२०५९ सालको कुरा हो । मौसम परिवर्तन हुँदै थियो । मौसममा विदाई र स्वागतका पल्लवहरू बदलिदै थिए । विचारको पश्चगमनमा रमाउनेहरू र तप्कनीमा सुकेकाहरूको बाँकी रगत र पसिना खान पल्केकाहरू त्यो नियती रोक्न मानिरहेका थिएनन् । उनीहरू बदलिदा पालुवाहरूलाई जवरजस्ती सुकाउन प्रपन्च बुनिरहेका थिए । जनयुद्धले जनताको जीवनमा नयाँ पालुवा भर्न थालिरहेको थियो । तर, केही जङ्गली विषालु गोमनहरूले त्यसका विरुद्ध नयाँ नयाँ षड्यन्त्रहरू बुनिरहेका थिए । अध्यारा प्वाँलहरूमा बुनिएका त्यसखालका षड्यन्त्रका विरुद्ध उत्पीडित जनता स्वतन्त्रता, मुक्ति र अधिकारको लागि जनयुद्धको खुल्ला र मुक्त आकाशमा रमाइरहेका थिए । जति जति वर्गदुश्मनहरू षड्यन्त्र बुन्दै थिए, त्यति नै जनता प्रतिरोधका लागि तत्पर हुँदै थिए ।
हामी जाजरकोटको बलिदानको धरोहर वस्ती, जसलाई पछि जुनि कम्युनमा रूपान्तरण गरियो, मा थियौं । जनमुक्ति सेनाको एउटा टोली त्यहाँ आइपुगेको थियो । जुनिबाट जनसेनाको त्यो फर्मेसनलाई सुर्खेत पु¥याउने जिम्मा मेरो थियो । सुर्खेतका केही ठाउँमा जनसभाको आयोजना गरिएको थियो । जनसभामार्फत हामी जनसमुदायलाई प्रतिक्रियावादी सरकारसँग हुने वार्ताको औचित्यमाथि प्रष्ट पार्नु थियो । शान्ति वार्ताको यस अभियानमा जनता कार्यकर्तालाई सशक्त रूपमा प्रस्तुत गराउनु थियो । त्यसका लागि केही बैठकहरू, अन्तक्रियाहरू, समीक्षाहरू पनि गर्नु थियो । हामी केहीदिनदेखि यस्तै कार्यक्रममा व्यस्त थियौं । छलफलद्वारा फर्मेसनलाई एकढिक्का नबनाईकन यो काम सम्भब थिएन । यो त हाम्रो नियमित दिनचर्या नै थियो । तर, जनताले भाषणबाट, सिद्धान्तबाट, विचारबाट भन्दा बढी व्यवहारबाट बुझ्न सक्थे । त्यसैले हामीले केही जनतासँग एकाकार भएर केही विकासमूलक कार्यक्रमहरू पनि बनाएका थियौं । हाम्रो फर्मेसनले नहर निर्माण, सडक खन्ने, कुवा धारा बनाउने, सफा सुग्धरका काम गर्ने, जनताका घर गोठ बनाउने, ईट्टा टायल बनाउने काम गरिरहेको थियो । यो जनवादी अभ्यासको प्रयोग नै थियो । जुम्लाको सदरमुकाममा भएको फौजी हमलापछि सरकारसँग दोस्रो चरणको वार्ता सुरु भयो । हामीले शान्ति वार्ता र त्यसले निम्ताएको परिस्थितिलाई प्रष्ट पार्न जनतामा यस्ता केही कार्यक्रमहरू लगेका थियौं ।
यी सबै काम सकेर मलाई मेरो तीन वर्षे छोरालाई स्वास्थ्य विभागमा पु¥याउनु थियो । मैले उसलाई एउटा सेल्टरमा छोडेर आएको थिए । ऊ केही दिनदेखि बिरामी थियो । समय जति जति बित्दै जान्थ्यो, आमाको मन न हो, त्यति त्यति गाह्रो लाग्दै गएको थियो । मैले त अझ बाबाको भूमिका पनि पूरा गर्नु पर्ने थियो । उसको बाबा सहिद भएपछि मलाई ऊप्रति झन माया जागेर आउथ्यो । मेरो खुसी र हाँसो तिनै गोमन सर्पहरूले लुटेर लगेका थिए । चारैतिर यसरी नै जनताको खुसी र उत्साह गोमनहरूले लुटिरहेका थिए । यो क्रम तीब्र थियो । आम जनतामा दिनप्रतिदिन यस्ता पीडाहरू थपिदै थिए । एउटा राजनीतिक कार्यकर्ता हुनुको नाताले मैले मेरो पीडालाई सहेको थिए । म त जनतालाई बुझाउने प्रयासमा पो थिए ।
म छिटोभन्दा छिटो छोरोलाई भेटेर उसको उपचार गर्न चाहन्थे । उसलाई मैले आमाकोमा राखेको थिए । संकटकालको बेला शाही सेनाले आमाकोमा दिनदिनै जाने, छापा मार्ने गरिरहेको थियो । एकदिन मेरो बुबालाई ढाडमा “तेरी छोरी खै, बोलाएर हामीलाई दे । हैन भने तलाई पनि बाँकी राख्दैनौ भन्दै बर्बरतापूर्वक यातना दिएको थियो । दुश्मनले मेरो छोरो ओजोनलाई मारिदिने धम्की पनि बेला बेलामा दिएको थियो ।
घरमा आएर “यो माओवादी, आतंककारीको साखा सन्तान कुनै पनि राख्नु हुँदैन भन्दै छोरा ओजोनलाई बाहिर लगेको थियो । तर, एकछिनपछि फेरि ल्याएर घरमै फालिदिएको थियो । बुवा आमाबाट मैले त्यो कुरा थाहा पाएकी थिए । मलाई अब त साँच्चै मार्छन कि भन्ने पनि लागेको थियो । केहीदिन अगाडि मात्र बिष्णु पोख्रेल, धनिराम चौधरी अनि ओजोनको बाबा ज्ञामप्रसाद चालिसेलाई त्यसैगरी शाही जल्लादहरूले लिएर गएका थिए । अनि उनीहरूले कहिल्यै नफर्कने गरी हामीबाट छिने । त्यो आलो घाउले गर्दा त्यसरी सोच्न बाध्य पारिरहेको थियो । कालिकोटमा कमरेड ज्वालाको ६ महिनाको काखे छोरालाई आमाको काखबाट खोसेर हत्या गरेको र गोरखामा त्यस्तै बच्चालाई हत्या गरेको खबर हामी सबैलाई बच्चा पनि नराख्ने जल्लादहरू देखि एकखालको त्रास ल्याईदिएको थियो । साना साना बच्चाहरूको सुरक्षाको बारेमा सोच्न हामीलाई बाध्य बनाएको थियो । साईत दुश्मनले हामीलाई थकाउने, गलाउने, हराउने यहि तरीकाको बाटो अप्नाएको थियो । हामी त्यसका बिरूद्ध निर्मम बनेर जनयुद्धमा अगाडी बढिरहेका थियौ । यस्तो लाग्यो, दुश्मनका अगाडी कुनै हिसाबले पनि झुक्नुहुदैन । यो हाम्रो प्रतिबद्धता थियो । हाम्रो महा अभियान थियो । त्यसैले हामी नया नया बिकल्प, नया नया सिर्जनाहरूको खोजी बिकास गर्न तल्लिन थियौ । त्यसैमा हाम्रो जिबन थियो अनि खुसी, उत्साह, उमङ्ग थियो ।
दिनदिनैजसो सरकारी रेडियोले मान्छे मारेको खबर निर्धक्कसाथ भनिरहेको थियो । गाउघर पनि त्यस्तै घटनाले लछप्पै भिजेका थिए । भन्नु नभन्नु र गर्नु नगर्नु गरिरहन्थ्ये । त्यसको ब्याख्याको कुनै सीमा नै थिएन । त्यसले आमाले ओजोनलाई यहाँ नराख्न भन्नुभयो । फेरि आमालाई पनि बिर्सेला भन्ने डर लागिरहेको थियो । मेरो छोरा ओजोनेले मेरी आमाकै दुध खान्थ्यो । अनि उहाँलाई नै आमा भन्थ्यो । त्यसैले उसले मलाई बिर्सेला भन्ने डर मेरो आमालाई थियो । त्यसैले बेला बेलामा भेट्न भन्नुहुन्थ्यो मलाई । पूरै बिर्सेर अर्को संसारको निर्माण गर्नुहूदैन भनेर खबर पठाउनु भयो । मलाई पनि ठिक लाग्यो उहाँको कुरा । बास्तबमा ओजोनलाई भेट्न म निक्कै आतुर थिए । आयामजीको सहादत पछि मैले भेटन जाने पटक पटक कुरा राखे पनि त्यो समय पाएकी थिइन । त्यतिबेला म सुर्खेत जिल्लाबाट सरुवा भएर बिशेष जिल्ला (सल्यान, दाङ, बाँके र बर्दियाका केही गाविसहरू सहितको) मा आउने संयोग परेको थियो । यस जिल्लामा भेरी कर्णालीमा तल माथी गर्ने नेता, जनसेना र कार्यकत्र्ता सबै हिड्ने गर्दथे । यो एउटा रुट नै थियो । मलाई पनि छोरोलाई भेटनका लागि आमा बुवालाई बोलाउन सजिलो भयो । त्यही मौका छोपेर मैलै ओजोनलाई बोलाए । उसलाई मैले सँगै उकाली, ओराली र घुम्ती मोडहरूमा जीवनको सङघर्षशील अभियानमा साथी बनाउने सोचे । तर, उसलाई बोलाएको तीन महिनामै मेरो जिम्मेवारी कम्पनीबाट बटालियन कमिसारमा सरुवा भयो । मेरा अगाडि ठुलो चुनैति आयो । यो परीक्षामा पास हुने कि नहुने ? भन्ने प्रश्न तेर्सियो मेरा अगाडि । यस्ता मोडहरू बिशेष समयमा मात्र आउँछन् । सधैभरी नआउने रहेछन । मेरो अढाई वर्षको बच्चो माथी र मेरो बात्सल्य माथि फेरि ठूलो परीक्षाको घन आएर बसिदियो । यो परीक्षाले मेरो अप्ठेरोलाई पर्खेर बसेन । सिङ्गो जनयुद्धले बात्सल्य र बच्चालाई ब्यक्तिगत भन्दा धेरै माथी उठाउन सकेन । छिप छिपे मै रणभुल्ल पर्दै दम्भि र धमण्डि बनेर आईरह्यो । कम्युनिस्टको कम्युन भित्र त्यो यतिबेला परेन । बरू एउटी आमा अनि बात्सल्य र बच्चा माथि परीक्षा पटक पटक लियो । यस मामलामा दुबै सत्ताहरू नजिक नजिक भए जस्तै ओजोनको गम्भीर अनुहारले भनेजस्तै लाग्यो । मैले टाउको ठाडो पार्न सकिन । पटक पटक ओजोनले मेरो बाटो, मेरो अभियान, मेरो विचार, मेरो कार्यदिशा माथी औलो ठडाएको जस्तो लागिरह्यो ।
मनभित्र जागेका सबै कुराहरूसँग लड्दै म तत्काल पार्टीको जिम्मेवारी सम्हाल्ने निष्कर्षमा पुगे । म तुरुन्त जुम्ला जानुपर्ने र फर्मेसन चलाउनु पर्ने थियो । त्यसैले मैले ओजोनलाई जनताकोमा घरमा कतै राख्ने निर्णय गरे । तर, भनेजस्तो कहाँ हुन्थ्यो र । यो स्थितिमा मलाई निक्कै अप्ठेरो प¥यो । यो मेरा निम्ति अर्को परीक्षा थियो । मैले भाइ अर्जुनसँग मैले मेरो परीक्षाको प्रश्न राखे । १४ बर्षीय भाइ अर्जुनले आफुले ओजोनलाई हेर्ने र अनि आफ्नै घर धारापानी गाबिसको टिमुरेमा राख्न ठिक हुने बताउनु भयो । आफु भन्दा पछाडि हिडेकाहरूको कमान्डमा पनि नबस्ने र दिदीको कमान्डमा बस्छु भनेर पनि राख्नुभयो । मलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । किनभने अर्जुनको घरमा सबै व्यवस्था थियो । हाम्रो पार्टी क्रान्तिप्रति प्रतिबद्ध यो परीवारलाई गएर मैले मेरो कुरा राखे भने फरकै पर्दैनथ्यो । चुरे पहाड र महाभारतको बीचमा रहेको पहाडी भूगोलमा रहेको उनको घरमा निकै सजिलो हुन्थ्यो । सिस्ने हिमालको काखमा थपक्क बसेर डोल्पा, मुगु, हुम्ला, अछामसँगसँगै लाम लागेर सुर्खेत, दैलेख र जाजरकोटलाई हेरो जस्तो लाग्ने ठाउँ थियो त्यो । चिसो हावापानी, उत्पादन स्याउदेखि टिमुर अन्नहरूको भन्डार, भेरी कर्णालीको हाम्रो निकास र अनि दुश्मन छिर्नै नसक्ने अदम्य किल्ला बनेर उभिएको यो ठाउमा राख्न उपयुक्त लाग्यो र मैले त्यसै गरे ।
आजोनलाई त्यही छोडेर म त्यसपछि जाजरकोटतिर लागे । केही दिनमै म जाजरकोटको ढिमेमा पुगे । जहाँ मेरो फर्मेसन थियो । त्यो फोर्स छिट्टै प्रशिक्षणका लागि बारेकोटको रामिडाँडा जाँदै थियो । म फर्मेशनसँगै रामिडाँडा पुगे । त्यहाँ बृहत प्रशिक्षण चल्यो । त्यसपछि हामी त्यहाँबाट कर्णालीको अञ्चल सदरमुकाम जुम्ला जिल्लालाई कब्जा गर्नका लागि अगाडि बढ्यौ । हामीले जुम्लाको जिम्मेवारी पूरा गरेर फर्कियौ । मसँग अब सेक्सन कमान्डर बहिनी प्रतिज्ञा पनि थपिनुभएको थियो । केही पछि कमरेड बिन्दु पनि आउनुभयो । त्यसबेला हामीहरूले बिशिष्ट अबस्थामा जो सहिद हुन्छ, त्यसको संस्मरण बाँच्नेहरूले लेख्ने प्रतिवद्धता ग¥यौ ।
जुम्लाबाट फर्केपछि हामी जुनि कम्युन आसपास बस्नुपर्ने भयो । माथिल्लो निकायको निर्देशन वमोजिम जुनिमा बस्यौं । त्यही मौकामा म पुनः छोरालाई भेट्न गए । छोरो रहेको टिमुरे गाउँमा पुगे । उसलाई देखेपछि मेरो मन निकै भावुक भयो । उसका शरिरमा घाउ नै घाउ थिए । चिन्नै नसकिने गरी अर्जुन र दिदीले घाउमा खोटो लगाइदिएका रहेछन् । मैले कपास, ब्यान्डेजको कपडा र फर्मेसनको स्वास्थ्य बिभागबाट सामान्य चोट लागेकोमा लगाउने मलम ल्याएकी थिए । केही समय पहिले मेरो खुट्टा काटिएकाले त्यसको जोहो थियो मसँग । त्यो नपुगेपछि कमरेड प्रतिज्ञा थप मल्हम र व्यान्डेज लिन जानुभयो । मैले तातो पानीले भिजाउँदै ओजोनका घाउका खोटो पूरै फाले । घाउलाई सुख्खा हुने गरी कपडाले सेके अनि मल्हम लगाएर माथिबाट कपास र अनि ब्यान्डेज गरेर सफा गरे । दिदीले भन्दै हुनुहुन्थ्यो । खोटोले निको भइसकेको छ । तर पानीले भिजाएर खोटो निकाल्दा पिप भललल आयो । टन्किरहेको पिप बाहिर आउँदा उसलाई हल्का भैरहेको थियो । यो देखेर मैले छोरोलाई काखमा राखेर आसु पिए । अझ प्रतिज्ञाले दिदि ओजोन मलाई दिनोस । तपाई कमिसार, म त एउटा सिपाही न हो । मैले यो बाबुलाई छोरो बनाएर बस्छु भनिन् । यसो भनिरहँदा मेरो मुटु कति छियाछिया भयो । त्यसको अनुभूति मैले मात्र गरे । एक हप्तापछि ओजोनका घाउहरू पूरै सन्चो भए ।





























