काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा एमसीसीका विरुद्ध संघर्षरत ६ पार्टी र दुई मोर्चा सम्बद्ध साँस्कृतिकर्मीहरुले नयाँ बानेश्वर संसद भवन अगाडी भव्य रुपमा प्रतिरोधसभा सम्पन्न गरेका छन् । अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको अध्यक्षता र आरोहको सञ्चालनमा सम्पन्न प्रतिरोधसभालाई प्रकाश थापाले स्वागत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वाधीनताको पक्षमा क्रान्तिकारी गीत, नृत्य, कविता र मन्तव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार, कवि, साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा दर्जनौं स्रष्टाहरुले आफ्नो काव्यिक रचना प्रस्तुत गरेका थिए । चर्चित क्रान्तिकारी कविहरु बलराम तिमिल्सिना विप्लव, गौरी देवकोटा, छायादत्त न्यौपाने, अशोक सुवेदी, इन्दिरा अधिकारी, विष्णु भण्डारी, नारायण शर्मा विपिन, ऋतु केसी, रामप्रकाश ज्ञवाली लगायतले कविता प्रस्तुत गर्नुभएको थियो भने सामना साँस्कृतिक परिवार र रक्तिम साँस्कृतिक परिवारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकार माइला लामा, आरोह, प्रदिप देवान, अनिस योञ्जन लगायतले एमसीसीका विरुद्ध क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।
गीत, कविता र मन्तव्यमार्फत् स्रष्टाहरुले एमसीसी सम्झौता खारेज हुनुपर्ने र देशभक्त क्रान्तिकारीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने विचार व्यक्त गरेका थिए ।
आठ दलको घोषित कार्यक्रम अनुसार आजै काठमाडौं उपत्यका लगायत देशैभर मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने भोलि उपत्यकाबाहिर जिल्ला प्रशासन कार्यालय घेराउ र काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट नारा जुलुससहित संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।