बिषय प्रवेश :–
१३३ बर्ष अधि कमरेड एंगेल्स नेतृत्वको दोश्रो अन्तरराष्टृय द्वारा अमेरिकी श्रमिकहरुको साहस र सौर्य मात्रै होइन आफ्ना उद्देश्य प्रतिको अबिचलित समर्पण मार्फत प्राप्त गरेका सफलताका साथै मजदुरहरुले खडा गरेका ऐतिहासिक कीर्तिमानहरुको बिश्वब्यापीकरण गर्ने निर्णयसँगै मजदुर आन्दोनको त्यो गौरवगाथा आज पर्यन्त संसारभर स्मरण गरिदै आएको छ । १३३ औं मे दिवसको बारेमा चर्चा गर्दा हामीले अमेरिकी मजदुर आन्दोलनको बिरता,बलिदान र बिजयको गौरवका साथै पुजीवादी शोषण उत्पीडनका विरुद्ध मजदुर आन्दोलनले समाएको क्रान्तिकारी सिद्धान्तका साथै कानुनी सिमा र बन्देजहरु भत्काएर मात्रै मजदुर बर्गले आफ्ना उद्देश्यहरु प्राप्त गर्न सक्छन भन्ने कुराको गम्भीर महत्त्वलाई न्यूनीकरण गर्न हुदैन।मइ आन्दोलनको स्मरण गर्नुको अर्थ त्यसको क्रान्तिकारी आत्माको रछ्या गर्नु हो,त्यसप्रति प्रतिबद्ध रहनु हो र त्यसको उज्यालोमा अगाडि बढ्नु भन्ने कुरा आत्मसात गर्नु पर्दछ ।


युगको भाष्य प्रयास
उदारीकरणको युग,उदार प्रजातान्त्रिक युग,प्रतिस्पर्धाको युग,स्वतन्त्रताको युग,समृद्धिकोयुग आदि भनेर आजको युगको परिभाषा गर्ने गरिएको छ । भुमण्डलीकृत बिश्व ब्यबस्था जे जस्ता बिशेषण झुण्ड्याए पनि, जे जति स्वर्णिम युगको रुपमा महिमा गरे पनि आजको युगको मुलभुत चरित्रको चरितार्थ गर्न त्यतिले मात्रै सम्भावना छैन । गत शताब्दीको अन्त्यमा अमेरिकी बिश्व ब्यबस्थाको उदय र सोभियत मोडेलको पराजय सँगै नयाँ युगको सुत्रपात भएको घोषणाका साथ पुँजिवादी भाष्य स्थापित गर्न कोशिश हुँदै आएका छन । तिनै भाष्य र दृष्टिकोणबाट झट्ट हेर्दा त्यस्ता भनाइहरु आकर्षक अबस्य छन तर परिस्थिति त्यति आकर्षक छैन।श्रम र पुजीका बिच बिषमता बढ्दो छ । एकातिर मुट्ठिभर मानिसहरु समृद्धिको शिखर चढ्दै जाने अर्कोतिर बहुसंख्यक मानिसहरू गरिबीको पाताल भासिदै जाने प्रक्रियाले तिब्रता पाइरहेको छ।उत्पादनका साधनहरुको उन्नति र प्रगतिले उत्पादनमा ब्यापकता आइरहेको छ तर त्यो बितरणका हिसाबले सिमित मानिसका जीवनमा मात्रै सुबिधा प्राप्त छन।उन्नत प्रबिधिको बिकास र त्यसमाथिको स्वामित्व पुँजिपतीबर्गले आफ्नो पकड र नियन्त्रणबाट बाहिर जान दिइरहेको छैन अझ भनौं उत्पादनका साधनहरु पुँजिपतीबर्गले आफ्नो नियन्त्रण कायम गर्ने चरीत्रमा कुनै परिवर्तन भएको छैन । खास केही देशहरू उन्नत प्रविधिमाथिको बर्चस्व सहित समृद्दीले अकल्पनीय उभोगती हासिल गर्दै जाने अर्कोतिर बहुसंख्यक देशहरूको उधोगतीतिर झर्दै जाने र श्रम शक्ति निर्यात गरेर जीवन जिउन पर्ने बाध्यता छ।तेस्रो बिश्व अथवा गरिब तथा निर्वाहमुखी अर्थतन्त्र भएका मुलुकहरुले थपिदै गएको श्रमशक्ति खपत गर्न सक्ने श्रम बजारको ब्यबस्थापन गर्न सक्ने स्थिति छैन साथै श्रमिकहरुका आकांक्षाहरुको सामान्य संबोधन गर्न सक्ने सन्तुलित र न्यायोचित श्रम नितिहरुको निर्माण गर्न सक्ने हैसियत समेत राख्न सक्दैनन फलस्वरूप त्यहाँका श्रमिकहरुको विकसित मुलुकहरु तर्फ पलायनको लहर झन पछि झन बढ्दो छ ।
कम्युनिस्ट र मजदुर आन्दोलन:–
विश्वभरी कम्युनिस्ट आन्दोलन संकट ग्रस्त छ । सशस्त्र संघर्ष मार्फत अगाडि बढिरहेका केहि पार्टीहरुले युद्धमा धक्का खाएर संकटतिर धकेलिएका छन । केही पार्टीहरु संसद र चुनावमा पराजित भएर कम्युनिस्ट आन्दोलनको उठान र बिकाशका निम्ति भएका प्रयत्नहरुले एक पछि अर्को असफलता बेहोरिरहेको छ । एकातिर आफ्ना बिरोधि बर्गका विरुद्धको मोर्चामा भन्दा धेरै अन्तरपार्टी संघर्षमा पराजित हुँदै आएको कम्युनिस्ट आन्दोलनको स्थिति छ । नेपाली कम्युनिस्ट आन्दोलनको स्थिति पनि त्यो भन्दा पृथक छैन । नेपालमा कम्युनिस्ट नामका दर्जनौं पार्टीहरु स्थापित छन । आफुलाइ नेपाल कै नम्बर एक भन्ने कम्युनिस्ट पार्टीको नाममा चुनावी श्रेष्ठता कायम गरेर श्रमजीवीबर्गको नेतृत्व गर्ने दावीका साथ संसदमा दुई तिहाईको नजिक जित हासिल गरेर पुगे पनि नेपाली मजदुरहरुको जिवनमा कुनै आशातित काम हुन सकेन।बरु उदारीकरणको निति अनुसरण गरेर श्रमिकहरु माथि शोषण,दोहन र उत्पीडन गर्ने कानुनहरु निर्माण गरिए । समाजवाद उन्मुख ब्यबस्था,पुरानो अध्यारो युगको अन्त्य र नयाँ उज्यालो युगको सुत्रपात,रोजगारिको हकको प्रत्याभूति जस्ता आकर्षक नाराहरुले श्रमिकहरुको जीवनमा कुनै परिवर्तन सम्भव थिएन । त्यसका निम्ति क्रान्तिकारी सिद्धान्त,नीति योजना र कार्यक्रम साथै त्यसको कार्यान्वयन गर्ने इमानदार प्रयत्न चाहिन्थ्यो त्यो चाहिँ थिएन । मुख्य प्रश्न संसदवादले मजदुरबर्गको हितमा काम गर्न सक्ने थिएन त्यसैले कुरा सामजवादको गरेर सेवा उदारवादको थियो ।
मजदुर आन्दोलन कस्तो
हामीले भन्दै आएको क्रान्तिकारी मजदुर आन्दोलनको केन्द्रीय कुरा भनेको यहाँको राजनितीक ब्यबस्था बदल्ने कुरा हो । राज्यसत्ता बदल्ने कुरा हो । तसर्थ मजदुर आन्दोलन भनेको राजनितिक आन्दोलन कै हिस्सा हो । यो सारत: राजनीतिक आन्दोलन हो । क्रान्तिकारी मजदुर आन्दोलनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सम्बद्ध राजनितीको सेवा गरेर त्यो आन्दोलनमा एकाकार भएर मात्रै आफ्ना उद्देश्यहरु प्राप्त गर्न सक्दछ । यसलाई राजनीतिबाट स्वतन्त्र र पेशागत बिषय मात्रै बुझियो भने त्यो अर्थवाद,ट्रेडयुनियनवाद हुन पुग्दछ । अर्थवाद र ट्रेडयुनियनवादले गैर–राजनितिक मजदुर आन्दोलन र स्वतन्त्र मजदुर संगठनको माग गर्नुका साथै तलवमानमा वृद्धि,सेवा सुबिधामा वृद्धि,पेशागत र सामाजिक सुरक्षाका अधिकारहरुको सामान्य पुर्पक्ष गर्दछ । यसले मजदुर आन्दोलन र पेशागत अधिकारका बिचमा पर्खाल खडा गर्नुका साथै कानुनी सिमाबद्द आन्दोलनको पैरवी गर्दछ । तर राज्य सत्ता र ब्यबस्थाका दोषहरुका कारण मजदुरबर्गको दीर्घकालीन हित कुण्ठित भएका हुन्छन भन्नेकुरा बुझ्न सक्दैन । अझ भनौं यसले साम्राज्यवाद र तेस्रो बिश्वका बिचको अंतर्विरोधका साथै श्रम र पुँजी वा श्रमिकबर्ग र पुजिंपतीबर्ग बिचको अंतर्विरोधलाई हल गर्न समाजवादी राज्य ब्यबस्थाको आबस्यकतालाई बुझ्दैन ।
केही ब्यबहारिक कुरा
विभिन्न पत्र–पत्रिकामार्फत सार्वजनिक सूचनालाई आधार मान्दा नेपाली औपचारिक श्रम बजारमा ३५ लाख मजदुरहरु कृयाशिल छन । अनौपचारिक श्रम बजारमा पनि २०–२५ लाखको संख्यामा श्रमिकहरुको कृयाशिलता हुन सक्छ । यद्यपि त्यसको वास्तविक अध्ययन हामिले गर्न सकेका छैनौं । तथापि कुल पचास लाख भन्दा माथि नै श्रमिकहरु छन भन्न सकिन्छ । देशमा झण्डै दुई दर्जन जति महासंघहरु कृयाशिल रहेका छन । झण्डै दुई दर्जन महासंघहरुका घटक संघहरुको संख्या न्युनतम २ सय हुन सम्भव छ । तथापि नेपाली मजदुरहरुको निक्कै सानो अर्थात पौने दुई लाख मजदुरहरु मात्रै संगठनको दायरामा छन भनिन्छ । हरेक बर्ष त्यो संख्या ओरालो लाग्दो छ । मजदुरहरुका पेशागत अधिकार कुण्ठित भैरहेका छन । श्रम बजार श्रमिक मैत्री छैन । सामाजिक सम्मानका दृष्टिले मजदुरबर्ग अपमानित र हेयकर बनाइएको छ । राजनीतिक दृष्टिले श्रमिकबर्गको कुनै भुमिका र स्थान छैन । तथापि नेपाली मजदुर आन्दोलनका ज्वलन्त प्रश्नहरु सडकमा उठ्न सकिरहेका छैनन । थुप्रै गोष्ठी र सेमिनार आयोजित हुन्छन । मजदुरका नाममा देश बिदेशको भ्रमणमा लर्कन लाग्ने गर्छन । मजदुर नेता कार्यकर्ताहरुका तालिम र शिक्षा दिक्षाका नाममा बर्सेनि पौने अरब जतिको विभिन्न परियोजनाहरु संचालित हुन्छन भनिन्छ । त्यसका बाबजुद श्रम प्रतिष्ठानहरुमा मौनता छ र आवाज बिहिनहरुको आवाज बोलिदिने जिम्मेवार निकाय र ट्रेड युनियनहरु भुमिका बिहिन जस्ता देखिएका छन । मजदुर र ट्रेड युनियनहरुका बिचको सम्बन्ध सुमधुर हुँदै जानुको सट्टा दुरि बढ्दै जानुका कारणहरु के हुन सक्छन भन्ने जस्ता प्रश्न बारे व्यापक बहस सिर्जना गर्दै मजदुर आन्दोलनको बिकास गर्ने बाटो खोज्न अब ढिलाइ गर्नु हुन्न ।
अन्त्यमा, हामीलाई थाह छ क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी राजनिती अगाडी बढ्न सक्दैन । क्रान्तिकारी सिद्दान्तको न्यूनीकरण गरेर क्रान्तिकारी आन्दोलनको कुरा गर्नु आफैमा धोका हो । यसका लागि हामिले हाम्रा ब्यबहारका साथै अध्ययनलाई समेत बढाउनु पर्दछ । हामीले बुझ्नु पर्दछ कि सिद्धान्त भनेको व्यवहार सिद्ध अनुभवबाट बिकसित र परिस्कृत ज्ञान कै संग्रह हो । त्यसैले क्रान्तिकारी सिद्धान्तले हाम्रा बाटाहरुमा आइपर्ने अप्ठ्याराहरु जान्न मात्रै होइन त्यसलाई सामना गर्ने उपायको समेत मार्गदर्शन गराउछ । आजको संसारलाई बैज्ञानिक ढंगले हेर्न,बुझ्न र बदल्न दिशानिर्देश गर्दछ । हामिले क्रान्तिकारी सिद्दान्तको आधारमा क्रान्तिकारी मजदुर आन्दोलको पुनर्गठन गर्न पर्दछ । हामीले औधोगिक प्रतिष्ठान लगायत श्रम बजारमा मजदुरहरु सँगै एकाकार भएर काम गर्न सक्ने नेता कार्यकर्ता तयार गर्नु पर्दछ । मजदुरहरुको उदाउँदो शक्तिलाई बुझेर त्यसलाई जागृत गर्ने काममा मेहनत गर्न सक्ने प्रतिभा र क्षमताको केन्द्रीकरण गर्न पर्दछ । आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । लेनिनको यो सश्लेशण आज पनि सत्य छ । बदलिँदो बिश्व सन्तुलन र संसारमा हुँदै गरेको फेरबदल र उथलपुथलका प्रभावहरुले हामीलाई पनि हल्लाउने नै छ । हामीले मजदुर आन्दोल द्वारा देश दुनियाँ हल्लाउने अठोट गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर