‘व्याख्यात्मक घोषणा’ अवसरवादी र राष्ट्रघाती दलालहरुको लाज ढाक्ने फाटेको जाल : क्रान्तिकारी माओवादी

‘व्याख्यात्मक घोषणा’ अवसरवादी र राष्ट्रघाती दलालहरुको लाज ढाक्ने फाटेको जाल : क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक प्रेस वक्तव्य जारी गर्दै व्याख्यात्मक घोषणा एमसीसी सम्झौता अवसरवादी र राष्ट्रघाती दलालहरुको लाज ढाक्ने फाटेको जाल बाहेक केही नभएको टिप्पणी गर्नुभएको छ ।

वक्तव्यमा नेपाल साम्राज्यवाद तथा विस्तारवादको चङ्गुलमा फस्दै आएको वर्तमान सन्दर्भमा देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति गोलबन्द भई सङघर्षमा अगाडि बढ्न सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी पार्टी, समूह एवम् व्यक्तित्वहरुमा हार्दिक आह्वान गरेको छ ।

वक्तव्यमा भनिएको छ, “देशभक्त नेपाली जनताको देशव्यापी विरोध तथा राष्ट्रिय स्वाधीनताका पक्षधर कतिपय सांसदहरुको पूर्ण असहमतिका बाबजुद विभिन्न प्रलोभन, तिगडम, जालझेल, षडयन्त्र र दमन तथा धरपकडका बीचबाट अमेरिकी सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई गत २०७८ फागुन १५ गते राति नेपालको प्रतिनिधि सभाको बहुमतले अनुमोदन गरेको छ । यसले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र पार्न, चीनलाई घेरा हाल्नका लागि नेपालमा सैन्य अखडा बनाउन र यहाँको बहुमूल्य राष्ट्रिय सम्पदाको दोहन गर्न अमेरिकी साम्राज्यवादलाई बाटो खोलिदिएको छ । यस प्रकारको राष्ट्रघाती संझौतालाई संसदबाट अनुमोदन गराएर नेपालका संसदवादी राजनीतिक पार्टीका नेताहरु देशलाई नवऔपनिवेशिक महाजालमा पार्ने अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार साबित भएका छन् ।”


वक्तव्यमा एमसीसीको व्याख्यात्मक घोषणाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्दै भनिएको छ, “कुनै पनि हालतमा संशोधन बिना संझौता अनुमोदन नगर्ने कबुल गर्दै आएका र आफूलाई देशभक्त भएको दावी गर्ने कम्युनिस्ट नामधारी घोर अवसरवादी नेताहरु अमेरिकी साम्राज्यवादको दलाली गर्ने काममा राष्ट्रघातको लामो इतिहास बोकेको नेपाली कङ्ग्रेससँग एक ठाउँमा उभिएका छन् । अमेरिकाले संझौतामा कुनै संशोधन हुन नसक्ने कुरा बारम्बार भन्दै आएको स्थितिमा गरिएको कथित व्याख्यात्मक घोषणा एमसीसी संझौताको अङ्ग हुन सक्दैन । यो अवसरवादी र राष्ट्रघाती दलालहरुको लाज ढाक्ने फाटेको जाल बाहेक केही होइन । यो केही दर्जन सांसदहरु र केही मन्त्रीहरुको जागिर बचाउनका लागि साम्राज्यवादका दलालहरुले राष्ट्रिय स्वाधीनतासँग सौदाबाजी गर्न तयार पारेको पुलिन्दा मात्र हो ।”

वक्तव्यको अन्तमा भनिएको छ,“देशको राष्ट्रिय स्वाधीनता दिन प्रतिदिन अत्यन्त कमजोर बन्दै गएको छ । कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीका नेताहरु र आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काङग्रेसका नेताहरुले नै देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली जनताको स्वाभिमानलाई विदेशीको पोल्टामा सुम्पिने काम गर्दै आएका छन् । हामीले यस्ता पार्टी र तिनका राष्ट्रघाती कामको निरन्तर विरोध गर्दै आएका छौं । नेपाल साम्राज्यवाद तथा विस्तारवादको चङ्गुलमा फस्दै आएको वर्तमान सन्दर्भमा देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति गोलबन्द भई सङघर्षमा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी पार्टी, समूह एवम् व्यक्तित्वहरुमा हार्दिक आह्वान गर्दछ ।”