बिश्वकर्मा भएछौ कामी बा

बिश्वकर्मा भएछौ कामी बा

कामी बा कमिनी आमा बृद्ध भए अब
दुनियाका ज्यावल अर्जाप्थे बनाउँथे

लाज, इज्जत तातोचिसो जोगाउने
बाजा, मनोरन्जन, सारङ्गी रेट्नेका जस्तै
आकाश ब्रह्माण्ड जोड्नेका
कथाहरू जस्तै
पीडा छ उनीहरूसँग
दर्जीका जस्तै पीडा छ उनीहरूसँग
नारा,जुत्ता निर्माता चमारहरूका जस्तै
पुर्खौदेखिकै पीडा छ उनीहरूका

अर्चाप्ने बनाउने मात्र होइन
हलो जोत्थे,भारि बोक्थे कामी बा
खेतबारी सजाउँथिन्
धान कोदो फलाउँथिन् कमिनीआमा
बोक्थिन् भारि बल भइन्जेल
सिपबिना नबाँच्ने समाज उठाउँथे
बिश्वनिर्माताका जस्तै दुख छ तीसँग

च्यातिएको भोटोबाट देखिने
पिठ्युँ छाति नेपाल हो
छातिभित्रका करङ भाटाहरू
हाम्रा नाङ्गा हिमाल हुन्
भोका डाँडा पर्वतहरु हुन्
अन्तराष्ट्रिय पहिचान हुन्

करेटाकरेटी भनून वास्ता गर्दैनन् ती
सिप चल्नु र पानी नचल्नु ?
बेसरोकार छन् ती
बिश्वकर्मा भएका कामी बा

करङ चढेर जो जहाँ पुगोस् वास्ता छैन
भान्से भाँडा कति बनाए हिसाब छैन
खेती ज्याबलका हिसाब छैन
आरन खलाती चलाउँदा चलाउँदै
बिष्ट बराजुका सेवा गर्दागर्दै
नसा घोटेनन् कि मालिक बोकेनन् ?

तिनकै करङका नसा नेपाल भयो
तिनकै नसाबाट बाहुन भयो

बाकस ,ताल्चा,चम्चा थुर्मी
फाली,करुवा,किला कब्जा
तिनकै बन्धुबान्धब
रेल,मोटर,जहाज सर्जक !
खलाँती अछूत भन्छ बाहुनशास्त्र !
भान्साभित्र तिनकै पसिना
भान्साबाहिर तिनकै पसिना

ग्यालिलियो,आइन्सटाइन,लेनिन
कारखाना हेर्यो तिनकै पौरख
घरखेतमा हेर्यो तिनकै पौरख
राजनीति मैदान तिनकै पौरख
श्रमका क्षेत्र तिनकै पौरख
सहिद तिनै, बेपत्ता तिनै
मुर्तिमन्दिर,महल निर्माता !
तिनै दलितले सिंहासन बनाए
तिनै दलितले हिमाल ठड्याए

बाटा सडक,रेल,मोटर तिनकै पौरख
मेसिन ओैजार तिनकै पौरख
तिनै दलितले नेपाल बनाए
तिनै दलितले विश्व सजाए
तिनै दलितले बिज्ञान बनाए

आफूले आफ्नै प्रसाद छुन नपाउने
बिश्वकर्मा भएछौ कामी बा !
अलि परै रहेर
थुक निल्दै
टुलुटुलु गर्दै
फोटा धुमधाम पुजिएका ,
ढोगीहरुले मिष्ठान खाएका
टुलुटुलु हेरिरहेछन् कामीबा,
बिश्वकर्मा सरह ।
…………
पोखरा