काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट दुई विद्यार्थी संगठनले संयुक्त रुपमा वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न जोडदार माग गरेका छन् । क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राईको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि तुरुन्तै फिर्ता गर्नका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा विद्यमान बेथिति, भ्रष्टाचार, महँगीको अन्त्यलगायत आगामी मङ्सिर ४ गते गर्ने भनिएको संसदीय चुनावलाई सशक्तरुपमा सक्रिय बहिष्कार गर्नका निम्ति सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई सङ्घर्षमा उत्रिन हार्दिक अपिल समेत गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “नेपाल सरकार र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गराएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्यवृद्धि गरी प्रतिलिटर १७८ रुपैयाँ पु¥याएको छ । यसप्रति हामी घोर विरोध एवं निन्दा गर्दै मूल्यवृद्धि तुरुन्त फिर्ता लिन जोडदार माग गर्दछौं ।

सरकारले पटक–पटक इन्धनको मूल्यवृद्धि गरी नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । महँगी चरमविन्दुमा पुगेको छ । दैनिक उपभोग्य वस्तुलगायत सेवाहरुको मूल्य पनि आकाशिएको छ । यसबाट आमसर्वसाधारण जनतालाई आफ्नो जीवन धान्नै मुश्किल पर्दै गइरहेको छ । जनताले सरकार भएको आभाष गर्ने ठाउँ नै छैन । शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन छ । दलाल संसदीय राज्य व्यवस्थाबाट यो मुलुकको विकास र समृद्धिका साथै सङ्कट समाधान सम्भव छैन । आगामी मङ्सिर ४ गते हुन गइरहेको संसदीय निर्वाचनको रङ्गमञ्चमा दलाल शासकहरु केन्द्रित छन् । तर, जनता र राष्ट्रप्रति कुनै पनि चासो र चिन्ता देखिँदैन । देशमा राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को थपिँदै गइरहेका छन्, जसकारण आगामी दिनमा नेपाल गम्भीर सङ्कटको भूमरीमा फस्ने र विदेशीको क्रिडास्थल बन्ने खतरा बढेर गएको छ । माफिया, भ्रष्ट, तस्कर र दलालहरुको हालीमुहाली छ भने जनता रोग, भोक र अभावले ग्रसित छन् । लाखौं युवा तथा विद्यार्थी विदेशिन बाध्य छन् भने कयौं युवा–विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् । यो व्यवस्थाले मुलुकलाई थप अस्थिरता र अस्तव्यस्ततातिर धकेल्दै गइरहेको छ ।
तसर्थ, जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि तुरुन्तै फिर्ता गर्नका लागि हामी नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं । साथै, विद्यमान बेथिति, भ्रष्टाचार, महँगीको अन्त्यलगायत आगामी मङ्सिर ४ गते गर्ने भनिएको संसदीय चुनावलाई सशक्तरुपमा सक्रिय बहिष्कार गर्नका निम्ति सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई सङ्घर्षमा उत्रिन हार्दिक अपिल गर्दछौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर