वैज्ञानिक समाजवाद र सामन्ती तथा बुर्जुवा समाजवादबारे

वैज्ञानिक समाजवाद र सामन्ती तथा बुर्जुवा समाजवादबारे

कम्युनिस्ट आवरण भित्रका नेपालका नामधारी कम्युनिस्ट पर्टीहरु मूलतः नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) लगायतका दक्षिणपन्थी संशोधनवादी , उत्तर माक्र्सवादी एवम् नव माक्र्सवादी पार्टी र व्यक्तिहरुले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसके पनि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो , पुँजीवादी क्रान्ति सम्पन्न भइसक्यो । अब नेपालमा समाजवादी क्रान्ति गर्ने अवस्थामा नेपाल पुगेको छ भनेर मिलेराँवादलाई नेपाली धर्तीमा ठूलो स्वरले उराल्दै आएका छन् ।
यस परिस्थितिमा आज नेपालमा समाजवाद कति प्रकारका छन् ? समाजवादको स्थापना कसरी गरिन्छ ? वैज्ञानिक समाजवाद भनेको के हो ? यसलाई कसरी प्राप्त गर्न सकिन्छ ? के कम्युनिस्ट आवरण भित्रका कम्युनिस्ट नामधारीहरुले भने झै गरि यसै संसदीय व्यवस्थाबाट शान्तिपूर्ण ढंगले समाजवाद प्राप्त हुन्छ ? आदि विषयमा आज व्यापक रुपमा बहस र छलफल भइरहेको छ ।
वास्तविकता के हो त ? यस लेखमा यिनै विषयहरुको सेरोफेरोमा रहेर लेख्ने कोसिस गरिनेछ ।
कार्ल माक्र्स ( सन १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( सन १८२० – १८९५ ) द्वारा सन १८४८ फेब्रुअरी २१ का दि जारी गरिएको विश्वविख्यात “ कम्युनिस्ट घोषणापत्र “ मा सामन्ती समाजवाद , प्रतिक्रियावादी समाजवाद , बुर्जुवा समाजवाद र वैज्ञानिक समाजवाद गरि चार प्रकारका समाजवादका बारेमा स्पष्ट व्याख्या गरिएको छ । आम जनताको लागि वैज्ञानिक समाजवाद मात्र सच्चा समाजवाद हो जुन समाजवादमाथि टेकेर वर्गविहिन , राज्यविहिन वैज्ञानिक समाजवादसम्म पुग्न सकिन्छ भनेर माक्र्स र एंगेल्सले स्पष्ट व्याख्या गर्नु भएको छ ।
एंगेल्सले साम्यवाद के हो ? भन्ने विषयमा २५ वटा प्रश्नको उत्तर दिनु भएको छ । साम्यवाद के हो ? ( प्रश्नोत्तर ) नामक अक्षलोक प्रकाशनले २०५४ सालमा प्रकाशित गरिएको उक्त पुस्तकको पेज नम्बर ३ देखि २८ पेज भित्र एंगेल्सले २५ वटा प्रश्नहरुको सटिक र वैज्ञानिक ढंगले उत्त दिनुभएको छ । हो , त्यही साम्यवादसम्म पुग्नका लागि समाजविकासका क्रममा सर्वहारा वर्गले पहिलो खण्डमा वैज्ञानिक समाजवादको स्थापना गर्न अनिवार्य हुन्छ ।
यस छोटो लेखमा माथि उल्लेख गरिएका सामन्ती समाजवाद , प्रतिक्रियावादी समाजवाद , बुर्जुवा समाजवाद र वैज्ञानिक समाजवाद बाहेक अन्य तीनवटा समाजवादका विषयमा बिस्तृत रुपमा व्याख्या गरिने छैन । यहाँ संक्षिप्तमा गरिनेछ । र , उनीहरूका बारेमा अर्कै लेखमा या ठाउँमा छलफल गर्नेछौं । यहाँ आज यस लेखमा वैज्ञानिक समाजवादकाबारेमा लेख्ने कोसिस गरिनेछ ।
(१) के हो वैज्ञानिक समाजवाद ?
माक्र्सवाद – लेनिनवाद – माओवादका तीन संघटक अंग दर्शन ( द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद ) , राजनीतिक अर्थशास्त्र ( माक्र्सवादीय अर्थशास्त्र ) र वैज्ञानिक समाजवाद मध्ये यो वैज्ञानिक समाजवाद एक हो ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति , विश्व वैज्ञानिक समाजवादी शिविर र महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्तिले अनुशरण गरेको यो राजनीतिक व्यवस्था सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्दै वर्गविहिन , राज्यविहिन वैज्ञानिक साम्यवादी ( साम्यवादमा न वर्गहरु हुन्छन् , न वर्गसंघर्षहरु हुन्छन् , न राज्य हुन्छ , न कुनै शोषण , दमन र उत्पीडन हुन्छ , न सेना हुन्छ , न सैनिक र हातहतियारको आवश्यकता पर्छ , न त्यहाँ जेलहरु नै हुन्छ समाजको स्थापना गर्ने व्यवस्थाको नाम नै। वैज्ञानिक समाजवाद हो ।
संसारभरका माक्र्सवादी – लेनिनवादी – माओवादी क्रान्तिकारीहरुले यही वैज्ञानिक समाजवादको स्थापनाको लागि जीवनमरणको संघर्ष गर्दै आइरहेका छन् । र , वैज्ञानिक समाजवादमा सर्वहारा वर्गको अधिनायकत्व कायम भएको हुन्छ । सर्वहारा वर्ग सत्ताधारी वर्ग हुन्छ भने पुँजीपति वर्ग प्रतिपक्ष वर्गमा झरेको अवस्थामा हुन्छ ।
(२) वैज्ञानिक समाजवाद कसरी स्थापना गर्न सकिन्छ ?
वैज्ञानिक समाजवाद भीषण वर्गसंघर्षको माध्यमबाट स्थापना गर्न सकिन्छ । सन १९१७ रुसमा भीषण वर्गसंघर्ष ( आम सशस्त्र जनविद्रोह ) को माध्यमबाट महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर विश्व मै पहिलोपटक रुसमा वैज्ञानिक समाजवादको स्थापना गरिएको थियोे र पहिलोपटक सर्वहारा वर्गले पहिलोपटक सत्तामा पुग्न सफल भएको थियो ।
त्यस्तै सन १९४९ अक्टोबर १ मा महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न गरे पश्चात् वैज्ञानिक समाजवादमा संक्रमण गराइएको थियोे । त्यस्तै काका हो चि मिन्हको नेतृत्वमा भियतनाम पनि वैज्ञानिक समाजवाद स्थापना गरिएको थियोे ।
वैज्ञानिक समाजवादको स्थापनाका लागि दुईवटा बाटाहरु छन् । पहिलो क्रान्तिको बाटो हो – पुँजीवादी क्रान्ति सम्पन्न भइसकेका पुँजीवादी वा साम्राज्यवादमा पतन भइसकेका कुनै पनि मुलुकमा भीषण वर्गसंघर्ष , सशस्त्र संघर्ष तथा सशस्त्र जनविद्रोहको माध्यमबाट क्रान्ति सम्पन्न गरे पछि वैज्ञानिक समाजवादको स्थापना गर्न सकिन्छ ।
दोस्रो बाटो हो – पुँजीवादी क्रान्ति नभइसकेका र अर्ध सामन्ती तथा नवउपनिवेशिक अवस्थामा रहेका देशहरूमा कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर – किसान एकताका आधारमा गरिने नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व स्थापना गरे पश्चात् वैज्ञानिक समाजवादमा संक्रमण गर्ने मालेमावादी सिध्दान्त र पध्दतिका आधारमा वैज्ञानिक समाजवादको स्थापना गरिन्छ ।
नेपाल आज पनि अर्धसामन्ति र नवउपनिवेशिक अवस्थामै छ । यहाँ पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर – किसान एकताका आधारमा गरिने नयाँ जनवादी ( भीषण वर्गसंघर्षका माध्यमबाट ) क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व स्थापना पश्चात् वैज्ञानिक समाजवादमा संक्रमण गर्ने परिस्थिति निर्माण हुनेछ । नेपाल अहिलेसम्म पनि नयाँ जनवादी क्रान्ति कै चरणबाट गुज्रिरहेको छ ।
(३) के हो सामन्ती तथा प्रतिक्रियावादी समाजवाद ?
नेपालका नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) लगायतका कम्युनिस्ट आवरण भित्रका नामधारी कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद भनेको सामन्ती तथा प्रतिक्रियावादी समाजवाद हो । उनीहरूले उही संसदीय व्यवस्था भित्रबाट शान्तिपूर्ण ढंगले समाजवादको स्थापना गर्ने हो भनिरहेका छन् ।
उनीहरूले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो , पुँजीवादी क्रान्ति सम्पन्न भइसक्यो , अब संसदबाटै शान्तिपूर्ण ढंगले नेपालमा समाजवादको स्थापना गर्ने हो भनिरहेका छन् ।
उनीहरूको यो बकवास वैज्ञानिक समाजवादलाई पन्छाउने उद्श्येले गरिएको षड्यन्त्रपूर्ण चालबाजी मात्रै हो ।
यो उनीहरूको मिलेराँवादी दृष्टिकोण हो । सन १९०१ तिर फ्रान्सका समाजवादी नेता मिलेराँले संसदबाट समाजवाद निर्माण गर्ने संशोधनवादी विचार अगाडि सारेका थिए । पछि फ्रान्सको प्रतिक्रियावादी सरकारको राष्ट्रपतिसम्म भएर सिध्दिएका थिए ।
पछि दोस्रो अन्तर्राष्ट्रियका नेता कार्ल काउत्स्कीले पनि संसदबाटै जनवाद लागु गर्ने विचार अगाडि सारेका थिए । लेनिनले त पछि गध्दार काउत्स्की र समाजवाद नामक पुस्तक समेत लेख्नुभएको थियो । सन १९५६ मा रुसमा आयोजना गरिएको रुसी कम्युनिस्ट पार्टी ( बोलेसेविक ) को महाधिवेशनमा निकिता ख्रुश्चोवले वर्गसंघर्षलाई परित्याग गरेर वर्गसमन्वय र शान्तिपूर्ण संक्रमणको सिध्दान्त पारित गराए र रुसी मोडेलको समाजवादमा प्रतिक्रान्ति ल्याए ।
त्यसो भएर नेपालका कम्युनिस्ट आवरणका कम्युनिस्ट नामधारीहरु पनि मिलेराँ , काउत्स्की र ख्रुश्चोवका असली चेला हुन् । उनीहरूले निर्माण गर्ने भनेको समाजवाद उहीँ माक्र्स – एंगेल्सले भन्नुभएको सामन्ती तथा प्रतिक्रियावादी समाजवाद हो । जनतालाई भ्रममा अल्झाई राख्नका लागि दलाल पुँजीवादमा पतन भइसकेका एमाले , माके लगायतका घोर दक्षिणपन्थीहरुले समाजवाद निर्माणका हल्लाह मच्चाउने गरेका जनताले सचेतनताका साथ बुझ्न जरुरी छ ।
अन्तिममा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले निर्माण गर्ने भनेको वैज्ञानिक समाजवाद हो र यसले वर्गविहिन , राज्यविहिन संसारमै नौलो साम्यवादी संसार निर्माण गर्ने सपना साकार पार्ने वैज्ञानिक व्यवस्था हो । र , यसलाई मालेमावमदको आलोकमा हेर्ने बुझ्ने , व्याख्या , विश्लेषण र संश्लेषण गर्नुका साथै व्यवहारमा लागु गर्नु क्रान्तिकारी कम्युनिस्टहरूको प्रमुख कर्तव्य र ऐतिहासिक कार्यभार हो ।
( केसी अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।