
काठमाडौं/नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । यही फागुन ३० र चैत १ गते दुइ दिनसम्म काठमाडौंमा बसेको बैठकले सरकारी जमिन हडपेर दलाली गरिरहेका भूमाफियाहरूलाई कारबाही गर्ने निर्णय सहित विभिन्न निर्णयहरू गर्दै बैठक सम्पन्न भएको सो सङ्गठनका महासचिव धनेश्वर पोखरेलले बताएका छन् ।
बैठकले नेपालका विभिन्न क्षेत्रमा क्रियाशील किसानहरूका जल्दाबल्दा समस्याहरूलाई लिएर गरिँदै आएका आन्दोलनहरूलाई राष्ट्रिय मुक्ति आन्दोलनसँग जोडेर आगामि दिनमा त्यसलाइ चरणवद्ध रूपमा सशक्त ढङ्गबाट सञ्चालन गर्ने निर्णय गरेको महासचिव पोखरेल बताए । यसैबिच किसान महासङ्घका बिभिन्न आङ्गिक सङ्गठनहरू निर्माण गर्ने पनि जनाइएको छ । त्यसका लागि महासङ्घका केन्द्रीय सदस्यहरूलाई संयोजक तोकिएको छ । जसमा ‘पशुपालन, मासु तथा दूघ्द व्यवसाय सङ्घ’ मा बाबुराम सुवेदी, ‘तरकारी तथा फलफूल व्यवसायी सङ्घ’मा तिलक बराल, ‘माछा पालन व्यवसायी सङ्घ’ मा गङ्गादेवी राई, ‘कुखुरा पंछी पालनव्यवसायी सङ्घ’ का लागि प्रकाशबाबु खनाल र ‘माहुरी पालन व्यवसाय’ मा नन्दराम रोकायलाई संयोजक तोकिएको छ ।

त्यसैगरी बैठकले आगामि वर्षको भित्तेपात्रो तथा मुखपत्र प्रकाशन गर्ने, सङ्गठनमा राजनीतिक वैचारिक प्रशिक्षणहरू सञ्चालन गर्ने, किसानका समस्या र आन्दोलनका बारेमा देशव्यापि अन्तरक्रिया, छलफल, आन्तरिक प्रशिक्षण चलाउने निर्णय गरिएको महासचिव पोखरेलले बताए । महासङ्घका अध्यक्ष सीताराम तामाङले बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न समस्याहरूबारे वैचारिक धारणा राख्दै बैठकको समापन गरेका थिए ।