एमसीसीका विरुद्ध संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिको विरोध प्रदर्शनसहितको सभा सम्पन्न(फोटोफिचर)

एमसीसीका विरुद्ध संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिको विरोध प्रदर्शनसहितको सभा सम्पन्न(फोटोफिचर)

काठमाडौं । संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिद्वारा एमसीसी सम्झौताको विरुद्धमा २०७८ फागुन ३० गते जुलुससहित विरोधसभा सम्पन्न गरेको छ । काठमाडौँ माइतीघर मण्डलामा सम्पन्न एमसीसी सम्झौता खारेजीको लागि प्रदर्शन तथा सभामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष इश्वर तिमिल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष लोकराज भुसाललगायतका मजदुर नेताहरुले विरोध मन्तव्य राख्नुभएको थियो ।

क्रान्तिकारी ट्रेड युनियन महासङ्घका महासचिव बसन्त बोगटीले सञ्चालन गरेको विरोधसभामा वक्ताहरुले राष्ट्रघाती एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, स्वाधीनता र स्वाभिमानमाथि आँच पु¥याउने कार्य बन्द गर्न, साम्राज्यवादीको दलाली गरी नेपाल र नेपालीमाथि दीर्घकालीन असर पुर्याउने रणनैतिक कार्यहरू नगर्न र असंलग्न पञ्चशीलको सिद्धान्तको बैदेशिक नीति अबलम्बन गर्न तथा छिमेकीहरूसँगको सन्तुलित सम्बन्ध कायम गर्न र गराउन माग गर्नुभएको थियो ।

त्यसैगरी वक्ताहरूले मजदुर विरोधी श्रम कानुन, नियम खारेज गर्न, नो वर्क नो पे र हायर एन्ड फायर नीति बन्द गर्न पनि आवाज समेत उठाउनुभयो । सम्बोधनको क्रममा वक्ताहरूले पेट्रोलियम पदार्थलगायतका वस्तुको चर्को मूल्यवृद्धि फिर्ता गर्न र बजार महङ्गी नियमन, नियन्त्रण गर्न जोडदार मागसमेत गर्नुभयो ।