राष्ट्रिय सभाकाे निर्वाचन : १९ मध्ये १८ सिटमा सत्ता गठबन्धन विजयी

राष्ट्रिय सभाकाे निर्वाचन : १९ मध्ये १८ सिटमा सत्ता गठबन्धन विजयी


काठमाडौं । बुधबार सम्पन्न राष्ट्रिय सभाकाे निर्वाचनमा पाँचदलीय सत्तागठबन्धनका १८ उम्मेदवार विजयी भएका छन् । आगामी २० फागुनमा समयावधि सकिन लागेका सिटका लागि भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेका एकजना विजयी भएका हुन् । प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट बचेको छ ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशका गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित भएका छन् । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन भएको हो ।

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता छन् । स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता थिए । तर, १८ जना मतदाता अनुपस्थित रहे । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ ।

पाँचदलीय सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सिट बाँडेर संयुक्त उम्मेदवारी दिएका थिए । निर्वाचनमा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि थिए । मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको थियो ।