सर, भगवानलाई कसले बनाएका हुन ?
धैत लाटा !
कसले बनाउँछ भगवानलाई
भगवानले मान्छे बनाएका हुन ।
अनि, भगवान मान्छेका मात्रै हुन् सर ?
कसले भन्यो मान्छेका मात्रै ?
सबै प्राणीहरूका हुन नि
अनि, सबै भगवानको अनुहार
किन मान्छेको जस्तै छ त ?
अरु प्रश्न सोध न
खाली एउटै प्रश्न मात्र कति सोधेको ?
हस सर
अनि सर,
सबैका मनमा भगवान हुन्छन् हो ?
शास्त्रले भन्छ –
ऋषिमुनिदेखि भुसुनासम्म
सबैका आत्मामा भगवान हुन्छन्
अनि सर,
खसीलाई मार हान्दा
सुँगुरलाई भाला रोप्दा
चरालाई गुलेली हान्दा
या मान्छेलाई गोली हान्दा
भगवानलाई दुख्दैन त ?
त्यो त भगवानलाई थाहा होला !
सर हजुरलाई त थाहा होला नि ?
म भगवान हो र थाहा हुन ?
अर्को कुरा सोधौं सर ?
अलि गतिला कुरा भए सोध
अनि नि सर,
चोर, डाका, पकेटमार
हत्यारा ,बलाकारी
ठग, भ्रष्टचारी
यिनीहरूका आत्मामा भगवान हुन्छन हैनन् ?
मैले अघि नै भनेको हैन ?
के भनेको सर ?
सबैमा हुन्छन् भनेर
एए …..
अनि तिनीहरूले अपराध गर्दा
भगवान के हेरेर बस्छन् ?
भगवानले किन रोक्दैनन् ?
हामीले गल्ति गर्दा
हजुरले संझाए जस्तो
हजुरले उठबस गराए जस्तो
भगवानले किन संझाइबुझाई गर्दैनन् ?
भगवानले किन उठबस गराउँदैनन् सर ?
यसले फेरि बाङ्गा बाङ्गा कुरा सोध्न थाल्यो
अलि राम्रा कुरा सोध न
भगवान आफै बनेका हुन कि
कसैले जन्माएका हुन सर ?
आफै बनेका हुन् नि लाटा
अनि,
रामकी आमा पनि थिइन रे
कृष्णकी पनि थिइन रे
वुध्द, जिसस र अल्लाहका पनि थिए होलान त सर ?
अँ अँ थिए थिए
यो धेरै बाठो रहेछ
ककस्को संगत गर्न थालेछ
अनि सर,
भन भन
ती भगवानका बाउ-आमा
भगवान नै थिए कि मान्छे थिए त सर
मान्छे थिए मान्छे
मान्छेले भगवान जन्माउन सक्छ र सर ?
नसक्ने भए कसरी जन्मे त लाटा ?
अनि सर,
भगवानका छोरा छोरी पनि थिए रे
ती सबै भगवान थिए कि मान्छे थिए सर
मान्छे पनि थिए
ओहो !
भनेपछि
मान्छेले भगवान जन्माउने
भगवानले मान्छे जन्माउने
यस्तो पनि हुदो रहेछ है सर ?
लु भयो अब चुप लाग
पढाईका कुरा गर
यो भगवान सगवानका कुरा
परीक्षामा सोधिदैन बुझिस ?
सर ,
परीक्षामा आउने कुरा मात्र पढाउनु हुन्छ
हो सर ?
त्यही पढाउन त जागिर खाएको
जथाभावी पढाउनु मेरो काम हो र लाटा
बुझें सर बुझें ।
२०७९ असोज २८
माइतीघर मण्डला,काठमाण्डौ