अब बाँकी के नै छ र?
ऊ, त्यो बाजेका पालाको चौतारो
ठेकेदारले काटिदियो
बज्यैले सिलाएको छिटको गुन्यु
बेल्जियमबाट घुम्न आएको नातिले च्यातिदियो
बराजुले जोगाएको फाटेको झण्डाको मोलतोल चल्दैछ
भःिक्तको सालिक ढल्दैछन्
ठेकेदार देशकै मालिक बन्दैछन्
रगतले मुछेको माटोको ढिस्को
त्यो पनि उसैले किनिसक्यो
खुब खर्चेर पढाएको हर्कको छोरो
त्यो पनि बिक्री भएछ
हिंजै हिँडिसक्यो
पञ्चेबाजा बेचियो
तल्ला माथिल्ला घरका काँइला र कान्छाहरू
बेचिएर गएछन्
चुनाबमा जिताएका नेताज्यूलाई
कानैमा गएर सोधेँ
नेताज्यू, तपाइँ बजेट कहिले पठाउनुहुन्छ ?
तर बिडम्बना,
नेता पनि बिक्री भएछन् ।
 
यता हेरेँ
उता हेरेँ
नदी मेरो रहेनछ
माटो मेरो भएनछ
सरकार उतै ढल्किएछ
घरमा त पुरै आगो सल्किएछ
आखिर मसँग के बच्यो ?
यही एउटा भोट ?
म पनि निशुल्क भोट किन दिऊँ ?
मैले दिएको भोटले देश बेच्न मिल्दो रहेछ
ओहो ! मेरो भोट त महङ्गो भएछ
भो अब मेरो भोट म आफै बेच्छु ।
नेताज्यू, मेरो भोट लिलाममा छ ।
***
तुलसीपुर, दाङ,
२०७८/१०/२४

प्रतिक्रिया

सम्बन्धित खवर