काठमाडौं । ओखलढुंगा चम्पादेवी स्थायी घर भई काठमाडौंको जोरपाटी बस्दै आएका एक युवकको रहस्यमय मृत्यु भएको छ । घटनामा प्रहरीकै संलग्नता रहेको मृतकका परिवारले आशंका गरेका छन् ।
८ गते भदौबाट बेपत्ता भएका पेशाले इन्जिनियर रहेका २४ बर्षे दुर्गा सुनारको शव आइतबार गाकर्णेश्वर मन्दिर नजिकै रहेको पुलको खोंचमा भेटिएको थियो । स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि शव महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पु¥याइएको छ । शवको पाष्टमार्टम भएको छैन । परिवारले प्रहरीकै संलग्नता रहेको आशंकामा महानगरीय प्रहरी वृत बौद्धमा दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेको छैन ।
घटना विवरण अनुसार ८ गते भदौं राती १० बजे मृतक दुर्गा सुनारसहित उनका ८ जना साथीहरु ४ वटा मटरबाइकमा बासस्थानतिर जाँदै थिए । उनीहरुले हल्का ड्रिङ्गस गरेका थिए । पुल नजिक पुगेपछि मृतक सुनुवारको बाइक पंचर भयो । कसरी बासस्थान पुग्ने र बाइक कहाँ राख्ने भन्ने विषयमा साथीहरुबीचमा सामान्य कुराकानी भइरहेको थियो । त्यहीबेला नियमित गस्तीमा रहेको प्रहरीको भ्यान उनीहरु नजिकै आएर रोकियो र के भयो भनेर सोधीखोजी ग¥यो । उनीहरुको कुरा सुनेपछि प्रहरीहरु फर्किनै लागेका थिए । मृतक सुनारले भित्तामा लात्तले हाने । त्यसपछि उनलाई प्रहरीले पक्रन खोज्यो तर उनी फुत्केर भागे । प्रहरीले लखेट्यो । उनी पुलेको खोंचतिर भागे । पुलिसहरु पटक पटक पुल मुनी खोंचमा पुगे । अरु सबै भागे । तर मृतकमा साथी लिलालाई भने प्रहरीले समात्यो । प्रहरीले उनका दुवै खुट्टामा समातेर रोडमा घिस्याए, लाठी र बुटले भकुरे । हात पछाडी लगेर श्वासै रोकिने गरी घाँटी ङ्याँके । अनि उनलाई भ्यानमा हाले । उनलाई भ्यानमा हालिसकेपछि पनि प्रहरीहरु पटक पटक दुर्गा सुनारलाई खोजिरहे । उनै लिलाका अनुसार उनको मोवाइलमा ११ः०५ मा दुर्गाले फोन गरेको रहेछ । मोवाइल प्रहरीले लिइसकेका थिए । प्रहरीले उनलाई त्यो रात महानगरीय प्रहरी वृतमा बौद्धमा थुने । अनि पटक पटक दुर्गा सुनारको पारिवारिक पृष्ठभूमिको विषयमा सोधिरहे ।
उनलाई भोलिपल्ट दिउसो मात्र छाडियो । तर मोबाइल दिइएन । मोवाइल अर्को दिन मात्र दिइयो । उज्यालोमा घटनास्थल पुगेर अवलोकन गरेका लिला भन्छन्, “घरको पछाडी पुलको खोंचबाट कतै भाग्नसक्ने ठाउँ नै छैन । पटक पटक प्रहरीहरु त्यही खोंचमा छिरेको मेरै आँखाले देखेको छु । सिसिटिभी फुटेजमा पनि त्यही देखिन्छ । परिवार र हामीले पनि त्यही दिनदेखि नै दुर्गा बेपत्ता छ, खोजिदिनु प¥यो भनेर प्रहरीलाई बारम्बार अनुरोध गरेका थियौ । तर प्रहरीले यो विषयलाई कुनै गम्भिरतापूर्वक लिएन । केही सोधी खोजी गरेन । र, अहिले किटानी जाहेरी दिंदा पनि प्रहरीले दर्ता गर्न मानेको छैन । यी सबै घटनाक्रमहरुका कारण घटनामा प्रहरीको संलग्नता हुन सक्ने हामीले आशंका गरेका छौं ।”
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य रुद्र फुयाँलका अनुसार अहिले घटनामा संलग्न रहेको आशंकामा गाकर्णेश्वर प्रहरी चौकीका बरिष्ठ सई रमेशप्रसाद पाण्डेका विरुद्धमा किटानी जाहेरी दिने तयारी भइरहेको छ । पीडितहरु ठूलो संख्यामा उपस्थित भएर अहिले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दर्ताका लागि दबाब दिइरहेका छन् । प्रहरीले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।