फाल्गुन १४ काठमाडौँ ।
आज फागुन १४ गते आजदेखि सहिद सप्ताह सुरु भएको छ । यस अवसरमा नेपाल कम्युनिस्ट पार्टीले सहिद परिवारलाई सम्मानलगायत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानकै रूपमा सहिद सप्ताह मनाउने जनाएको छ । नेकपा(क्रान्तिकारी माओवादी)ले सहिद सप्ताहका अवसरमा सबै जिल्ला र क्षेत्रहरूमा सहिद–बेपत्ता परिवार अभिनन्दन, सहिद बेपत्ता परिवार भेटघाट, लगायत विभिन्न सिर्जनात्मक कार्यक्रम आयोजना गर्ने बताइएको छ ।
सहिद सप्ताहलाई नेपालको क्रान्तिकारी आन्दोलनमा भएका सहादतका विभिन्न कडीहरूलाई जोड्ने महत्वपूर्ण सन्दर्भका रूपमा लिने गरिएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिन फागुन १४ गते (२०५२) देखि तत्कालीन झापा विद्रोहका पाँच सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठले सहादत प्राप्त गरेको दिन फागुन २१ गते (२०२९ साल) लगायत नेपालको वर्गसङ्घर्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूको सम्मानमा हरेक वर्ष फागुन १४ देखि फागुन २१ गते सम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाउने गरिन्छ । जनयुद्धले स्थापना गरेका जनताका महत्वपूर्ण पर्वहरू नेकपा(क्रान्तिकारी माओवादी)ले मनाउँदै आएको छ ।






























