काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले जनगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक गरेकाे छ । प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को तुलनामा २६ लाख ९७ हजार ९७६ ले मात्र बढी हो ।
राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नजिताअनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ । विगत १० वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत देखिएको छ ।
जबकी २०५८ देखि २०६८ सम्मको १० वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । अपेक्षा अनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएथको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिएका छन् ।