‘मामूली मान्छे’ : समाजवादी यथार्थवादद्वारा अनुप्राणित एक मौलिक कृति

‘मामूली मान्छे’ : समाजवादी यथार्थवादद्वारा अनुप्राणित एक मौलिक कृति

प्रगतिवादी कवि बलराम तिमल्सिना राजनीतिक र साहित्यिक दुवै फाँटमा क्रियाशील तथा स्थापित रहिआउनु भएको छ । हालैको “मामुली मान्छे” शीर्षक रहेको एउटा कविता संग्रह प्रकाशित हुन गइरहेको छ । यो खुशीको कुरा हो ।

नेकपा (माओवादी)द्वारा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा कमरेड बलराम तिमिल्सिनालाई २०५२ साल पौष देखि २०५३ चैत्रसम्म सिन्धुली जिल्लाको कारागारमा राखिएको थियो । त्यसै समयमा सिन्धुली जेलमा रहनुभएका तीन जना कवि बलराम तिमिल्सिना, गंगा श्रेष्ठ र राम बहादुर रायमाझीद्वारा रचित कविताहरुलाई समावेश गरी संयुक्त रूपमा “तानाहासलाई प्रश्न” (२०५३) शीर्षक राखिएको कविता संग्रह प्रकाशित भएको थियो । त्यस पश्चात् कवित तिमल्सिनारचित “युद्ध भूमिका गीतहरु” नामक कविता संग्रह २०६३ मा प्रकाशित भयो । त्यस यता पनि कवि तिमिल्सिनाले निरन्तर कविता रच्दै आउनु भएको छ ।

प्रस्तुत–“मामुली मान्छे” कविता संग्रहमा पाँच दर्जन जति कविताहरु सङ्कलित गरिएका छन् । सङ्लित कविताहरुमा महान् जनयुद्धले धोका र धक्का खाएको, पथ विचलित अवसरवादी कम्युनिस्ट नेताहरुद्वारा क्रान्ति र कम्युनिज्मको विरोधमा भएका गद्दारी, वर्गदुश्मनसित गरिएका आत्मसमर्पण तथा वर्गउत्थानको स्थिति, पुरानो सत्तालाई बन्दुक बुझाएर पुरानै अवस्थामा फर्कनु पर्दाका जनमुक्ति सेनाका योद्धाहरुको चिन्ताग्रस्त मनःस्थिति, भोका, नाङ्गा र निमुखा गरीब किसान तथा मजदुर, दलित एवम् उत्पीडित महिलाहरुका व्यथा तथा वेदनासहितका विचार, चाव र अनुभूति, वर्तमान नेपाली सामाजिक जीवन र अन्तर्राष्ट्रिय सन्दर्भको भन्ने दशा समेत आधारित विषय वस्तुको विविधतालाई समेट्ने काम गरिएको छ । साथै, सङ्कलित कविताहरुमा शिल्पगत दृष्टिले प्रस्तुतिको भङ्गिमा, नवीनता र मौलिकताको पनि कलात्मक विन्यास गरिएको पाइन्छ ।

म यहाँ यी सबै पक्षलाई विस्तृत रूपमा उजागर गर्नेतर्फ होइन मुख्यतः कम्युनिस्ट आन्दोलनको राजनीतिक तथा विचारधारामा केन्द्रित रहेर एक संक्षिप्त भूमिकाका रूपमा केही उल्लेख गर्न गइरहेको छु । नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी र अवसरवादी धाराका बीचमा गंभीर विचारधारात्मक संघर्ष चल्दै आएको छ । अवसरवादीहरुले क्रान्तिप्रति ठुलो धोका दिंदै आएका छन् । उनीहरुले सिद्धान्त र राजनीतिको परित्याग गर्न पुगेका छन् ।

त्यस प्रकारका अवसरवादी नेता के भन्दछन् त ? सुनौं : 
“अब सिद्धान्तले भात पाक्दैन कमरेड
न आदेशले भात पाक्छ हिजो जस्तो
घर परिवार छन् इष्टमित्र छन्
हल्का जोडजाम गर्नु परो नि कमरेड
अनि त्यो जोडजाम गर्न
सिद्धान्त पक्रेर कहाँ होला र कमरेड ।
यी हामीलाई हेर्नुस् न
कमनिस्ट पनि भएकै छौं
जनताले पत्याएकै छन्
न पत्याएर तपाई र मेरो आकार हेर्नुस्
विदेशीले पनि पत्याएकै छन्
राष्ट्रवादी पनि एक नम्बरको भैया छ
यो पनि सबैले पत्याएकै छन्
स्कुल अस्पताल सब चलाएकै छौं
आइएनजीओमा रजगज गरेकै छौं
सम्पत्ति पनि जोडेका छौं
राजनीति पनि गरेका छौं
गर्ने त यस्तो हो नि कमरेड ।
(कमरेडलाई कमरेडको प्रशिक्षण) ।

यहाँ नोपली कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी अवसरवादको तस्विर दुरुस्तै उतारिएको छ । दक्षिणपन्थी संशोधनवादीहरुले माक्र्सवादी सिद्धान्त र राजनीति परित्याग गरी संसद र सरकारमा गएर कसरी धन दौलत आर्जन गर्न पुगेका छन् भन्ने कुरालाई कविले निकै राम्रोसित उजागर गर्नु भएको छ ।

नेपालमा सञ्चालित महान् जनयुद्धको अन्त्य गरिएकोमा दक्षिणपन्थी संशोधनवादी नेतृत्वप्रति जनमुक्ति सेना कै जवानहरु असन्तुष्ट र क्रुद्ध रहिछन् । यही भावधारालाई कवि यसरी व्यक्त गर्नुहुन्छ :
“सबै भन्दा बढी ठग
जब कमरेडहरु नै जन्मिए
सूर्याेस्तमा पुगेर सकियो
हिजो बन्दुक बुझाएको
हिजो युनिफर्म फुकालिएको
र अलपत्र छोडेर शेष समर
चेक बोकेर घर फर्केकाको
यी आफ्नै कमजोरी समेत सम्झँदै
एकाएक खसेका हुन्
सीता विकका आँशु

यी आँशु, आँशु मात्र होइनन्
यी त
पश्चाताप हुन्
आत्म समीक्षा हुन्
भविष्य चिन्तन
र नयाँ अठोट हुन !
(सीता विकको आँशु ) ।

एउटा कुनै सार्वजनिक कार्यक्रममा बोल्दै गर्दा तत्कालीन जनमुक्ति सेनाकी एक योद्धा सीता विक साँच्चै बरर आँशु झारेर रोएकी थिइन् । जनयुद्धलाई अलपत्र छोेडेर बन्दुक बुझाएको, युनिफर्म फुकालेर हिंडेकोमा उनलाई ठुलो पीडा र पश्चातप थियो । महान् जनयुद्धमा उनले देखेको सूर्याेदयको सपना जनयुद्धको अन्त्य गरिदा सूर्याेस्तामा समाप्त भएको थियो । परन्तु, सीता विकाका आँशु मात्र आँशु नभई तिनको विशिष्ट मूल्य र महत्व रहेको छ । सीता विक रुनु परेपनि उनी निराश छैनन्, आत्मसमीक्षा र भविष्यको चिन्तनसहित नयाँ अठोट गर्दै अगाडि बढ्न लालायित रहेकी छन् । यहाँ मीठो क्रान्तिकारी आशावाद पाइन्छ ।

दक्षिणपन्थी संशोधनवादीहरु संविधानमा लेखिएको जाली समाजवादको धक्कु लगाउँदै सत्ता र सरकारमा बसेका छन् । तर गरीब जनताको अवस्था कस्तो छ त ? कवि भन्नुहुन्छः
“ढले म भोकले ढले
सुकेको रुख झैं ढलें
समाजवाद हेर म
सामान्य भाकले ढलें

मलाई मर्न मन थियो
लडेर भव्य युद्धमा
मलाई मिल्न मन थियो
प्रशान्त शान्त बुट्टामा !
मिलेन त्यो महाखुशी
म खेतवारीमा ढलें
मलर सदा म निम्छरो
सामान्य भोकले ढलें !
(मलर सदा !)

मलर सदा मधेशको एकदमै गरीब दलित किसान हो । दक्षिणपन्थी संशोधनवादीहरु सरकारमा बसेर समाजवादको गफ हाँक्छन् । परन्तु वास्ताविक जीवनमा मलर सदा जस्ता गरीबहरुको भोकले ढल्ने र मर्ने अवस्था छ । यहाँ कतिले आजको यथार्थको सही चित्र उतार्दै दक्षिणपन्थी संशोधनवादीहरुलाई कडा व्यंग्यवाण प्रहार गर्नु भएको छ ।

नेपालमा संसदवादी राजनीति र दक्षिणपन्थी संशोधनवादको हैकम अत्यन्तै बढेर गएको छ । कैयौं मान्छेले यही नै यथार्थ हो भनेर क्रान्ति र जनताको उज्ज्वल भविष्यको सपना नै देख्न विर्सन थालेका छन् । त्यो स्थिति कविका लागि असहज हुन्छ । अनि त कवित भन्नुहुन्छ :

“सपना देख्न बिर्सिएका
लाखौं लाख भाइ बहिनीहरुलाई
सिकाउनु थियो
अहिलेसम्मकै सुन्दर सपना देख्न
यसरी स्वप्नहीन जिन्दगीहरुमा
भर्नु थियो–सपनाको तारामागल
अझ शोध
एउटा सपना सहिद भयो
अर्को सपना अझै गर्भ मै छ !
(एक अञ्जुली घाम !)

यहाँ कवि सपना देख्न विर्सने स्वप्नहीन जिन्दगीहरुमा सपनाको तारा मण्डव भर्न चाहनु हुन्छ । तर दुःखको कुरा, एउटा सपना सहिद भएको र अर्काे सपना अझै गर्भमै रहेको अवस्थाप्रति कवि कै चिन्तित बन्नु भएको छ । परन्तु, सपनाको जन्म हुने कुरा पनि कवि आशावादी नै हुनु हुन्छ । सपना भनेको भविष्यको उदात्त आदर्श हो, सुन्दर समाज र संसारको निर्माणको महान् उद्देश्य हो । सो उद्देश्य प्राप्तिका लागि कवि दृढ हुनु हुन्छ ।

सपनाको संसार क्रान्तिको महान् उद्देश्य र उदात्त आदर्शको प्राप्तिका खातिर कवि छटपटाइ रहनु भएको छ । त्यसैले त कवि भन्नुहुन्छ ः
“म कुनै विलक्षण प्रतिभा सम्पन्न मान्छे हैन

बरु केही अधुरा बाचाहरु छन्
तिनले रातमा पनि विथोलि रहन्छन्
तिनले दिनमा पनि चिमोटि रहन्छन्
तिनले एकान्त पनि लखेटि रहन्छन्
तिनै बाचाहरुले बाधिएर
म त केवल दौडिरहेको छु
सपनाको गन्तव्यतिर !

पूर्व योद्धाहरुले
मामुली ठानेर फालेका झन्डा
बटुलेर मैदानबाट
म मामुली हातको उठाइरहेको छु
पूर्व सहयात्रीहरुले
मामुली ठानेर हिड्ने छोडेको बाटो
म मामुली मान्छेहरुसंग हिड्दै छु
पूर्व गायक साथीहरुले
मामुली ठानेर गाउन छाडेको गीत
म मामुलीहरुसंग मिलेर गाउँदै छु ….. ।”
(मामुली मान्छे) ।

हो, कवि सपनाको गन्तव्यतिर छौडि रहनु भएको छ । पूर्व योद्धाहरुले क्रान्तिको मैदानमा फालेका झन्डाहरुलाई उठाएर क्रान्तिको बाटोमा हिंहिरहनु भएको छ । हो उहाँ क्रान्तिको गीत गाउँदै र क्रान्तिका कविता लेख्नै अगाडि बढ्न भएको छ ।

पस्तुत कविता संग्रहको शीर्षकको रूपमा रहेको “मामुली मान्छे” यहाँ केन्द्रीय कविता बन्न गएको छ । पस्तुत कविताले यस कृतिको सार तत्वलाई संवहन गरेको छ र क्रान्तिको झन्डालाई निरन्तर फहराउँदै अगाडि बढ्दै गएको सन्देश प्रवाहित गरेको छ ।

प्रगतिवादी कवि बलराम तिमिल्सिनाद्धारा रचित प्रस्तुत कविता संग्रहमा समावेश गरिएका कविताहरुका मूल विशेषतालाई छोटकरीमा यसरी प्रस्तुत गर्न सकिन्छ :

पहिलो, यसमा एकातिर नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका विकृति विसङ्गती तथा कुरुप पक्षलाई यथार्थपरक ढङ्गले सजीव रूपमा उजारगर गरिएको छ चने अर्काेतिर त्यसका विरुद्ध सशक्त रूपको प्रस्तुत हुँदै क्रान्तिको दिशामा अगाडि बढ्न आवश्यक निर्देशन समेत दिइएको छ । यो दुनियाँ बुझ््ने मात्र होइन मुख्यतः बदल्नु माक्र्सवादी सौन्दर्यशास्त्रीय मान्यतामा आधारित छ ।

दोस्रो, यो कृति क्रान्तिकारी आशावादले अनुप्राणित रहेको छ र यसमा जन तथा वर्गी मुक्तिका उदात्त आदर्श तथा सपनाहरुलाई सजाइएको छ ।

तेस्रो, प्रस्तुत कृति प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध मात्र होइन, मुख्यतः तिनको संरक्षण गर्दै आएको वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान खक्षिण्पन्थी संशोधनवादका विरुद्ध परिलक्षित रहेको छ ।

चौथो, यो कृति क्रान्ति, क्रान्तिकारी सिद्धान्त, कम्युनिष्ट आन्दोलन र देश तथा जनताको मुक्तिप्रति प्रतिबद्ध रहेको छ ।

पाँचौ, प्रस्तुत कृति मूलतः राजनीतिक विषय वस्तुमा आधारित छ । कमरेड बलराम तिमल्सिना दश वर्षीय जनयुद्धका एक सशक्त राजनीतिक योद्धा र प्रगतिवादी कति दुवै हैसियतमा राजनीतिक क्रान्ति र जनयुद्धको मैदानमा एउटा हातमा कलम र अर्काे हातमा बन्दुक लिएर नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्नका लागि दृढतापूर्वक उभिनु भएको थियो । परन्तु आन्दोलनमा हुन गएको गंभीर धोका, विश्वासघात र धक्काका कारण सो लक्ष्य हासिल हुन सकेन । त्यसैले पनि उहाँका कविता राजनीतिक विषयवस्तुमा आधारित बन्न गएका छन् । परन्तु उहाँ त्यस प्रकारको राजनीतिक विषयवस्तुलाई भावधारा, आवेगयुक्त चेतना र विम्ब, प्रतीक तथा अलङ्कर विधानमा संश्लेषित गरी कलात्मक तथा सौन्दर्यात्मक रूपमा प्रस्तुत गर्ने शानदार रूपमा सफल हुनु भएको छ । यस कृतिमा प्रचुर मात्रामा नवीनता, मौलिकता र भाव भङ्गिमाका शिल्पगत विशेषता पाइन्छन् ।

यद्यपि यस कविता संग्रहका कतिपय कविताका केही सीमा तथा कमी पनि हरन गएका छन् । कतिपय कविताका शीर्षक अंग्रेजी भाषामा राखिएका छन् । त्यसो न गरेको भए राम्रो हुन्थ्यो । साथै, कतिपय कविता आवश्यक रूपमा परिमार्जित बन्न सकेका छैनन् । परन्तु, हरेक वस्तुमा प्रायशः कुनै न कुनै कमी तथा सीमा देखिने गर्दछन् । यसो हुनुलाई भौतिकवादी द्वन्द्ववादले स्वाभाविकै अर्थमा ग्रहण गर्दछ ।
समग्रमा भन्नु पर्दा, प्रस्तुत कविता संग्रह वर्तमान प्रगतिवादी कविता क्षेत्रको एक विशिष्ट प्राप्ति बन्न गएको छ । यो कविता संग्रह समाजवादी यथार्थवादद्वारा अनुप्राणित एक मौलिक कृति हो र यसले दक्षिणपन्थी संशोधनवादका विरुद्धको विचारधारात्मक संघर्षका साथै प्रतिक्रियावादका विरुद्धको संघर्षमा पनि विशेष महत्व राख्दछ ।

नेपाली प्रगतिवादी साहित्यको भण्डारमा एउटा अर्काे महत्वपूर्ण पुस्तककार कृति थप्नु भएकोमा कवि बलराम तिमल्सिना विशेष धन्यवादको पात्र बन्नु भएको छ । भविष्यमा अझै उच्च स्तरका कृति प्राप्त हुने अपेक्षा सहित म सांस्कृतिक योद्धा क. बलरामको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

१६ वैशाख २०७९