
एउटा कम्युनिस्ट पार्टीभित्र र आन्दोलनमा स्वाध्ययन नै एउटा कम्युनिस्ट नेता तथा कार्यकर्ताको प्रशिक्षणको मूल पक्ष हो । स्व:अध्ययनव्दारा गरिने स्व:प्रशिक्षण नै एउटा कम्युनिस्ट नेता तथा कार्यकर्ताको मूल पक्ष हो । यदि छैन भने बनाउनु आवश्यक छ । स्व:अध्ययनका लागि गरिने जोड वर्तमानको आवश्यकता हो ।
सबैले भनिरहेको पाइन्छ, नेपालको राजनीतिक आन्दोलनमा वर्तमानमा अध्ययनप्रतिको रुझानमा निकै कमी आएको छ । त्यसको नकारात्मक असरबाट राजनीतिक दलमात्रै नभई देशले पनि ठुलठुला राष्ट्रिय दुर्घटनाको सामना गर्न परिरहेको छ ।

हरेक पार्टीभित्र पार्टीसदस्यको अध्ययनप्रतिको रुचि निकै घटेको पाइन्छ । एउटा कम्युनिस्ट पार्टीभित्र माक्र्सवादी–लेनिनवादी सिद्धान्तको अध्ययन गर्ने त कुरा छोडौँ, सामान्य पार्टीको प्रकाशन, पत्रपत्रिका, पुस्तकसमेत राम्रोसँग अध्ययन गर्ने बानीमा ह्रास आएको पाइन्छ । यही प्रकारको स्थिति लामो समयसम्म कायम रही रहेमा हरेक कम्य«निस्ट पार्टी विघटनको दिशामा जाने खतरा पैदा भएको छ । यो स्थितिबाट माथि उठाउनका निम्ति पार्टी समर्थक, सदस्य, कार्यर्ता तथा नेताआदि सबैले अध्ययन तथा प्रशिक्षणमा जोड दिनै पर्ने आवश्यकता छ । हुनत पार्टीका विभिन्न महाधिवेशन, सम्मेलन र बैठकले सचेतना अपनाउन जोड दिँदै गएको पाइन्छ । तर पार्टीलाई क्रान्ति र परिवर्तनका लागि तयार बनाउन त्यतिमात्रै काफी छैन ।
नेपालका कम्युनिस्ट पार्टीहरुमा विद्यमान सङ्गठनात्मक, राजनीतिक तथा वैचारिक अवस्थालाई हेर्दा सङ्गठनात्मक रूपमा पार्टीमा निम्न पुँजीपति वर्गको बाहुल्यता, र पार्टीसदस्यहरुको सैद्धान्तिक स्तर पनि निकै कमजोर पाइन्छ । पार्टीमा निम्न पुँजीपति वर्गको बाहुल्यता, र पार्टीसदस्यहरुको कमजोर सैद्धान्तिक स्तर, यी दुईटैको असर पार्टीसदस्यको चरित्र तथा चिन्तन प्रणालीमा परिरहेको छ । त्यसको परिणाम पार्टीको चरित्र तथा चिन्तन प्रणाली सर्वहाराभन्दा निम्न पुँजीवादी प्रकारको हुन गएको छ । यो बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस्तो स्थितिमा पार्टीसदस्यको चिन्तन तथा कार्यप्रणाली क्रान्तिकारी सिद्धान्तद्वारा नभएर पिछडिएको निम्न पुँजीवादी दृष्टिकोणले निर्देशित हुने गर्दछ ।
कुनै पनि कम्युनिस्ट पार्टीभित्र विषयवस्तुलाई हेर्ने दृष्टिकोण माक्र्सवादी हो र हुनु पर्दछ । तर एउटै पार्टीभित्र विषयवस्तुलाई हेर्ने दृष्टिकोणमा विभिन्नता पाइन्छ, जसले पार्टीमा अन्तरविरोधलाई जन्म दिन्छ । यसरी उत्पन्न अन्तरविरोधलाई समयमानै समाधान गर्न खोजिएन भने त्यसले पार्टीलाई विभाजनको अवस्थासम्म पनि पुरयाएका प्रशस्त उदाहरणहरु छन् ।
नेपालका कम्युनिस्ट पार्टीहरुले आफूलाई सर्वहारा वर्गको पार्टी भन्दछन् । सर्वहारा वर्गले लिने हतियार माक्र्सवाद हो । तर सारमा नेपालका कम्युनिस्ट पार्टीभित्र सर्वहाराहरुको नभै निम्न पुँजीवादी वर्गको बाहुल्यता भएको देखिन्छ । त्यसैले तिनीहरुले हेर्ने दृष्टिकाण गैह् माक्र्सवादी हुन्छ । भन्ने माक्र्सवादी तर दृष्टिकोण गैह् माक्र्सवादी, अनि कसरी क्रान्ति अगाडि बढन सक्छ । परिणाम क्रान्ति सधै अलमलमानै पर्दै आएको छ ।
निम्न पुँजीवादी वर्ग स्वभावले नै अवसरवादी हुन्छ । यो वर्गलाई क्रान्तिकारी वर्गमा रूपान्तरण गर्न माक्र्सवादी–लेनिनवादी—माओवादी सिद्धान्तद्वारा शिक्षित–दीक्षित गरेर नै त्यो वर्गलाई क्रान्तिकारी वर्गमा रूपान्तरण गर्न सकिन्छ । अर्कोतर्फ देशमा उद्योगधन्दा वा पुँजीको विकास नभएका कारणले पनि निम्न पुँजीवादी वर्गको बाहुल्यता भएको हो ।
त्यसकारण एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको काम प्रथम पार्टीभित्र माक्र्सवादी–लेनिनवादी—माओवादी सिद्धान्तद्वारा शिक्षित–दीक्षित गर्ने, द्धितीय देशमा उद्योगधन्दा वा पुँजीको विकास गर्ने र तेस्रो अध्ययन र सङ्घर्षव्दारा निम्न पुँजीवादी वर्गलाई सर्वहारा वर्गको अभिभारा पूरा गर्ने तहसम्म विकास गर्ने ।
एउटा कम्युनिस्टले किन अध्ययनमा जोड दिन आवश्यक पर्दछ ?
प्रथमत: आफ्नो सैद्धान्तिक, वैचारिक तथा राजनीतिक ज्ञानको स्तरलाई माथि उठानका लागि नै अध्ययनमा जोड जोड दिनु पर्ने आवश्यकता पर्दछ । जव सैद्धान्तिक, वैचारिक तथा राजनीतिक ज्ञानको स्तरलाई माथि उठाइन्छ अनि उक्त प्राप्त ज्ञानको आधारमा समग्र समाजलाई बुझ्न र समाज परिवर्तनका लागि काम गर्नु मद्त गर्दछ । जति जति एउटा कम्युनिस्टभित्र अध्ययनको स्तरमा वृद्धि हुँदै जान्छ, त्यति त्यति नै समाज परिवर्तनप्रति उसभित्र सही समझदारी र सही दृष्टिकोण निर्माण हुँदै जान्छ ।
लेनिनले वारम्वार क्रान्तिकारी सिद्धान्तमा जोड दिएको पाइन्छ । उहाँले त क्रान्तिकारी सिद्धान्त बिना सर्वहारावर्गको मुक्तिका लागि गरिने क्रान्ति सम्भव नहुने कुरामा जोड दिनु भएको पाइन्छ । त्यसकारण एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा क्रान्तिकारी सिद्धान्तको ज्ञान हुनु आवश्यक पर्दछ । अर्को वाक्यमा पार्टीका नेता तथा कार्यकर्तामा क्रान्तिकारी सिद्धान्तको ज्ञानको अभावमा पार्टीले क्रान्तिको अभिभारा पूरा गर्न सक्दैन । त्यसैले सैद्धान्तिक विकासका लागि पार्टीले लगातार स्वाध्ययन तथा पार्टी प्रशिक्षण दुवैमा जोड दिनु आवश्यक पर्दछ ।
माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन तथा माओ जस्ता माक्र्सवादका प्रवर्तकहरूले कम्युनिस्ट पार्टीका सदस्यको दृष्टिकोण क्रान्तिकारी बनाउन स्व:अध्ययनमा निकै ध्यान दिनुका साथै पार्टी स्कुलिंगमा जोड दिएको पाइन्छ । अध्ययनको सवालमा कार्ल माक्र्स, एङ्गेल्स तथा लेनिनको जीवनशैली निकै अनुकरणीय रहेको छ । उहाँहरूले अध्ययनलाई आफ्नो जीवनशैली बनाएको पाइन्छ । अध्ययनको सवालमा उहाँहरूले अपनाएको जीवनशैली एउटा क्रान्नितकारी कम्युनिस्टका लागि प्रेरणाको स्रोतको रूपमा काम गर्ने गर्दछ ।
माओले पनि अध्ययनमा निकै जोड दिने गर्नुहुन्थ्यो । अध्ययन र व्यवहारबिचको द्वन्द्वात्मक सम्बन्धमाथि माओले बारम्बार जोड दिएको पाइन्छ । अध्ययनको उद्देश्यलाई उहाँले सधैभरी क्रान्तिकारी आन्दोलनसँग जोड्ने प्रयत्न गरेको पाइन्छ ।
माक्र्सको जीवनीको अध्ययनबाट थाहा हुन्छ कि उहाँले विराट पैमानामा अध्ययन नगरेको भए पुँजीवादका विरुद्ध लड्नका लागि सर्वहारा वर्गलाई माक्र्सवाद जस्तो वैचारिक हतियार प्राप्त हुन सक्दैनथ्यो । माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन तथा माओको थकानरहीत अध्ययनको परिणाम नै माक्र्सवादको जन्म, विकास तथा प्रयोग भएको पाइन्छ ।
उहाँहरुले गरेको यही विराट पैमानाको अध्ययनले माक्र्सवादभित्र ज्ञानको विपुल भण्डार निर्माण सम्भव भएको हो । माक्र्सवादभित्र रहेको यस्तो विपुल ज्ञानको भण्डारलाई गहन स्व:अध्यनमार्फत त्यसलाई सर्वहारावर्गीय क्रान्तिका निम्ति प्रयोग गर्न सक्नु पर्दछ । क्रान्तिलाई सफलतासम्म पुर्याउनका लागि माक्र्सवादको आफ्नो मुलुकको वस्तुस्थितिअनुसार प्रयोग गर्न दक्षता प्राप्त गर्नपनि माक्र्सवादी सिद्धान्त तथा आफ्नो मुलुकको वस्तुस्थितिको ज्ञान तथा अध्ययन हुनु अति जरुरी छ ।
विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका दौरानमा माक्र्सवाद तथा आफ्नो मुलुकको वस्तुस्थितिको सम्बन्धमा सही अध्ययनको अभावका कारण नेपालसहित विश्वका कैयौँ मुलुकमा भए गरिएका कैयौँ क्रान्ति असफलतामा टुङ्गिएका अनगिन्ति उदाहरणहरु छन् ।
रुसमा नारोदनिकहरूलाई रुसको अवस्थाको बारेमा सही समझदारी वा अध्ययनको अभाव थियो । त्यसको परिणाम नरोदनिकहरूले माथिल्लो स्तरमा विकास गरेको आन्दोलन पनि हिंसात्मक हुँदै अन्तमा असफलतामा परिणत भएको इतिहास छ ।
क्रान्तिको सफलताका लागि अध्ययनको महत्वमाथि जोड दिँदै माओले “पार्टीको कार्यशैली सुधार” सम्बन्धी लेखमा भन्नु भएको छ : “आफूसँग एउटा क्रान्तिकारी सिद्धान्त नभइकन, इतिहासको ज्ञान नभइकन र व्यावहारिक आन्दोलनलाई गहन रूपले नबुझिकन कुनै पनि राजनीतिक पार्टीले एउटा महान् क्रान्तिकारी आन्दोलनलाई विजयसम्म डोहर्याउनु असम्भव छ ।”
माओको उक्त भनाइबाट पनि क्रान्तिको सफलताका लागि अध्ययनको कति ठुलो महत्व रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । शत्रुको तख्ता पल्टाउने अभिभारा पूरा गर्नका लागि अध्ययन शैलीमा सुधार गर्नैपर्छ भनेर माओले जोड दिएको पाइन्छ । माओले हमेसा क्रान्तिका लागि पार्टीको कार्यशैली सच्याउनुपर्ने कुरामा जोड दिँदा अध्ययन शैलीलाई पार्टीको कार्यशैलीको अभिन्न अङ्गका रूपमा अगाडि सारेको पाइन्छ ।
त्यति मात्र नभएर आफ्ना सदस्यको स्तर माथि उठाउन माओले अध्ययनसम्बन्धी आन्दोलन नै सञ्चालन गरेको पाइन्छ । माओले चीनमा पार्टीभित्र सञ्चालन गरेको शुद्धीकरण आन्दोलनमा अध्ययनलाई पनि एउटा सर्त बनाउनु भएको थियो । त्यसका साथै माओले अध्ययनलाई व्यवहारसँग जोड्नुपर्ने कुरामा पनि बारम्बार जोड दिएको पाइन्छ ।
माओले किताबको आधारमा मात्र समाज विज्ञानको अध्ययन गर्नु बढी घातक हुन सक्ने, त्यसले प्रतिक्रान्तिको बाटोमा डोर्याउन सक्नेसमेत खतरा औँल्याउँदै अध्ययनलाई व्यवहारसँग जोड्नुपर्ने बताउनु भएको छ । उपर्युक्त सङ्क्षिप्त विवरणबाट माओले अध्ययनलाई कति महत्व दिनु हुन्थ्यो ? प्रष्ट हुन्छ ।
लेनिनले त क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी आन्दोलन अगाडि बढ्न नसक्ने बताएको पाइन्छ । लेनिनले क्रान्तिकारी आन्दोलन अगाडि बढाउन क्रान्तिकारी सिद्धान्तमा दीक्षित हजारौँ कार्यकर्ताको आवश्यकता पूर्ति गर्न सैद्धान्तिक पक्षको अध्ययनमा जोड दिएको पाइन्छ ।
क्रान्तिकारी सिद्धान्तमा सधैभरी लेनिनको जोड थियो । अझ उहाँले अध्ययनमा जोड दिँदै भन्नु भएका निम्न भनाइहरु क्ति सान्दर्भिक छन, जसमा उहाँले भन्नभएको छ : “कुनै व्यक्ति दर्शनको अध्ययन नगरिकन सच्चा कम्युनिस्ट बन्न सक्दैन ।” अर्थात् कम्युनिस्ट हुनका लागि दर्शनको अध्ययनलाई एउटा महत्वपूर्ण सर्त नै उहाँले बनाइएको पाइन्छ ।
माक्र्सवादका प्रतिपादक कार्ल माक्र्सले अध्ययनमा जोड दिनुका साथै अध्ययन गर्ने द्वन्द्वात्मक प्रणालीसमेत उपलब्ध गराउनुभएको छ । अध्ययनको क्षेत्रमा प्रयोग गरिने द्वन्द्वात्मक प्रणालीले अध्ययन कसरी गर्ने ? त्यसबारे गम्भीर दिशाबोधसमेत गरेको छ । उहाँले आजीवन अथकित रूपमा अध्ययन, अनुसन्धानमा जोड दिनुभयो । अध्ययनप्रति माक्र्सको कति ठुलो लगाव थियो भन्ने कुरा थाहा पाउन उहाँका केही भनाइ तथा कार्यलाई दृष्टान्तको रूपमा यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुने छ ।
१८६५ अप्रैल १० मा माक्र्सले लेखेको स्वीकारोक्तिमा आफ्नो प्रिय पेसा “किताबी किरा” बन्नुलाई बताउनु भएको छ । त्यसबाट पनि माक्र्समा पुस्तकमा ठुलो लगाव र उत्साह थियो भन्ने कुरा प्रस्ट हुन्छ ।
अध्ययनका लागि सङ्कलित विविध सामग्रीलाई माक्र्सले आफ्नो उद्देश्यको सेवाका लागि प्रयोग गर्नुहुन्थ्यो । त्यसैले माक्र्सले भन्ने गर्नुहुन्थ्यो– “किताब मेरा दास हुन् र तिनीहरूले मैले चाहेअनुसार मेरो सेवा गर्नुपर्छ ।”
माक्र्सले एउटा पत्रमा लेख्नुभएको छ– “मलाई किताब धेरै मन पर्छन् भन्ने कुरा तिमीहरूले अवश्य पनि अनुमान गर्ने छौ । म एउटा यस्तो यन्त्र हो, जसको काम किताबको भक्षण गर्नु हो ।”
मृत्युपर्यन्त माक्र्सको ज्ञानप्रतिको लालसा समाप्त भएन । उहाँले अत्यन्तै कष्टकर अवस्थामा पनि अध्ययन र लेखन कार्य रोक्नुभएन । प्राय: अहिले घेरै नेता तथा कार्यकर्ताले अध्ययन र लेखनको काम अगाडि बढाउन नसक्नुमा फिल्डमा खट्नुपर्ने, साङ्गठनिक तथा पारिवारिक तनावलाई कारण रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । तर हाम्रै गुरु कार्ल माक्र्सको जीवन भयङ्कर अभाव र गरिबीमा बितेको हामी सबैलाई थाहा छ तर त्यस्तो अवस्थामा पनि उहाँको लेखन र अध्ययन कार्य रोकिएन ।
“नेपोलियन बोनापार्टको अठारौँ बु्रमेर” शीर्षकको गम्भीर कृति लेख्दाको अवधिभरि माक्र्स घरबाट बाहिर निष्कनु सक्नु भएन किनभने गरिबीका कारण उहाँले आफ्ना लुगा बन्धक राख्नुभएको थियो । यो कृति लेख्न उहाँलाई झन्डै डेढ वर्ष लागेको थियो ।
“पुँजी” जस्तो विख्यात पुस्तक लेख्न माक्र्सलाई झन्डै १५ वर्ष लागेको थियो । यो अवधिमा उहाँले भयङ्कर अभाव र पीडा ब्यहोरेको पाइन्छ ।
स्वयम् जेनी माक्र्सले सो सम्बन्धमा लेख्नुभएको छ : “जुन कठिन स्थितिमा पुँजी लेखियो, त्यस्तो कठिन स्थितिमा लेखिएका किताब थोरै मात्र हुन सक्दछन् ।” जेनीको यो भनाइबाट पनि “पुँजी” को लेखन माक्र्सले कष्टकर अवस्थामा गर्नुभएको थियो भन्ने जानकारी प्राप्त हुन्छ ।
शारीरिक रूपले गम्भीर रोगबाट थलिएको अवस्थामा पनि माक्र्सको अध्ययनमा कुनै कमी नआएको देख्दा आश्चर्य लाग्छ । जहरबाथ जस्तो गम्भीर रोगले थलिएको अवस्थामा माक्र्सले रुसी भाषा तथा जेनी रोगले थलिएका बेला निजको कुरुवा बसेको अवधिमा माक्र्सले गणितमा अध्ययन अगाडि बढाएर ती विषयमा पकड कायम गर्नुभएको थियो ।
माक्र्स कैयौँ भाषाको ज्ञाता हुनुहुन्थ्यो । माक्र्सलाई प्रादेशिक भाषाको पनि राम्रो ज्ञान थियो । “पुँजी” मा उहाँले ती प्रादेशिक भाषाको व्यापक प्रयोग गरेको पाइन्छ । पुँजीमा विज्ञानका सबै शाखाका लिएका उदाहरणबाट पनि माक्र्सको अध्ययन निकै विस्तारित थियो भन्ने कुरा स्पष्ट हुन्छ ।
अध्ययनको सवालमा माक्र्सले अपनाएको जीवनशैली हामी सबैका लागि अनुकरणीय छ । उपर्युक्त संक्षिप्त विवरणबाट क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन स्व:अध्ययनको कति निकै ठूलो महत्व रहेको कुरा प्रस्ट हुन्छ ।
hukumsingh2012@yahoo.com