
काठमाडौं । प्रतिक्रियावादी सत्ता गठबन्धनले राष्ट्रघाती सम्झौता सदनबाट बहुमतले पारित गरेपछि त्यसको प्रतिवादका निम्ति ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आव्हानमा आयोजना गरिएको नेपाल बन्दको क्रममा आज काठमाडौंमा नेकपा (क्रान्तिकारी माओवादी)ले ठाउँ ठाउँमा नारा जुलुस र चोक चोकमा कोणसभा सम्पन्न गरेको छ । विहानैदेखि बन्द गराउन सडकमा निस्किएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठ र सजिव श्रेष्ठलाई असन चोकबाट गिरफ्तार गरेपछि त्यही चोकमा जम्मा भएर नेकपा (क्रान्तिकारी माओवादी)ले नारा जुलुस सुरु गरेको थियो ।
असन घडीघरबाट सुरु भएको विरोध ¥याली असन बांगेमुडा, इन्द्र चोक, असन चोक हुँदै भोटाहिटी चोकमा पुगेर सम्पन्न भएको थियो । जुलुसमाथि ठाउँ ठाउँमा प्रहरीले पटक पटक हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपको प्रतिवाद गर्दै देशभक्त क्रान्तिकारीहरु अगाडि बढेका थिए । त्यस क्रममा चोक चोकमा कोणसभा समेत सम्पन्न भएको थियो ।
असन बाङ्गेमुडा चोकमा भएको कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महतले, इन्द्रचोकको कोणसभालाई अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले, असन चोकको कोणसभालाई पार्टी पीवीएम पवनमान श्रेष्ठले र भोटाहिटी चोकको सभालाई पार्टी पीवीएम दिनेश शर्मा सागरले सम्बोधन गर्नुभएको थियो ।
विरोध जुलुस प्रदर्शनको क्रममा राष्ट्रघाती दलालहरु मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिदैन देश बेच्न पाइदैन लगायतका नाराहरु लगाइएको थियो ।