काठमाडौँ । आज फागुन १४ गतेबाट सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै छन् । आज जनयुद्धका प्रथम सहिद क. दिलबहादुर रम्तेलको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रिय स्वाधीनताको जारी आन्दोलनकै बीच सहिद सप्ताह मनाउने जनाएको छ । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका बलिदानीपूर्ण संघर्षमा उत्रने संकल्प गर्नु नै जनयुद्ध र झापा विद्रोहका सहिदहरुको बलिदानप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने नेकपा (क्रान्तिकारी माओवादी) निकट सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागरले बताउनु भएको छ ।
मूलबाटो डटकमसँग संक्षिप्त कुरा गर्दै उहाँले जनयुद्ध, झापा विद्रोह मात्रै नभएर देश र जनताको निम्ति भएका संघर्षहरुमा जीवन बलिदान गरेका सहिदहरुको सम्मानका लागि सबै सहिद तथा वेपत्ता योद्धा परिवारहरुलाई पनि जारी राष्ट्रिय स्वाधीनताको आन्दोलनमा उत्रिन आव्हान गर्नुभएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद सप्ताहको अवधि १४–२१ गतेसम्म सहिद परिवारहरुसँग घेटघाट, अन्तक्र्रिया, सम्मान गर्ने र सहिद परिवारहरुलाई पनि जारी एमसीसी विरुद्धको जारी संघर्षमा सहभागि गराउने लगायतका कार्यक्रम गरिने जनाएको छ ।
२०५२ सालमा जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात् आजकै दिन तत्कालीन सत्ताको निर्देशनमा प्रहरीले ११ वर्षीय विद्यार्थी क. दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङका रम्तेल प्रहरीले गिरफ्तार गरेका आफ्ना शिक्षकलाई छुटाउन धर्नामा सहभागी रम्तेलको हत्या गरिएको थियो । उहाँलाई तत्कालीन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्ध र झापा विद्रोहका सहिदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै सहिद सप्ताह मनाउँदै आएका छन् ।
































