कविता
आज फेरि
झिमरुक नदीको
समीपमा उभिए
अझै उस्तै रहेछन्
झिमरुक नदीका
बैँसालु छालहरू
अझै उस्तै रहेछन्
झिमरुक नदीका
नागबेली चालहरू।
झिमरुक नदीभित्र
गहिरिएर हेर्दा
सुन्दर फूलैफूल देखेँ
झिमरुक नदीभित्र
पोैँडेर नियाल्दा
क्रान्तिका मूलैमूल देखेँ।
अहो! हेर्दाहेर्दै
अन्तर्मनले
नदीको गहिराइमा
डुबुल्की मारेछ
आफ्नो गन्तव्यमा
निरन्तर बगिरहेको
झिमरुक नदीभित्र
नदी जस्तै
विशाल सपना देखेँ
नदी जस्तै
गतिशील विपना भेटेँ।
झिमरुक नदी
सृष्टि सँगसँगैको
मानव सभ्यता हो
यसले प्यूठानमा
अन्न दिएको छ
आशा र भरोसा
टन्न दिएको छ
कालो अँध्यारो चिरेर
जून दिएको छ
मान्नुस्, नमान्नुस्
सुनैसुन दिएको छ।
हरपल
ठुल्ठूला पहाडले
छेक्न खोज्दापनि
हरघडी
ठुल्ठूला चट्टानले
रोक्न खोज्दापनि
झिमरुक नदी
कहिल्यै झुकेन
कहिल्यै चुकेन
पहाडहरू छिचोल्दै
चट्टानहरू पल्टाउँदै
आफ्नो गन्तव्यमा
अविरल लम्किरहेछ। प्यूठान