बा नेताहरूलाई
कहिले छाता ओढाउँदै
कहिले पिठ्युँमा बोकेर
उर्लदो भेलहरूमा
खोला तारिरहनुहुन्थ्यो
नेताहरूले दिएको आश्वासन
उत्पीडन मुक्त समाज
सम्वृद्धि युक्त देशको सपना देखिरहनुहुन्थ्यो
बा झुपडीमा फर्किन नपाउँदै
आतङ्ककारीको नाममा मारिएपछि
खोला रक्ताम्य भयो
हो त्यहीवेला शुरू भयो
मेरो तस्वीर खिच्ने सिलसिला
मलाई यतिबेला
बाको रगतको होइन
बाको सपनाको तस्वीर खिच्नुछ
महाशय बाको सपनाको तस्वीर आउँछ
तपाईको क्यामेरामा ?
नेताहरू मेरा बाको बुई चढेर
मेरा बाको रगत पसिनाले तिर्खा मेट्दै
मेरा बाकै टाउकोलाई सिँढी बनाएर
रातो कार्पेट टेक्दै
करोडाँैको पजेरो चढ्दै
सिंहदरबार बालुवाटार हुँदै
शितल निवाससम्म पुगे
मलाई यतिबेला
बाको त्यागको तस्वीर होइन
नेताहरूको झुटको तस्वीर खिच्नु छ
महाशय सपना व्यापारीहरूको तस्वीर
आउँछ तपाईको क्यामेरामा ?
आमा यही खोलामा गिट्टी कुट्दै
आमा छोराको प्राण धानिरहेकी थिइन्
सामुहिक बलात्कार भएर मारिएपछि
मलाई यतिबेला
आमाको न्यानो काखको होइन
न्यायको पनि होइन
यौन पिपासुहरूसँगको लडाइँमा
आमाको अन्तिम साहस र चित्कारको
तस्वीर खिच्नु छ
महाशय आमाको प्रतिध्वनित चित्कार
आउँछ तपाईको क्यामेरामा ?
पत्रकार आएर तस्वीरहरू खिचेर फर्किए
सहिदपत्नी मारिएपछि
बच्चाको बेहाल भनेर
अखबारका पानाहरू भरिए
टेलिभिजनमा समाचार प्रसारित भएपछि
सरकार आउँछ भन्ने लाग्थ्यो
सरकारको सवारी
यो झुपडीको बाटो
आउँदै आएन
सम्वृद्धिको रङ्ग कस्तो हुन्छ
थाहा नै भएन
मलाई यतिबेला समाचार बन्नुको खुशीभन्दा
खाना नाना र छानाको
शिक्षा स्वास्थ्य र सुरक्षासहितको
तस्वीर खिच्नु छ
महाशय मेरो आफ्नै
फेरिएको रूपको तस्वीर
आउँछ तपाइँको क्यामेरामा ?
निभेको चुलो
चुहिँदो छानो
अर्धनग्न शरीर
अनिश्चित भविश्य
यही हुलिया लिएर हरेक पटक
तपाइँको क्यामेरा अघि उभिएँ
भोकलाई जोक्स ठानेर
गरिबीको रमिता हेर्ने मध्यको एक
मेरो तस्वीर खिच्ने मध्यको एक
तपाई पनि मेरो आत्मसम्मानमा
चोट थप्दै हुनुहुन्छ ?
मलाई यतिबेला
आफ्नो तस्वीर होइन
जनवाद प्राप्तीको फलाको हाल्दै
सम्वृद्धि आइसक्यो भन्नेहरूको
तस्वीर खिच्नु छ
महाशय
जोकरहरूको तस्वीर आउँछ
तपाईको क्यामेरामा ?
२०७८ वैशाक २२, सानागाउँ, ललितपुर