काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्दकर्ता र प्रहरीबीच माइतीघरदेखि नयाँ बानेश्वरबीचको सडकमा पटक पटक झडप भएको छ ।

माइतीघर मण्डलाबाट एमसीसीका विरुद्ध नाराबाजीसहित संसद भवनतर्फ अगाडि बढेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्दा पटक पटक झडप भएको छ । बन्दकर्ताको जुलुस प्रहरी हस्तक्षेपका बाबजुद प्रहरी घेरा तोड्दै संसदभवन तर्फ अगाडि बढिरहेको छ ।


माइतीघरदेखि नै प्रहरीले बन्दकर्तालाई रोक्ने प्रयास गरेपनि बन्दकर्ताहरु खासगरी क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु प्रहरीको घेरा तोडेर बिजुलीबजारसम्मको पुलसम्म पुग्दा आधादर्जनभन्दा बढी पटक प्रहरीसँग झडप भएको थियो ।


झडपको क्रममा पुरुष प्रहरीले महिला बन्दकर्तालाई लछारपछार पारेपछि बन्दकर्ता प्रहरीमाथि आक्रोसित बनेका थिए ।


अहिले बन्दकर्ताको जुलुस बिजुलीबजारबाट पुनः माइतीघरमा पुगेर सडकमै चिउरा र दालमोठ खानलाई केही बेर आराम गरेको छ । चिउरा दालमोठ खाएर पुनः जुलुस संसद भवनतर्फ अगाडि बढ्ने जुलुसको नेतृत्व गरिरहनु भएका नेकपा (क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्माले जानकारी दिनुभयो ।

नारा जुलुसमा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा, पीवीएम सुरेश श्रेष्ठ, केस कृष्णभक्त महर्जन, दिपक शाही, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटी, अनेमसंघ (क्रान्तिकारी)कि महासचिव शारदा महत लगायत नेताहरुको समेतको उपस्थिति रहेको छ ।

एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, दलालहरु होशियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु जुलसमा चर्काे स्वरमा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार