मिथिला राज्य, ऐतिहासिक तथ्य र आन्तरिक राष्ट्रियताबारे

मिथिला राज्य, ऐतिहासिक तथ्य र आन्तरिक राष्ट्रियताबारे

 

 

२ न. प्रदेशको मधेस नामाकरणसंग केही महत्त्वपूर्ण विषयवस्तुहरुको संवेदनशीलता जोडिएको छ । वास्तवमा त्यो मधेस प्रदेश हो वा मिथिला ? भन्ने विषयमा व्यापक बौद्यिक बहस शुरु भएको छ । वाद, विवाद वा छलफल र बहसले संवाद वा निष्कर्षको प्रक्रियामा पुग्न निशन्देह मद्दत पु¥याउने नै छ । यसका लागि थप छलफल र बहस हुन अझ बढि आवश्यक देखिन्छ ।
यहाँ उठाउन खोजिएको विषय चाहिँ नेपालको तराईमा मधेस छ कि छैन ? वा मधेस कुन ठाउँमा छ ? भन्ने हो । यहाँ मधेसवारे विभिन्न कोणवाट कुरा उठ्ने गरेको छ । यसवारे संक्षिप्तमा चर्चा गर्न आवश्यक देखिन्छ । ऐतिहासिक तथ्य र तथ्यांकका आधारमा मधेस विन्ध्याचल पर्वतदेखि उत्तर हिमालयन पर्वत सम्म फैलिएको क्षेत्रलाई मानिन्छ । अर्थात भारतको उत्तराखण्डको प्रयागदेखि पश्चिम अम्वला सम्मको भुभाग नै मधेस हो ।
बुद्ध दर्शन अनुसार पनि मझिम देशको रुपमा यस्को चर्चा हुने गरेको पाइन्छ । प्राचीन कालमा यो क्षेत्रलाई नै आर्यवर्त भनिन्थ्यो । इतिहासविद बाबुराम आचार्यले समेत कुमाउ देखि गढ्वालको तलपट्टिको भुभाग मधेस भएको उल्लेख गरेका छन । यसलाई अझ बुझ्ने र बुझिने गरि भन्नुपर्दा आर्यवर्त अर्थात प्रयाग देखि अम्वलाभित्रको क्षेत्र, अझ स्पष्ट भाषामा विध्न्याचल पर्वतदेखि हिमालयन पर्वतको विचको क्षेत्र एसिया महादेशको मध्य भागमा पर्ने भएको हुदा यो क्षेत्र मध्य एसिया क्षेत्रको रुपमा चिनिन्छ । यहि मध्य एसिया क्षेत्रमा बसोवास गर्ने आर्य समुदायका मान्छेहरुलाई नै शुरुमा मधेसिया भनियो । त्यो क्षेत्रमा बसोवास गर्ने जनतालाई अहिले पनि मधेसिया भन्ने चलन छदैछ । दिल्लीमा बसोवास गर्ने त्यो क्षेत्रका जनताले अहिले पनि दिल्लिमा मधेसीया संगठन निर्माण गरेको पाईन्छ ।
आर्यवर्त वा मध्य एसिया क्षेत्रवाट विभिन्न समय र परिस्थितिमा अन्यत्र बसाइँसराइ गरि छरिएर रहेका आर्य समुदायका मानिसहरु नै मधेसी हुन, जो नेपालको तराई क्षेत्रमा अवस्थित मिथिला, भोजपुरा, अवध र थारहट क्षेत्र लगायत भारतको विहार उत्तरप्रदेश मध्य प्रदेश लागायतका क्षेत्रमा बसोवास गर्दै आइरहेका छन। अझ मध्य प्रदेश त मधेस, मध्यदेश हुँदै मध्यप्रदेसको रुपमा विकास हुँदै आएका विभिन्न आधार र तथ्यहरु पाइन्छन् ।
मधेश शव्दको प्रयोग सामन्यतः पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तरको क्रममा सन १७६२ मा मकवानपुर कब्जा गरेपछि सेन राजाहरुको नियन्त्रणमा रहेको मिथिला गोर्खालीहरुको अधिनमा आएपछि मात्र प्रयोग भएको पाइन्छ । त्यसयता यसको अलिवढि प्रयोग भने २०१५ सालको चुनाव पछि भएको हो। नत्र यसलाई तराई नै भनिन्थ्यो । अझ मिथिला क्षेत्रमा तराई काङ्ग्रेस नाम गरेको पार्टी नै एक समयमा अस्तित्वमा रहेको पाइन्छ। अझैसम्म तराई जनतान्त्रिक मोर्चा, तराई कोभ्रा, तराई मुक्तिमोर्चा जस्ता संगठनहरु बन्दै आइरहेका छन। दोस्रो कुरा मधेसी समुदाय नेपालको तराईका अलावा विहार, झारखण्ड, उत्तर प्रदेश, मध्य प्रदेश लगायतका भुभागमा बसोवास गर्दै आइरहेका छन। उनीहरु वसोवास गरेकै आधारमा मधेस हुने हो भने त ती क्षेत्रमा पनि मधेस हुनुपर्ने हो नि ! तर त्यहाँको भुभागलाई त मधेस भनेर नामाकरण गर्ने कुरा उठ्ने गरेको पाइदैन त !! फेरि नेपालमा मात्र यो विषय किन निकै महत्त्वका साथ जोडतोडले उठ्यो वा उठाइयो ? यो आजको निकै महत्वपूर्ण सवाल हो। यो वियष किन यसरी उठाइयो ? यसमा थप बहस गरिरहनु पर्ने आवश्यकता छैन कि यो मिथिला राज्यको पहिचान मेट्ने र त्यहाँको मैथिल राष्ट्रियता समाप्त पार्ने अन्तर्निहित र प्रायाजित उदेश्य र योजनाका साथ आएको सहजै अनुमान गर्न सकिन्छ ।
मिथिला राज्यको विकास त्यो क्षेत्रमा आर्यहरुको प्रवेश हुनुभन्दा निकै अगाडि भएको पाइन्छ। मिथिलामा आर्यहरुको प्रवेश जनककालको अन्त्यतिर भएको मानिन्छ । यस विषयमा थप स्पष्ट हुन मिथिला राज्यको ऐतिहासिक पक्षमाथि ध्यान दिन आवश्यक देखिन्छ।
मिथिला प्राचिन विदेह राज्य हो। यो राज्यको इतिहास इ. पु. १५०० तिरवाट जोडिन्छ। त्यसवेलाका मिथि नाम गरेका राजा नै यो राज्यका संस्थापक राजा मानिन्छ । मिथिकै नाम वाट विदेह राज्यलाई मिथिला भन्न थालिएको हो। मिथिलाका राजाहरुलाई जनक भन्ने गरिन्थ्यो । जनक त्यहाँको साझा संस्था जस्तै भएको हुनाले मिथिलाका राजाहरुलाई जनक भन्ने गरिन्थ्यो । रामायणमा उल्लेख गरिएका जनक राजालाई शीरध्वज जनक भनिन्थ्यो । शीरध्वज जनक मिथिलाका २२ औ पुस्ताका राजा थिए। यीनिहरुका २५ पुस्ताले यो क्षेत्रमा एक हजार बर्ष शासन गरेको पाइन्छ। मिथिला राज्य प्राचिनकालिन राज्यमा सबैभन्दा पुरानो ससक्त र सुसंस्कृत राज्य मानिन्थ्यो ।
इ. पु. चौथो शताब्दीतिर अजातशत्रुको आक्रमणवाट मगध साम्राज्यको नियन्त्रणमा आएपछि मिथिला राज्यको अन्त्य भई तुरहुत राज्यको स्थापना भएको पाइन्छ। तिरहुत राज्यका संस्थापक अजातशत्रु अष्ट्रिक मुलका थिए कि आर्य मुलका थिए ? भन्ने विवाद अझैसम्म कायमै छ। इशाको चौथो शताब्दीतिर मगधका राजा नन्द र मौर्यहरु मिलेर मिथिलालाई नियन्त्रणमा लिए पनि मौर्य साम्राज्य दुई शताब्दी भन्दा टिक्न सकेन। अजातशत्रुको आक्रमण वाट जनकपुरमा केन्द्रित मिथिला राज्य मगध साम्राज्यको नियन्त्रणमा गएपछि सिरहामा सलेहशबंशीय शासन को रुपमा मिथिला राज्य रहेको पाइन्छ। सिरहाको हालको लहान नगरपालिका वाट करिब १५ किलोमिटर उत्तरदिशामा रहेको मानिक दह समेत रहेको फुलवारी क्षेत्र राजधानी रहेको थियो । वर्तमान अवस्थामा पनि मिथिलामा सलहेशः राजाको विरगाथाको विभिन्न तरिकाले चर्चा गरिने गर्दछ । मणिपद्म सलेहश राजाको पालामा तिब्बत देखि लिएर मिथिलाका समग्र भुभाग ओगटेको विशाल राज्य रहेको थियो । लिच्छविकालिन राजा मानदेवले आक्रमण गरि आफ्नो नियन्त्रणमा लिएपछि नै सलहेशबंशी राजतन्त्र अन्त्य भई मिथिला एउटा समय उपत्यकाको अधिनमा आएको थियो ।
मिथिला राज्य मौर्य साम्राज्यको उदय संगै चन्द गुप्तको शासनकालमा यसलाई गुमनाम गराइयो । पछि मौर्यबंशी चन्द्र गुप्तका नाति विक्रमादित्यको पालामा मिथिला र वैशाली राज्यलाई गुप्त साम्राज्यको प्रशासनिक अंगको रुपमा कायम गरेपछि नै यसलाई तिरहुत राज्य भन्न थालियो। मौर्यबंशीय यो तिरहुत राज्य निकै शक्तिशाली राज्यको रुपमा कायम रहन पुग्यो । आठौं शताब्दीतिर बंगालका पाल बंशी राजाहरुको नियन्त्रण कायम भएपछि नै मौर्य शासन अन्त्य भएको हो। पालबंशी राजाहरुको इ.सं. १०१९ मा शासन समाप्त भएपछि सन १०६८ सम्म मिथिलामा गाङ्येदेवले शासन गरेका थिए भने । पछि कर्नाटका राजा चाकुल्य विक्रमादित्य छौटौंको पालामा अहिलेको भारतको उत्तरी क्षेत्र आक्रमण गर्ने क्रममा कर्नाटबंशी नान्यदेवको नेतृत्वमा मिथिलामाथि आक्रमण गरि विजय प्राप्त गरेपछि सन १०९७ देखि सिम्रोनगढलाई राजधानी बनाएर मिथिलनमा कर्नाटबंशको शासन कर्नाटबंशी राजा नान्यदेव( १०९७–११३५)बाट सुरु भएको कर्नाटशासनकाल लगातार २३१ बर्षसम्म अस्थित्वमा रहेको थियो। कर्नाटबंशका अन्तिम राजा हरिसिंहदेव (१३०४–१३२६) को शासनकाल मिथिला आक्रमक सामन्त राज्यको रुपमा रहेको थियो। युद्धकलामा निपुण तथा विद्धान चन्डेश्वर ठाकुर युद्धमन्त्री नियुक्त भएपछि उनका निबन्धहरुलाई नै कर्नाटबंशी शासनको विधान र कानुन बनाइएको थियो। उनको शासनकालमा उपत्यकाका कतिपय स्थानहरु कब्जा गरिएको थियो। मंदीरहरु भत्काउनका साथसाथै लुटिएका समेत थिए। उपत्यका बहाइरका पहाडी भुभागहरु कब्जा गरिएका थिए । आक्रमक रुपमा विकास हुदै आएको यो राज्य अन्ततः यसै सिलसिलामा पतन हुन पुग्यो । दिल्लिका मुसलमान राजा गयासुद्दिन तुगलक बंगाल माथि नियन्त्रण जमाएर फर्कने क्राममा हरिसंहदेवका सेनाले आक्रमण गर्दा मुसलमान सैनिकको प्रत्याक्रमणवाट पराजित हरिसिंहदेब परिवारसहित भाग्ने क्रममा देलखा नजिकैका तीनपाटन किल्लामा पुगेपछि सन( १३२६) मा उनको निधन भयो र यो संगै कर्नाट बंसको शासन समाप्त हुन पुग्यो ।
दिल्ली सम्राट गयासुद्दिन तुगलकको सेनाले सिम्रौनगढ कब्जा गरे पनि उनीहरु त्यहाका दरवार र प्रसाशनिक भवनहरु सबै ध्वस्त पारिसकेपछि त्यसलाई छोडेर दिल्लि गए। मुसलमान सेनाले छोडेर गएपछि सिम्रौनगढ राज्यका युद्धमन्त्री चण्डेश्वर ठाकुरको बृहत मिथिला एकिकरणको योजना अन्तरगत सन १३२६ मा मैथिल ब्राह्मण ओएन ठाकुर सर्लाही जिल्लाको मुर्तिया क्षेत्रलाई राजधानी बनाएर राजा भए । दिल्लीको उपनिवेशको रुपमा करीव तीनसय वर्ष यो ब्रामणबंशीय शासन चलेको पाइन्छ । यहि समयमा मैथिल महाकवि विद्यापति(सन१३६०–१४४८) को जन्म भएको थियो। रणनीतिक चातुर्यता र कुटनैतिक निपुर्णताको अनुपम क्षमता वोकेका महाकवि विद्यापतिले मैथिलि सभ्यता सहित्य कला र संस्कृतिको क्षेत्रमा ठूलो योगदान पुर्याए। उनको कुटनैतिक चातुर्यता कति धेरै थियो? भन्ने कुरा मिथिलाबासीलाई कर बढाउन दिल्लीले दिएको आदेश नमानेको आरोपमा ब्राह्मण राजा देवसिंह ठाकुरलाई दिल्लीमा बन्दी बनाउदा समेत उनलाई मुक्त गराउन विद्यपति सफल भएका थिए। मिथिलाको राष्ट्रियताको विकासमा महाकवि विद्यापतिको महत्त्वपूर्ण योगदान र भुमिका रहेको छ ।
ब्राह्मणहरुको शासनको अन्त्य पस्चात केहि समय उपत्यकाको नियन्त्रणमा रहेको मिथिला राज्य अन्ततः पाल्पाली सेन राजाको नियन्त्रणमा गएको थियो। पछि गोर्खा राज्य विस्तारको क्राममा सन १७६२ मा मक्वानपुर राज्यमाथि पृथ्वीनारायण शाहको नियन्त्रण कायम भएपछि मिथिला राज्य आधुनिक नेपालको अंग बनेको हो ।
समग्ररुपमा भन्नुपर्दा मिथिला राज्य एक ऐतिहासिक मानव सभ्यता र संस्कृति बोकेको एक स्वतन्त्र राज्यको रुपमा रहेको पाइन्छ। पुर्वको टिष्टासम्म फैलिएको यो क्षेत्र पश्चिममा नारायणी नदिको सीमाले भेटेको उपत्यका बाहिर हिमाल क्षेत्रवाट भारतको मुजफपुर, चम्पारण दरभंगा र जलपाइगढी सम्म फैलिएको थियो। अम्मरसिंह थापा र बलभद्र कुबँरहरुिहित देशभक्त नेपालीहरुको असहमतिको बाबजुत शाहबंशीय राजाले भिमसेन थापालाई अघाडि सारेर अंग्रज सामु आत्मसमर्पण गरि सुगौली सन्धि गरेपछि नै मिथिलाको ठूलो भुभाग अन्यत्र गएको हो। यत्रो लामो इतिहास र विरताको प्राचीन विरासत बोकेको मिथिला राज्य र त्यहाँको राष्ट्रियतालाई समाप्त पार्ने गरि यसरी अहिले राज्यको पुनर्संरचना गर्ने नाममा मधेस प्रदेश नामाकरण गर्नु दुखद कुरा हो। समग्रमा यो निश्चित छ कि पौराणिक कालदेखि नै नेपालको हाल मिथिला, जनकपुर, सिम्रौनगढ, सिरहा फुलवारी, सप्तरी मानराजा, सर्लाही मुर्तिया लगायतका स्थानकेन्द्रित मिथिला राज्य मधेस नामाकरण गरिदिएपछि मुलुकको कुनै आकार प्रकार नै नभएको भारतलाई केहि न केहि रहात पुर्याउन त यसो गरेका होइनन ? किन कि भारतको विहार कुनै बनिबनाउ राज्यको स्वरुप होइन। त्यहाँ विभिन्न स्वरुपका ससाना थुप्रै राज्यहरु थिए। तर मिथिला राज्य छुट्टै थियो र त्यो आधुनिक नेपालको कोणवाट हेर्दा जनकपुर, सिम्रौनगढ, सिरहा राजधानी नियन्त्रित विशाल सुसंस्कृत राज्य र ऐतिहासिक सभ्यता परम्परा भाषा कला संस्कृतिको अनुपम राष्ट्रियता सहितको अखण्ड भुभाग थियो। यो भुगोलको ऐतिहासिकता संग जोडिएका प्राचीन कालदेखि आजसम्मका सबै तथ्य प्रमाण र मनोविज्ञनले मिथिला क्षेत्र आधुनिक नेपालको एउटा अभिन्न अंग हो भन्ने ऐतिहासिक आधारलाई समाप्त पार्ने भारतीय षड्यन्त्रको योजनामा त यो आएको होइन ? तसर्थ यो विषय निकै गम्भीर र सोचनीय विषय बन्न पुगेको छ। यस विषयप्रति रचनात्मक,क्रियात्मक र आलोचनात्मक धारणाको विकास हुन आवश्यक र अनिवार्य दुबै छ ।