पार्टीलाई क्षति पुग्दछ । किनकि हाम्रा विरुद्ध तमाम प्रतिक्रियावादीहरू र अवसरवादी लगायत लागि रहेका छन् । यसप्रति पार्टी नेता र कार्यकर्ताहरू उदासिन बन्नु उदारतावादी समस्या हो ।

सङ्गठन र परिचालनका कतिपय कमीकमजोरी व्यक्तिको भूमिका र औपचारिक जिम्मेवारीमा तालमेल नमिल्नु, पार्टी निर्णयको मर्म र समग्रतालाई ख्याल नगरि शब्द वा अंशमा अल्मलिनु, जिम्मेवारीको ख्याल नगरि च्यानलबाहिर कुरा गरी आफूलाई सर्वज्ञाता ढान्ने प्रवृत्तिले परिस्थितिलाई सङ्ल्याउने तथा भ्रम र अस्पष्टताबाट मुक्त गर्ने प्रक्रियालाई सहयोग पुग्दैन । पार्टी नीति र निर्णयलाई ख्याल नगर्ने कमरेडहरूलाई सम्झाउने बुझाउने, कमीकमजोरी महशुस गर्न लगाउने साँचो अर्थमा सुधार्न प्रयत्न गर्ने र गल्तीको प्रकृतिअनुसार आवश्यक नसिहत दिनु पर्दछ । यस प्रकारको अवस्थाबाट पार्टी पङ्क्तिलाई सच्याउँदै सुदृढ र विकसित गर्न प्रशिक्षण र स्कूलिङ गर्ने तथा नीति र निर्णय लागु गर्न सचेत र जागरुक बनाउँदै लैजानु पर्दछ । सही ढङ्गले पार्टी नीति र निर्णयको कार्यान्वयनलाई प्रोत्साहित गर्ने र जानीबुझि गाली गर्नेमाथि आवश्यक नसिहत सहित सच्याउन प्रयन्त गर्नु पर्दछ ।

यसबारे भर्खर सम्पन्न २०७९ जेठ २६–३० गतेसम्म बसेको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठकले निर्देशित गरेको पार्टी सुदृढिकरण अभियान २०७९ लाई राम्रोसँग प्रशिक्षित गरेर प्रभावकारी ढङ्गले लागु गर्न विशेष ध्यानदिनु आवश्यक छ । यसमा थोरै चर्चा गरौं–
सुदृढीकरणको उद्देश्यबारे निर्देशिकामा भनिएको छ– “यो सुदृढिकरण अभियानको उद्देश्य आम पार्टी सदस्यहरूलाई वैचारिक, राजनीतिक विषयमा प्रष्ट पार्नु, पार्टीको साङ्गठनिक प्रणालीको सही ज्ञान दिलाउनु, पार्टीमा अनुशासन कायम राख्नु, पार्टीको राजनीतिक तथा सामरिक कार्यदिशाबारे प्रष्ट पार्नु, पार्टीमा देखा परेका कमीकमजोरीहरूलाई हटाएर पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्नुहुनेछ ।” पार्टी सुदृढिकरण अभियान २०७९को निर्देशिकाबाट ।

पार्टी सुदृढिकरणका लागि 
कमिटी प्रणालीलाई सुदृढ र व्यवस्थित गर्न बैठक, प्रशिक्षण, गठन–पुनर्गठनको प्रक्रियालाई नियमित र समय–समयमा अभियानात्मक ढङ्गले सङ्गठन निर्माण, विस्तार र सुदृढिकरण गर्ने ।
– विभिन्न तहको पार्टीको संरचनात्मक ढाँचा चुस्त–दुरुस्त र व्यवस्थित गर्ने ।
– पार्टी सदस्य सङ्ख्या कमिटीहरूको विभिन्न तहको सङ्ख्या र अवस्थाको स्पष्ट अभिलेख सहितको तत्थ्याङ्क राख्ने र त्यसको अद्यावधिक गर्ने ।
– पार्टी मापदण्डको आधारमा नयाँ उम्मेदवार सदस्यहरू भर्ना गर्दै जाने र त्यसलाई कमिटी प्रणालीमा समावेश गर्ने ।
– विभिन्न जनवर्गीय र मोर्चा सङ्गठनहरूको विस्तार गर्ने केन्द्रदेखि इकाईसम्मको तह–तहको तत्थ्याङ्क राख्ने ।
– सबै जबस मोर्चा भएका हरेक तहका नेतृत्वदायी कमिटी र साधारण सदस्य सङ्ख्या र अवस्थाको अभिलेख राख्ने ।
– विभिन्न विभागहरूको सदस्य सङ्ख्या र अवस्थाको अभिलेख राख्ने ।
– उपरोक्त सबैको रिपोर्ट आ–आफ्नो केन्द्र र त्यसबाट सम्बन्धित निकायमा पाठाउने (सङ्गठन विभाग), त्यसलाई अपडेट गर्दै लैजाने ।
– पार्टी, जबस मोर्चा विभागहरू सबैको भूमिकामा विशेषताअनुरूप फरक भएपनि एक आपसको सहकार्य र समन्वयबिना क्रान्तिको कार्यभार पूरा हुनसक्दैन भन्ने विषयलाई आत्मसात गरि समग्र परिचालनमा ध्यानदिनु पर्दछ ।
– पार्टी, जबस, मोर्चा र विभागहरू सबैले आर्थिक पक्षलाई सबल बनाउन, प्रकाशनलाई व्यवस्थित गर्न, विभिन्नखाले अवसरवाद र अराजकतावाद विरुद्ध विचारधारात्मक सङ्घर्ष चलाउने तथा राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका विषयलाई लिएर सङ्घर्ष गर्ने, स्थानीय वर्गसङ्घर्षमा विशेष जोडदिने, पार्टी निर्णयलाई सृजनात्मक ढङ्गले लागु गर्ने गराउने ।
– जनपरिचालनमा विशेष ध्यान दिने ।
– जननीति अवलम्बन गर्ने आदि ।

सन्दर्भसूची
१. क.माओ, माओवादी सङ्गठनात्मक सिद्धान्त पृ.९१÷९२ जनदिशा प्रकाशन काठमाडौं ।
२. माओत्से तुङ की सङ्कलित रचनाएँ, ग्रन्थ १, पृ.५७५, विदेशी भाषा प्रकाशन गृह, पेकिङ १९६९ ।
३. ब्ला.इ. लेनिन, सङ्कलित रचनाएँ, दश खण्डों मे खण्ड २, पृ.१५८, प्रगति प्रकाशन मास्को, १९८१ ।

नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय मुखपत्र ‘माओवादी’बाट साभार