क्रान्तिकारी माओवादीका पीवीएम सुरेश श्रेष्ठ असनबाट गिरफ्तार

क्रान्तिकारी माओवादीका पीवीएम सुरेश श्रेष्ठ असनबाट गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज राखेको बन्दमा विहानदेखि देउवा सरकारको पुलिस प्रशासन धरपकडमा उत्रिएको छ । बन्द गराउन सडकमा निस्किएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठ र सजिव बज्राचार्यलाई असनचोकबाट गिरफ्तार गरेको पार्टीका नेता दिनेश शर्मा सागरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कलंकी चोकबाट पनि आधा दर्जनभन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको खबर प्राप्त भएपनि को को गिरफ्तार भएको भन्ने सबै विवरण भने नआइसकेको बताउनु भयो । यसअघि गिरफ्तार पर्नुभएको भनिएका क्रान्तिकारी युवा लिग भने प्रहरी घेरा तोडेर उम्कन सफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

काठमाडौ उपत्यकामा बन्दको प्रभाव परे पनि प्रशासनको दबाबमा केही गाडिहरु चलाइएको छ । र, बजार पनि आंशिस रुपमा खोलिएको छ । तर स्कूल क्याम्पसहरु भने पूर्णरुपमा बन्द रहेका छन् । उपत्यका बाहिर भने ठप्प रहेको हाम्रा सहकर्मीहरुले बताएका छन् । प्रहरीले बन्तकर्तालाई ठाउँ ठाउँबाट गिरफ्तार गरेको छ । बन्दलाई शान्तिपूर्ण रुपमा सफल पार्न बन्दकर्तालाई अन्धाधुन्द दमन र धरपकड गरे पनि बन्दकर्ताले संयमता अपनाइरहेका छन् । र, ठाउँ ठाउँमा राष्ट्रघाती एमसीसीका विरुद्ध नारा जुलुस लगाइरहेका छन् ।