पवित्रता

पवित्रता

मेरो घरको सदस्य
अपवित्र हुन कसरी सक्छ ?
मेरै सदस्यलाई
म आफैँले
अपवित्र भन्न कसरी मिल्छ
मेरो घर अपवित्रहरूको थलो बन्न मिल्छ ?
मैले मेरै सदस्यलाई
अपवित्र करार गरेँ भने
बाहिरका अपवित्रहरूलाई
पवित्रताको अभिमन्त्रित जलद्वारा
अभिषेचन गर्न कसरी मिल्छ ?
बाहिर अपवित्र भएपनि
जब मेरो घरको सदस्य बनेर
बडो सान र स्फुर्तिका साथ
भित्र छिरेपछि ऊ
पवित्र मुर्ती बन्छ
यो मुर्तीहरू विराजमान
पवित्र मुर्तीशाला हो ।

बर्सौं शौचासनमा रहेता पनि
धोई पखाली गरेर ढुङ्गो
जब कलाकारको हातमा पर्छ
चलाइन्छ त्यसमाथि छिनो र घन
चित्ताकर्षक मुर्तीमा परिणत हुन्छ
राखिन्छ त्यसलाई एउटा आस्थालयमा
अनावरण गर्छ उसलाई
प्रथम, दोस्रो, तेस्रो
अथवा कुनै ‘उत्तम’तहको मालिक
ऊ दरिन्छ भाग्यविधाता द्यौतामा
घृणा गरिँदैन उसलाई
बर्सौं शौचले पुरिएको ढुङ्गो भनेर
पूज्न थाल्छन् बबुरा ज्यामिहरू
मृत्युपछिको स्वर्गाशामा ।

हो,
त्यही आस्थालय हो मेरो घर
जहाँ निरन्तर धाइरहेछन्
कमजोर पवित्रात्माहरू
बलिया अपवित्रात्माहरू
मेरो घरको त्यही मुर्ती
हेर्छ उनीहरूको कुण्डली
डामिन्छन् कमजोर पवित्रात्माहरू
पखालिन्छन् बलिया अपवित्रात्माहरू
पवित्रलाई अपवित्रतामा
अपवित्रलाई पवित्रतामा बदल्ने
गणितीय शूत्रजस्तै
एउटा अचुक शूत्र छ मसँग
शदियौँ पहिला आविष्कार गरिएको
त्यो हो कुडलीमा राखिने
नैवेद्य र फूलपातीका वजन ।
१४, फागुन २०७८, कोटेश्वर, काठमाडौं