काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपालमा दैनिक उपभोग्य वस्तुहरुको बजार भाउ दिन प्रतिदिन आकाशिँदै गएको भन्दै दैनिक उपभोग्य वस्तुहरुको बजार भाउ नियन्त्रण गर्न देउवा सरकार समक्ष जोडदार माग गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एक प्रेस वक्तव्य जारी गर्दै यस्तो माग गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “महङ्गी र जनताका समस्याप्रति सरकार यदि सम्वेदनशील थियो भने नेपाल आयल निगमबाट राज्यले लिने कर घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन सरकार किन तयार हुँदैन ? सत्तामा रहनेहरु मोटाइरहने र भ्रष्टाचार गरेको रकम तथा चुनावी खर्चको गह्रुङ्गो भारी जनतालाई बोकाइरहने संसदीय सत्ता, व्यवस्था र त्यसका शासकहरुको हाम्रो पार्टी तीव्र विरोध गर्दछ । हाम्रो पार्टी पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिई त्यसको न्यूनतम मूल्य कायम गर्न र ग्यास, खाद्य तेल, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुहरुको बजार भाउ नियन्त्रण गर्न सरकार समक्ष जोडदार माग गर्दछ । यस प्रकारका मागहरु पुुरा गराउनका लागि हाम्रो पार्टी संयुक्त रुपमा सङ्घर्षमा उत्रन सम्पूर्ण, क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, देशभक्त तथा सच्चा जनतन्त्रका पक्षधर पार्टी समूह एवम् व्यक्तित्वहरुमा हार्दिक आह्वान गर्दछ ।”
वक्तव्यमा भनिएको छ, “वितेका केही महिनादेखि अस्वाभाविक र अनियन्त्रित रुपमा बढेको बजार भाउको परिणामस्वरुप मजदुर, किसान, खुद्रा व्यापारी, न्यून वैतनिक कर्मचारी, विद्यार्थी लगायत कम आय भएका जनसमूह दिनको दुईछाक टार्ने समस्याले रन्थनिँदै आएका छन् । त्यसमाथि गत वैशाख ३१ गते भारी मात्रामा नेपाल सरकार र नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यातायात लगायत सम्पूर्ण उपभोग्य वस्तुहरु अझ महङ्गो हुने निश्चित छ । आउने दिनमा महङ्गीको चक्र रोकिने स्थिति देखिँदैन ।”
महंगी बढ्नुको कारणबारे उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “सरकारले महङ्गी बढनुका पछाडि अन्तर्राष्ट्रिय कारण रहेको बताउँदै आएको छ । वस्तुतः यो आफ्नो जनविरोधी चरित्र, गैरजिम्मेवारी र असक्षमतालाई पर्दाहाल्ने कुतर्क बाहेक अरु केही होइन । सत्ता गठबन्धनका नेताहरु र सत्ता सञ्चालन गर्ने नोकरशाहहरुको मिलेमतोमा गरिने भ्रष्टाचार तथा कमिसन चक्रिय रुपमा भइरहने मूल्य बृद्धिको प्रमूख कारण हो । पछिल्लो मूल्य बृद्धि स्थानीय चुनाव खर्चका लागि चन्दाका रुपमा दिएकोे रकम असुल गराउन सरकार र ठुला व्यापारीका बीच गरिएको मिलेमतोको परिणाम हो ।”
सङ्घर्षमा अगाडि बढिरहने दृढता व्यक्त गर्दै वक्तव्यमा भनिएको छ, “नेपालको वर्तमान सत्ता र व्यवस्था सीमित दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको स्वार्थ रक्षागर्ने राजनीतिक हतियार हुन् । यो सत्ता तथा व्यवस्था अन्तर्गत कुनै पनि सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैन । हाम्रो पार्टीले देशको राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका लागि यो सत्ता एवम् व्यवस्थाका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । नयाँँ जनवाद हुँदै वैज्ञानिक समाजवाद तथा साम्यवाद नै विद्यमान सत्ता तथा व्यवस्थाको एकमात्र विकल्प हो । उक्त उद्देश्य प्राप्त गर्नका लागि हाम्रो पार्टी सङ्घर्षमा अगाडि बढिरहने दृढता व्यक्त गर्दछ ।” 





























