आगलागी घटनाप्रति देजमो दाङको वक्तव्य

आगलागी घटनाप्रति देजमो दाङको वक्तव्य

दाङ/हिजो २८ गते बिहानै पैने दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ङ लाईनमा रहेको ईरम फुटवेयर (जुत्ता चप्पल)को होलसेल पसलमा आगो दन्किएर भएको दुःखद घटनाप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङले एक वक्तव्य प्रकाशित गरी दुःख व्यक्त गरेको छ ।

मोर्चाका जिल्ला अध्यक्ष ईश्वरीप्रसाद गैरेद्वारी जारी वक्तव्यमा भनिएको छ ‘तुलसीपुर बजारमा भएको दुःखद घटनाले मोर्चा स्तब्ध भएको छ । यस दुःखद समयमा आगलागीबाट भएको भौतिक तथा मानवीय क्षतिले हाम्रो देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ जिल्ला समिति चिन्तित तथा दुःखी भएको छ । यस अवसरमा मृतकप्रति भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उक्त घटनामा पसल सञ्चालक ४२ वर्षीय नजरद्दिन अलि, उनका नावालक छोरा ५ वर्षीय नबिनद्दिन अलि, छोरी १२ वर्षीय साजिता खातुन तथा सोही घरमा बस्ने अर्को परिवारका १६ वर्षीय मनिस बकस, १४ वर्षीय हसन बकसको धुवाँको मुस्लोबाट निसास्सिएर दुःखद निधन भएको छ ।

यस प्रकारका दुःखद घटनाप्रति सजक रहन र समयमै उद्दार कार्यमा लाग्न सम्बन्धित निकायप्रति ध्यानाकर्षण गराउँदै वक्तव्यमा अगाडि भनिएको छ ‘यस घटनाबाट उपमहानगरपालिकाको दमकल सँधै तयारीका साथ बस्नुपर्ने आवश्यकता देखिन्छ । तत्काल उद्दार गर्न अत्यावश्यक सेवाका साधनहरू तयारी अबस्थामा राख्न जोडदार माग गर्दै भविश्यमा यस्ता दुःखद घटना नदोहोरिउन भन्दै त्यसतर्फ सजक रहन आग्रह गर्दै पीडित पक्षलाई तत्काल क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सम्बन्धित पक्षलाई जोडदार मागगर्दै ध्यानाकर्षण गर्दछु ।’

मध्यरातमा कालो धुवाँको मुस्लो देखेपछि तुलसीपुर बजारमा खलबली भएको थियो । मानवीय क्षति हुन नदिन प्रहरीले अनेकौं प्रयत्न गर्दागर्दै पनि आवस्यक स्रोत साधनको अभावले धेरै ढिला भइसकेको थियो । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय नागरिकहरूको सकृयतामा तुलसीपुर उपमहानगरपालिकाको दमकल घोराही उपमहानगरपालिकाको दमकल तथा स्थानीय टेक्टरबाट पानी ढुवानी गरि आगो नियन्त्रणमा लिन अनेकौं प्रयत्न हुदाहुदै पनि ठुलो मानबिय क्षति हुन पुगेको छ । झण्डै ५ घण्टाको अथक प्रयास पछि आगो नियन्त्रणमा आएको थियोे ।

उक्त घटनामा निधन भएकाहरूको तत्काल किरिया खर्च स्वरुप तुलसीपुर उपमहानगरपालिकाले जनही एक लाख राहत पीडित परिवारलाई दिने घोषणा गरेको छ । घटनामा सात करोड बराबरको क्षति भएको पीडित परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जानकारी गराएका छन् ।